२७ वर्षअघि निरञ्जनगोविन्द वैद्यको आह्वान –

(कम्युनिस्ट एकताको पहल चलिरहेका वेला नेकपाका संस्थापक निरञ्जनगोविन्द वैद्यले १७ साउन ०४७ मा गरेको ‘कम्युनिस्ट एकताको अपिल’ सान्दर्भिक देखिएकाले उनको १३औँ वार्षिक तिथिका अवसरमा प्रकाशित गरिएको छ । यो सामग्री उनका छोरा शिशिर वैद्यले उपलब्ध गराएका हुन् ।)

विभिन्न वामपन्थी समूहका समस्त कामरेडहरू, लाल सलाम !
आलोचना र आत्म–आलोचनाको अभ्यास भएका, लौह अनुशासनयुक्त जनमुखी कम्युनिस्ट पार्टी अहिले विभिन्न समूहमा टुक्रिएका कारण राजनीतिक रूपमा सचेत नेपाली जनता अन्योलमा छन् । एउटा समूहमा लागेको व्यक्तिलाई अर्को समूहको व्यक्तिले खिसी गर्ने त छँदै छ, एउटा समूहको व्यक्तिलाई अर्को समूहकाले आक्रमण गर्‍यो भन्ने जस्ता विश्वासै गर्न नसकिने समाचार अखबारमा पढ्दा प्रत्येक प्रगतिशील व्यक्तिको हृदयमा सियोले च्वास्स घोच्नु स्वाभाविक हो ।

एकथरी वामपन्थी विचारका व्यक्तिले अर्कोथरीसित कुरा गर्नुपर्‍यो भने सर्वप्रथम ‘तपाईं कुन समूहमा ?’ भनी प्रश्न गरिन्छ । आफ्नो विरोधी पक्ष पर्न गएछ भने प्रथमतः कुरो नै अघि बढ्दैन । कथंकदाचित अघि बढेको खण्डमा त्यसले बहस होइन, विवादको रूप लिन्छ । जुन पार्टी जनहितका लागि संगठन गर्न जनताकहाँ जान्छन् र आ–आफ्ना वर्ग एवं समूहबीच एकता रहनुपर्छ भनेर जनतालाई सम्झाउने र बुझाउने काम गर्छन्, त्यही पार्टी एकगठ हुनुको बदला विभिन्न गुटमा विभाजित भएर एकले अर्कोलाई कटाक्ष गरेको र दोष लगाएको देख्दा जनतामा कस्तो प्रभाव पर्ला ? यसबारे शान्त चित्त भएर सोच्ने वेला आएको छ ।

पार्टीविरोधी काम गरेको आरोपमा अनुशासनको कारबाही गरेर एउटा पार्टीबाट हटाइएको व्यक्तिलाई अर्को पार्टीकाले आफ्नो समूहमा स्वागत गरेको कुरा पनि यदाकदा सुन्नमा आउँछ । यस्तो हुनु गलत कुरा होइन र ? यो त पार्टीविरोधी काम गर्ने व्यक्तिलाई प्रश्रय दिएको ठहरिँदैन र ? कुनै एक समूहमा बसेर पार्टीविरोधी काम गर्न सक्नेले अर्को समूहमा पनि पार्टीविरोधी काम नगर्ला भनेर कसरी विश्वास गर्ने ? त्यसैले अनुशासनमा जोड दिने जनवादी पार्टीका अगुवाले यस्ता कुरालाई ध्यान दिन अहिलेको अवस्थामा नितान्त जरुरी छ । यस सम्बन्धमा गम्भीरतापूर्वक विचार गर्न मेरो हार्दिक अनुरोध छ ।

प्रिय साथीहरू, ०१४ सालमा भएको नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशन (कांग्रेस) देखि नै पार्टीमा दुई लाइन संघर्ष सुरु भइसकेको कुरा सर्वविदितै छ । अहिलेसम्म सुन्दै आएका हिसाबले उक्त कांग्रेसमा राजनीतिक लाइन कमरेड पुष्पलालको पास भएको थियो । तर, यस अपिल निकाल्ने सिलसिलामा कमरेड शम्भुरामसँग कुरा हुँदा थाहा भयो कि राजनीतिक लाइन त कमरेड पुष्पलालको नभएर कमरेड शम्भुरामको पास भएको थियोे रे ! कमरेड पुष्पलालले आफ्नो राजनीतिक लाइन महाधिवेशनमा राख्नु नै भएन रे ! राजनीतिक लाइन एकजनाको पास हुनु, तर महामन्त्रीचाहिँ सामन्तीहरूको दलाल, हरुवा डा. केशरजंग रायमाझी चुनिनु, यो कम उदेक लाग्दो कुरा होइन ? भाइचारा देशको कम्युनिस्ट र मजदुर पार्टीहरूको इतिहास पल्टाएर हेर्दा यस प्रकारको आश्चर्यलाग्दो कुरा त कतै पाईँदैन । जसको राजनीतिक लाइन पास हुन्छ, महासचिव निश्चित रूपले त्यही चुनिनुपर्ने हो । तर, यहाँ त त्यसो भएन । सम्भवतः यसैले गर्दा दोस्रो महाधिवेशनका कुनै पनि दस्ताबेज प्रकाशनमा आएन । महाधिवेशन भने हुने, तर त्यसले के–के कार्यनीति, रणनीति, कार्यक्रम र संगठनात्मक प्रस्ताव आदि पास गर्‍यो भन्नेबारे पार्टी सदस्यलाई केही थाहा नै नदिइने । मतभेदको श्रीगणेश यहीँबाट भएको हो ।

