पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समवेदना दिन आउनेहरुलाई धन्यवाद दिँदै परिवार सम्हाल्न गाह्रो भइरहेको बताएका छन्।
छोरा प्रकाश दाहालको निधनपछि परिवारलाई भेट्न लाजिम्पाट पुगेका शुभचिन्तकहरूसँग अध्यक्ष दाहालले पीडा ठूलो भए पनि आफू सम्हालिने बताए।
‘म तपाईं शुभचिन्तकहरुको माया देखेर सम्हालिएको छु’, दाहालले भने, ‘परिवारलाई सम्हाल्न भने निकै गाह्रो भएको छ। छोरी बितेको तीन वर्ष नहुँदै छोरा गुमाउनुपर्दा विक्षिप्तता ल्याएको छ।’
आफ्नो परिवारलाई ठूलो दुर्घटना जस्तै अवस्था आइलागेको दाहालले बताए।
‘उपचारका लागि आज अत्याधुनिक प्रविधि उपलब्ध छ, तर हस्पिटल पुर्याउनुअघि नै छोरा बिदा भयो। यसलाई हामीले दुर्घटना मानेका छौं’, अध्यक्ष दाहालले भने।
शुभेच्छुकहरुले दिएको समवेदनाले आफू र आफ्नो परिवारलाई ठूलो शक्ति प्रदान गरेको भन्दै दाहालले थपे, ‘म्याडम (सीता दाहाल) पनि बिस्तारै सम्हालिँदै हुनुहुन्छ।’
निधनको खबर सुन्नेबित्तिकै श्रद्धाञ्जली दिन र अन्त्येष्टिमा देखिएको सहभागिताका लागि उनले सबैलाई धन्यवाद दिएका छन्।
नेपालीहरु छोराछोरी र दाजुभाइ भएको भन्दै दाहालले सम्पूर्ण जनतालाई अभिभावकको जस्तो भूमिका निर्वाह गर्ने समेत बताए।



