काठमाण्डौ । नेपाली राजनीतिक इतिहासका एक हस्ती कीर्तिनीधि विष्टको ९० वर्षको उमेरमा शनिबार निधन भएको छ । पञ्चायतकालदेखि बहुदलीय व्यवस्थामा समेत उत्तिक्कै चर्चित नेताका रुपमा रहेका विष्ट ३ पटकसम्म प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषका उपाध्यक्ष भएका थिए ।
तत्कालीन राजाहरु महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रका समेत विश्वासपात्रका रुपमा चिनिने निधि राष्ट्रवादको विषयमा भारतसँग जुध्ने नेताका रुपमा चिनिन्छिन् । त्यतिमात्रै होइन दरबारसँग नजिक रहेका नेताहरुमध्ये सादगी नेताको रुपमा पहिचान बनाएका उनले दिवंगत हुनअघि आफुलाई राजकीय सम्मान नदिन समेत आग्रह गरे । उनको आग्रह बमोजिमनै उनको अन्त्येष्टि गरिएको छ ।
विष्टको सम्पूर्ण राजनीतिक यात्राको वर्णन गर्न असम्भव छ तर दरबार र उनको सम्बन्धका बारेमा केही अनौठा परिघटनाका खबरहरु बाहिर आइरहन्थे र आएका छन् । तीनै घटनामध्ये राजा महेन्द्र र विष्टबीच जोडिएको एउटा रोमाञ्चक र अनौठो घटनालाई हामीले यहाँ प्रस्तुत गरेका छौ । जसलाई दरबारको वरिपरि रहेर कलम चलाउँदै आएका लेखक नरेन्द्रराज प्रसाईले स्मरण गरेका छन् ।
राजा महेन्द्रका छेउमा रहेर कीर्तिनिधि विष्टले केही आनीबानी, रहनसहन र सौख आदिको पनि अध्ययन गर्ने मौका पाए । जसअनुसार राजा महेन्द्रका इच्छाहरूमा शिकार खेल्नु पनि एउटा सौख मानिन्थ्यो । त्यस मामिलामा आफू मात्र सरिक नभई आत्मीयहरूको एउटा जुलुस जस्तै भेला पारेर सौख बाँड्ने राजाको प्रवृत्ति थियो । वास्तवमा राजा महेन्द्रका लागि शिकार पनि एउटा खेल नै मानिन्थ्यो र त्यसमा कहिलेकाहीं कीर्तिबाबुलाई पनि संलग्न गराउन उनलाई मन पर्थ्यो । त्यसै परिप्रेक्ष्यमा २०२२ सालमा राजा महेन्द्र शिकार खेल्न महाकाली अञ्चलको शुक्लाफाटा जाँदा राजा महेन्द्रका साथ परराष्ट्रमन्त्री कीर्तिनिधि विष्टको पनि उपस्थिति थियो ।
शिकारको खेल एउटा रमाइलो खेल मानिए तापनि त्यस बेला त्यो खेलसँगसँगै एउटा भयङ्कर प्रसङ्गको उपस्थिति पनि भएको थियो । त्यसै बेला जङ्गलको माझमा राजा महेन्द्रलाई प्रथमबार हृदयाघात भएको थियो । त्यस समय उनका साथ कीर्तिबाबु रहेका थिए ।
राजालाई हृदयाघात भएको ठाउँ एउटा मचान थियो जहाँ एउटा चकला मात्र बिछयाइएको थियो । हृदयाघातपछि महेन्द्रलाई त्यही चकलामा सुताइएको थियो । त्यस घटनाबाट त्यहाँ निक्कै ठूलो हाहाकारको सिर्जना भएको थियो । त्यस घटनाले कीर्तिबाबुको जीउ पानी नै पानी भएको थियो । हुन त त्यहाँ राजाका साथमा अनुभवी बङ्गाली डाक्टर हल्डर पनि गएका थिए र उनले हत्तपत्त राजाका पाखुरामा इन्जेक्सन लगाइदिएका थिए । अनि समयको फेरो समाउँदै जाँदा राजाको अनुहारमा आशाको केही न केही प्रभाव देखा पर्न थालेको अड्कल कीर्तिबाबुलाई पनि भएको थियो ।