दरभंगा प्लेनमपछि उक्त मतभेदले झन् उग्ररूप लिएको देखिन्छ । वनारसमा भएको तेस्रो पार्टी कांग्रेस पछि त एक समूहले अर्को समूहलाई हिलो छ्याप्ने कामको थालनी खुला रूपले हुन थाल्यो । कसैले ‘कुन बाटो ?’ निकाल्यो त कसैले ‘मूल बाटो’ । कसैले के, कसैले के विचारपत्र छापेर पार्टीभित्रका फाटाहाहरूलाई दिनदिनै भनेझैँ बढाउन थाले । यी सब आरोप–प्रत्यारोपलाई दुःखलाग्दोका साथै आश्चर्यलाग्दो पनि ठान्दछु म । किनभने, पार्टीभित्र मतभेद हुन गएमा कम्युनिस्टहरूको ठूलो गुण र हतियार मानेको आलोचना र आत्मालोचनाद्वारा आ–आफ्ना विचारलाई पार्टी केन्द्रीय समितिमार्फत सबै तल्ला कमिटीमा लगेर छलफल गराउने, त्यसपछि मत लिने काम सबै पक्षले इमानदारीसाथ स्वीकार गरिदिएको भए पार्टी यसरी दर्जन समूहमा विभाजित हुने थिएन, टुक्रिने थिएन । प्रतिद्वन्द्वी पार्टी र वर्गीय दुश्मनलाई हाँस्ने अवसर मिल्ने थिएन । पार्टी नटुक्रिएको भए पञ्चायती तानाशाहले तीस वर्षसम्म निर्बिघ्न रूपमा शासन चलाएर नेपाली जनतालाई अलपत्र पार्न सक्ने पनि थिएन ।

१ पुस २०१७ को घटना हुनुअघि स्व. राजा महेन्द्रले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीका प्रमुख व्यक्तिसित अलग–अलग भेटेर राय बुझ्ने प्रयास गरेका थिए । १ पुसको कालो घटनापछि सोभियत संघ, जनगणतन्त्र चीन र जनवादी गणतन्त्र कोरियाको भ्रमण पूरा गरी फर्कने क्रममा मस्कोमा डा. केशरजंग रायमाझीसँग भेट हुँदा उनले मलाई यो कुरा भनेका थिए । त्यसपछि म जेठ २०१८ मा सुरक्षा कानुनअन्तर्गत समातिएर जेल चलान गरिएँ र १३ महिनापछि छुटेँ । फेरि ०२१ मा सुरक्षा कानुनअन्तर्गत नै फेरि गिरफ्तार गरिएँ र दुई वर्षपछि ०२३ मा छुटेँ । उक्त जेलजीवनको अवधिमा नेपाली कांग्रेसका एक इमानदार र कर्मठ कार्यकर्ताले मलाई १ पुसभन्दा अघि नै राजा महेन्द्रसित भेट गरेको र अरूहरूले पनि भेटेको कुरा सुनाएका थिए । यसरी नेपाली जनताको बलिदानबाट प्राप्त भएको प्रजातान्त्रिक हक–अधिकार पुनः हनन हुने संकेत पाईकन पनि नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीले सतर्क भएर हक अधिकार बचाउनेतिर कुनै पाइला चाल्न नसक्नु दुःख र शरमको कुरा हो भन्नु अत्युक्ति नहोला ।

१ पुसको घटनापछि नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीका थुप्रै नेता तथा कार्यकर्ता गिरफ्तार भए । कति भूमिगत भए, कति भारतमा निर्वासित जीवन बिताउन बाध्य भए । त्यसवेला कमरेड पुष्पलालले नेपाली कांग्रेससित संयुक्त मोर्चा बनाएर पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्नेबारे पटक–पटक आवाज नउठाएका होइनन् । तर, एकातिर नेपाली कांग्रेसले संयुक्त मोर्चाको आवश्यकता महसुस नगरेको मात्र होइन, त्यसमाथि कुनै प्रतिक्रिया नै जनाएन । अर्कोतिर कमरेड पुष्पलाललाई कांग्रेसपरस्त नीति लिएको भन्ने अभियोग पार्टीकै नेताहरूले लगाइदिए ।

