काठमाडौं । महोत्तरी–३ बाट राजपा अध्यक्ष महन्थ ठाकुर उठ्ने भएपछि कांग्रेसले उनलाई सघाउन आफ्ना उम्मेदवार फिर्ता बोलायो । तर, महोत्तरीकै अर्को क्षेत्रमा कांग्रेस र राजपाको घमासान चलिरहेको छ । क्षेत्र नं २ मा कांग्रेसकी किरण यादव र राजपाका अर्का अध्यक्ष शरदसिंह भण्डारी भिड्दै छन् ।
मधेसका प्रायः सबै जिल्लामा कांग्रेस र मधेस केन्द्रित पार्टीका उम्मेदवार आपसमा प्रतिस्पर्धी छन् । संविधान संशोधनका लागि मधेसमा भोट माग्दै गरेका राजपा र फोरमका संयुक्त उम्मेदवारहरू त्यही मुद्दा उठाएर मधेस छिरेको कांग्रेससँग प्रतिस्पर्धारत हुँदै गर्दा लोकतान्त्रिक धुरीको मत विभाजित हुने प्रस्ट देखिएको छ ।
कांग्रेसका नेता तथा धनुषा १ का प्रतिनिधिसभा उम्मेदवार आनन्दप्रसाद ढुंगानाले आफूहरूलाई लोकतान्त्रिक शक्ति बलियो होऊन् भन्ने उद्देश्यसाथ यस्तो कदम चालेको दाबी गरे ।‘हामीले त्यही भएर एकतर्फी भए पनि केही ठाउँमा उम्मेदवारी फिर्ता लियौं’, उनले भने, ‘तर त्यही स्तरमा उहाँहरूबाट नैतिकता प्रदर्शन भएको छैन ।’
कांग्रेसले सप्तरीमा संघीय फोरम अध्यक्ष उपेन्द्र यादवविरुद्ध परेको कांग्रेसको उम्मेदवारी फिर्ता लिएको छ भने केही ठाउँमा राप्रपाका उम्मेदवारलाई समेत समर्थन गरेको छ । तर, मधेसी पार्टीहरू र राप्रपाबाट न्यानो नपाएको कांग्रेसभित्र त्यसले केही असन्तुष्टिसमेत देखिएको नेताहरू बताउँछन् । उम्मेदवारी मनोनयनको अन्तिम समयसम्म कांग्रेस र मधेसी पार्टीबीच तालमेल गरी उम्मेदवार दिने छलफल र बैठकहरू चले तर ती बैठक असफल भएपछि धनुषामा विमलेन्द्र निधि र राजेन्द्र महतो एउटै चुनावी मैदानमा उत्रिए ।
धनुषाकै १ नम्बर क्षेत्रमा कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार आनन्दप्रसाद ढुंगाना मधेसी गठबन्धनका उम्मेदवार दीपक कार्कीसँग चुनावी मैदानमा टक्कर लिइरहेका छन् । धनुषाको दुई नम्बरमा समेत कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार रामकृष्ण यादव मधेसी गठबन्धनका उमाशंकर अडगरियासँग असुरक्षित छन् । जानकारहरूले कांग्रेस र मधेसी गठबन्धनका उम्मेदवारहरू यी क्षेत्रमा एकआपसमा प्रतिस्पर्धी देखिएपछि त्यहाँ वाम गठबन्धनका एकल उम्मेदवारले बाजी मार्ने सम्भावना प्रवल देखिन थालेको छ ।
धनुषा १ नम्बर क्षेत्रमा वाम गठबन्धनका मातृका यादव र २ नम्बरमा रामचन्द्र झा उम्मेदवार छन् । यसअघि ०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा कांग्रेसले धनुषाका ७ क्षेत्रमध्ये ५ मा जित हात पारेको थियो । आजको अन्न्पूर्ण पोस्टमा खबर छ ।