त्यस बेला राजा महेन्द्रलाई ठूलो पीडा भएको कीर्तिबाबु बताउँछन् । त्यही पीडामा राजाले निक्कै रन्थनिनुपरेको थियो । राजाको शरीरभरि खलखल पसिना आएको थियो । त्यस बेला राजा महेन्द्र कीर्तिबाबुका पाखुरा र नारीको बीच भागलाई सिरानी लगाएर सुतेका थिए | त्यसै बेला राजा महेन्द्रले उनलाई स्वतस्फूर्तरूपमा भनेका थिए “खोइ कीर्तिनिधि ? अब के हुने हो; मलाई जे भए पनि मेरो देश बाँच्नुपर्छ । म मरे पनि मेरो देश बाँचिरहोस् ।” त्यसपछि राजा महेन्द्र मुर्छा परेका थिए ।
राजा महेन्द्रको ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ भन्ने संवेदनशील देशभक्तिको वाणी सुनेपछि कीर्तिबाबुको छाती छियाछिया भएझै दुःखी भएको थियो । नेपालीका अभिभावक, नेपालीका भरोसाका केन्द्र र नेपालका एक सजग सबल प्रहरी राजा महेन्द्रको त्यो स्थिति हेरेर कीर्तिबाबु विक्षिप्तको जस्तै मानसिकतामा बसिरहेका थिए । राष्ट्रको चिन्तामा हृदयको रोदन पोख्तापोख्दै त्यस बेला राजा महेन्द्र अचेत भएका थिए ।
राजा महेन्द्रको उपचार्रार्थ जङ्गलमा तत्कालै मुटुविशेषज्ञ डा.मृगेन्द्रराज पाण्डे पनि झिकाइए र उनी पनि त्यहाँ गएर राजाको उपचारमा सरिक भए । अनि केही दिनपछि अमेरिकाबाट पनि चिकित्सकहरू आए | जसअनुसार अमेरिकन डा.मेटिङ्ग पनि राजा महेन्द्रको स्वास्थ्यउपचारमा केन्द्रित भए ।
डा.मेटिङ्ग अमेरिकन राष्ट्रपति हावरका विशेष चिकित्सक थिए । हावरलाई पटक, पटक हृदयाघात भएको थियो । अनि उनका भरोसा नै डा.मेटिङ्ग थिए । राजा महेन्द्रलाई केही आराम भएपछि उनलाई टीकापुर ल्याइयो । कर्णालीको भङ्गालो नगिचै राजा महेन्द्रका लागि काठको एउटा कुटी बनाइएको थियो । त्यही नै राजाको सम्पूर्ण स्वास्थ्य उपचार गरिएको बेहोरा कीर्तिबाबु बताउँछन् ।
टीकापुरमा राजा महेन्द्रलाई स्वास्थ्यलाभ भएपछि त्यहाँ उपस्थित सबै जनामा उत्साहको वातावरण सिर्जना भएको थियो । राजालाई आराम हुन थालेपछि त्यहाँ उपस्थित व्यक्तिहरूको हर्षको सीमा थिएन । कीर्तिबाबुका अनुसार हरेक दिन त्यहाँ एउटा सानो कविगोष्ठीजस्तो पनि हुने गर्दथ्यो ।
एक दिनको त्यस्तै कार्यक्रममा एउटा क्यासेट पनि बजाइएको थियो । त्यो गीतकी रचयिता र गायिका रानी रत्न अर्थात रञ्जना शाह भएको जानकारी त्यहाँ उपस्थित सबैले पाएका थिए । अनि भोलिपल्ट राजदम्पतीको राजधानी सवारी भयो । काठमाडौमा राजा महेन्द्रको सवारी भएपछि राजधानीमा गाईगुई हल्ला चल्यो कीर्तिनिधि विष्ट अलच्छिने मान्छे रहेछ । त्यो मान्छे राजासंग गएर राजालाई हृदयाघात भयो । त्यो बेहोरा बिस्तारैबिस्तारै राजाका कानमा पनि पुग्यो । त्यस बेला त्यस्ता अन्धविश्वास मिश्रित टिप्पणीले राजालाई पनि केही दु:ख लागेजस्तो भनाइ सुनिन्थ्यो ।
केही समयपछि राजा महेन्द्र पुनः शिकार खेल्न जाने प्रसङ्ग निक्ल्यो र राजदरबारमा रात्रिभोजको आयोजना पनि गरिएको थियो । त्यस कार्यक्रममा राजाबाट कीर्तिबाबुलाई पनि राजदरबारमा बोलावट भयो । त्यस बेला उपस्थित सम्पूर्ण व्यक्तिहरूले सुन्ने गरी राजा महेन्द्रबाट एउटा शब्दावली प्रकट भयो “ए कीर्तिनिधि ? तिमी त अलच्छिना रे; तिमी मसँग हिंडेकाले मलाई हर्ट एटेक भयो; हगि ? ल ! फेरि म शिकार खेल्न जादैछु, तिमी पनि उहीं हिंड । तिमी धीरेन्द्रसँग आऊ है ?”