त्यतिखेर कांग्रेस–कम्युनिस्ट एकगठ हुन नसकेकै कारण पञ्चायती तानाशाहले पञ्चायती प्रजातन्त्रको मुखुण्डो भिरेर तीसौँ वर्ष राज गरे, राणा शासकलाई पनि उछिनेर नेपाली जनतामाथि चरम शोषण, दमन, थिचोमिचो गरे । बल्ल ०४६ सालमा आएर नेपाली कांग्रेसका नेताले मिल्नुको महत्व बुझे र वाममोर्चासित मिलेर संघर्ष गर्ने निधो गरे । कांग्रेस, वाममोर्चा र अन्य वामपन्थीको संयुक्त प्रयासमा आन्दोलन सुरु भयो । मौका नपाएर दबिएर बसेका अत्यधिक नेपाली जनताले स्वतस्फुर्त रूपमा उक्त आन्दोलनलाई सहयोग गरे । अनेक कष्ट सहन र बलिदान दिनसम्म पनि उनीहरू पछि हटेनन् । जसमा सयौँ सहिद भए, हजारौँ घाइते र अपांग भए । परिणामस्वरूप तीस वर्षको पञ्चायती शासनरूपी कालो बादल नासिएर प्रजातन्त्ररूपी पूर्ण चन्द्रको उदय भयो । जनताले केही सन्तोषको सास फेर्ने मौका पाए ।

प्रजातन्त्रको पुनः स्थापनापछि पञ्चायतमा पसेर गर्नुसम्म मोजमज्जा गरेका कांग्रेसी कार्यकर्ता धमाधम मातृसंस्थामा फर्केर आएँ भन्दै नेपाली कांग्रेसमा भित्रिएका छन् । एकातिर यसरी कांग्रेसको संगठन बढ्दै छ, अर्कोतिर कम्युनिस्टहरू भने टुक्रिएको टुक्रिएकै छन् । अझ बढी टुक्रिन लागेको समाचार आउँदै छन् । मौखिक रूपमा सबै घटकले पार्टी एकताको कुरा गरेको सुनिन्छ, तर कार्यरूपले भने अघि सरेको कसैलाई पाईँदैन । यस्तो अवस्थामा मुलुक र नेपाली जनताको हितका निम्ति म सबै वामपन्थी घटकसित जोडदार रूपमा निम्नलिखित अपिल गर्न चाहन्छु :
१. तत्कालका लागि आ–आफ्नो पक्षको राजनीतिक लाइनलाई अलग राखेर सर्वप्रथम पार्टी एकताका निम्ति तयार हुनुहोस् ।
२. प्रत्येक समूहबाट तीन–तीनजना प्रतिनिधि चयन गरी एउटा बैठक गर्ने कुरामा सहमति जनाउनुहोस् ।
३. उक्त बैठकमा सबै समूहले आ–आफ्नो राजनीतिक प्रस्ताव पेस गरी छलफल गर्नुहोस् । पछि ती दस्ताबेज आ–आफ्नो केन्द्रीय समितिमार्फत सबै तल्लो कमिटीमा लगी छलफल गराउने काम गर्नुहोस् । छलफल गराउने बैठकमा सबै समूहका प्रतिनिधिलाई समावेश गराउनुहोस् ।
४. जुन समूहको राजनीतिक लाइनलाई सबै समूहका पार्टी सदस्यको बहुमतले अनुमोदन गर्छ, त्यसैलाई सबै समूहले तत्कालका लागि मात्र भए पनि स्विकार्नुहोस् ।
५. राजनीतिक प्रस्ताव र कार्यक्रम अमान्य भएका समूहले आ–आफ्नो राजनीतिक लाइन र कार्यक्रमबारे पार्टीभित्र मात्र बहस गर्नुहोस् ।
६. कम्युनिस्टहरूको अमोघ अस्त्र आलोचना र आत्मालोचनाको नियमलाई दृढतापूर्वक पालना गर्नुहोस् ।
७. पार्टी एकताको क्रम चलिरहेको अवधिभित्र एक समूहले अर्को समूहमाथि गैरजिम्मेवार किसिमको आलोचना बन्द गर्नुहोस् ।
अरू जुनसुकै कुरामा मतभेद रहन गए तापनि आगामी आम चुनावबारे मात्र भए पनि एकता कायम गर्ने कुरामा तपाईं प्रत्येक घटकको ध्यान आकर्षित गर्ने हेतुले यहाँहरूसमक्ष यो अपिल गरेको छु । तपाईंहरूबाट सकारात्मक कदम चालिनेछन् भन्ने कुरामा आशा मात्र होइन, पूर्ण विश्वास राखेको छु ।

नयाँ पत्रीकामा खबर रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah