
३० कार्तिक/ माओवादी केन्द्रका नेता एवम् झापा क्षेत्र नं .१ का प्रतिनिधि सभा उम्मेदवार राम कार्कीले वामपन्थी शासनमा वृद्धवृद्धाहरु सय वर्ष वांच्ने ठोकुवा गरेका छन्। आज झापाको ज्यामिरगढीमा आयोजित चुनावी सभामा वोल्दै नेता कार्कीले भने -‘अब वन्ने वामपन्थी सरकारले वृद्धहरुलाई पांचहजार भत्ता दिएपछि स्वाभाविक रुपमा उहांहरुको आयु सय वर्ष पुग्छ।’
कार्कीले बा-आमाले दश हजार भत्ता पाउने भएपछि छोराछोरीहरुले आफ्ना बा-आमालाई राम्रोसंग हेरचाह र स्याहारसुसार गर्ने दावी गरे। वृद्ध भत्ता पाँचहजार भएपछि वुढापाकाको औषधि उपचार पनि सहज हुने कार्कीकोे जिकिर थियोे। कार्कीले ठट्यौली पारामा भने-‘ वुढा बा-आमाले दस हजार पाउन थालेपछि मेरा बा-आमा सय वर्ष वांचुन् भनेर छोराछोरीहरु मन्दिरमा प्राथना गर्न जानेछन् ।’
एमाले सरकारका पालामा ७५ वर्षका वृद्धहरुलाई दिन शुरु गरिएको वृद्ध भत्ता माओवादी सरकारका पालामा ७० वर्षमा झारिएको नेता कार्कीले चर्चा गरे। झापा १ मा कार्कीको प्रतिस्पर्धामा काङ्ग्रेसका नेता विश्वप्रकाश शर्मा रहेका छन्।