कीर्तिबाबु फेरि टीकापुर जङ्गलमा पुगे । त्यहाँ राजाले भेट्नेबित्तिकै विष्टलाई प्रश्न भयो “कीर्तिनिधि शिकार खेल्ने हैन त ?” त्यति मात्र होइन, त्यसै कालमा राजाबाट उनीलाई कविता लेख्न पनि सुझाउ भयो । त्यसै प्रसङ्गलाई आधार बनाएर उनले भने महेन्द्रको प्रेरणा पाएर मैले पनि दसवटाजति कविता लेखेको छु । एउटा कविताले त रत्नश्री स्वर्ण पदक पनि प्राप्त गरेको थियो ।
अतिरथी सुरेन्द्रबहादुर शाहको चिठीपत्रमा विष्टका केही कविता पनि रहेका छन् । तर कीर्तिबाबु कविता मात्र लेख्ने होइनन्; कुनै समयमा उनी अभिनयकलामा पनि लागेका थिए । त्रिचन्द्र कलेजमा पढेका बेला बालकृष्ण समको निर्देशनमा कीर्तिबाबुले नाटकमा अभिनय गरेका थिए । उनले त्यस बेला सेक्सपियरको नाटक जुलियस सिजरमा आफ्नो सशक्त भूमिका पूरा गरेका थिए । त्यसैबेला कमल दीक्षितले पनि ब्रुटस्को भूमिकामा अभिनय गरेका थिए ।
टीकापुरस्थित राजा महेन्द्रको सवारी शिविरमा सुरेन्द्रबहादुर शाहले पनि एउटा नाटकमञ्चनको कार्यक्रम गरेका थिए । त्यस ठाउमा बनाइएको मञ्चमा कीर्तिबाबुले पनि शाहद्वारा निर्देशित अभिनय गरे । त्यस समय राजा महेन्द्रबाट पनि अभिरुचिपूर्वक त्यो नाटक नजर भएको थियो ।
नाटक सकिएपछि राजाबाट अर्को वाक्य प्रकट भयो मन्त्रीको अभिनय सबैभन्दा राम्रो लाग्यो । त्यति बेला त्यहाँ नाटकमा अभिनय गर्नेहरूमा राजा महेन्द्रको उपचारमा संलग्न डा.मृगेन्द्रराज पाण्डे र डा. सच्चेकुमार पहाडी पनि थिए । साथै त्यहाँ रहेका डा. लक्ष्मण पौडयाल र अरू डाक्टरहरूले पनि नाटकमा अभिनय गरेर आफ्नो कलाको प्रदर्शन गरेका थिए ।
कीर्तिबाबुले राजा महेन्द्रकै सङ्गतबाट कविता लेख्न थाले । राजा महेन्द्र बराबर अरूलाई आफ्ना कविता सुनाउथे र आफू पनि अरूका कविता सुन्न चाहन्थे । एकपटक मोतीजयन्तीको उपलक्ष्यमा राजा महेन्द्रले कविताको शीर्षक ‘देशको माटो’ दिएका थिए । त्यस शीर्षकमा धेरैले कविता रचे । साथै कवि मवीवि शाहले पनि एउटा कविता रचेर कीर्तिबाबुका हातमा दिएका थिएः
जसले बिर्स्यो देशको माटो,जिउंदै मर्यो त्यो
जसले सम्झ्यो देशको माटो बाँच्यो सधैं त्यो ।
मोती जयन्तीसम्बन्धी कविगोष्ठीमा राजाकै निर्देशअनुसार कीर्तिबाबुले नै राजाद्वारा रचित कविता वाचन गरेका थिए । –नरेन्द्रराज प्रसाई
छलफल बाट सभार



