कृष्णप्रसाद सिटौला

१२ बुँदे समझदारीलाई निष्कर्षमा लैजाने र विकसित गर्ने हो भने प्रचण्डजी (माओवादी अध्यक्ष पुष्पकमल दाहाल) काठमाडौंमै बस्नुपर्छ भन्ने मेरो मान्यता थियो। हामीले सरकारी वार्ता टोली गठन गर्यौं, वार्ता टोलीको संयोजक म भएँ। माओवादीको वार्ता टोलीको संयोजक कृष्णबहादुर महराजी हुनुभयो। हाम्रो बीचमा छोटै समयमा युद्धबिराम आचारसंहिता बन्यो। तर, जब हामीले विस्तृत शान्ति सम्झौताको कुरा अघि बढाउन थाल्यौं, छलफल सुरु गर्यौं, बहुत गाह्रो पर्यो हामीलाई। अन्तरिम संविधान ल्याउनेदेखि मुद्दा मिलाउने कुरासम्ममा धेरै उतारचढाव भए।

किनकि, हरेक विषयमा गिरिजाबाबु (तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला) सँग सहमति लिएर म महराजीसँग छलफल गर्थें। उहाँले हेडक्र्वार्टर (प्रचण्ड) लाई सोधेर निर्णय लिनुपर्छ भन्नुहुन्थ्यो। अनि सेटेलाइटमा फोन गर्नुहुन्थ्यो। उताबाट जवाफ आउन एक–डेढ घन्टै लाग्ने। गिरिजाबाबु बिरामी हुनुहुन्थ्यो। माओवादीको फरक माग आएपछि फेरि माथि उक्लेर गिरिजाबाबुलाई सुनाउनुपथ्र्यो। हरेक मुद्दामा त्यही नियति दोहोरिने। यसरी त सबै विषय टुंगोमा पुर्‍याउन महिनौं लाग्ने भयो।

मलाई के लाग्यो भने, माओवादी साँच्चि नै वार्तामा आएका हुन्, शान्तिपूर्ण राजनीतिमा आएका हुन्, बहुदलीय प्रतिस्पर्धामा आएका हुन् भने प्रचण्डजी काठमाडौं आउनुहुन्छ। होइन, बाहना हो भने आउनुहुन्न भन्ने मलाई अन्तर्आत्मामा लागेको हो। अनि मैले महराजीलाई भने, ‘तपाईंहरुबाट टुंगिदैन। गिरिजाबाबु र प्रचण्डको बीचबाट टुंगिने विषय हो यो। उहाँ आउने हो भने त्यही ढंगले कुरा गरौं। होइन भने, यो नाटक किन गर्ने?’

पहिले पनि दुई–दुईवटा वार्ता भए। अनि त्यहाँबाट छोड्नुभयो, जानुभयो। यसबाट त नेपालले सफर गरेको छ। अगाडिका दुवै वार्ता भइसकेपछि हजारौं मान्छे मारिएका छन्। उहाँहरु विद्रोही नै हो। भूमिगत नै हो। हतियारधारी नै हो। उहाँहरुको राजनीतिप्रति त्यतिबेला शंका र सन्देह नै हो हामीलाई। अगाडिका दुवै वार्ता असफल भएको छ। हरेक असफलतापछि ठूलो द्वन्द्व खडा भएको छ। हिंसा भएको छ।

त्यसबेला म गृहमन्त्री थिएँ। गृहमन्त्री भइसकेपछि मेरो काम भनेको शान्ति सुरक्षा दिने हो। माओवादीलाई बन्दुक ठोकेर होस् वा मिलाएर। ठोकेर पार नलाग्ने मेरो सुरुदेखिको कन्भिक्सन हो। रणनीति होइन। मेरो कन्भिक्सन नै जनता बचाउनु छ, देश बचाउनु छ भने माओवादीको हातबाट बन्दुक थुत्नुपर्छ। लोकतन्त्रलाई साकार पार्नु छ भने राजतन्त्रको अन्त्य हुनुपर्छ। यो मेरो कन्भिक्सन हो। राजाको गद्दी पनि हटोस्, माओवादीको बन्दुक पनि हटोस् भन्ने नै हो।

व्यक्तिगत रुपमा मेरो त्यही कन्भिक्सनले सबैभन्दा बढी काम गरेको हो। र, गिरिजाबाबुले मलाई साथ दिएकै हो, ‘गो अहेड’ भनेर। त्यही सिलसिलामा प्रचण्डलाई ल्याइएको हो। लिन गएको हो। उहाँ आउनुभयो। विश्वास गर्नुभयो।
म नै लिन गएँ, पु¥याउन गएँ।

गृहमन्त्रीको हैसियतमा मैले सेनासहितका सबै सुरक्षा निकायसँग प्रचण्ड कहाँ हुनुहुन्छ, भनेर बुझें। सबैले नेपाल पसेकोसम्म थाहा छ, तर कहाँ हुनुहुन्छ भन्ने थाहा छैन भने।

काठमाडौंबाट हेलिकोप्टर उडिसकेपछि कहाँ जाने भन्ने भयो। महराजी केही बोल्नु भएन। पाइलटको कानमा केही फुस्फुसाउनुभयो। मलाई लागेको थियो, पक्कै रोल्पा–रुकुमतिरै हुनुहोला। हेलिकोप्टर पोखरा एअरपोर्टमा ओर्लियो। फेरि मैले सोधें, महराजी बोल्नुभएन। पोखराबाट उडेको ५ मिनेटमै यसो तलतिर हेर्छु त सबै राताम्मे छ, झन्डै–झन्डा। कम्ब्याट लगाएका, हतियार बोकेका लडाकुहरु तैनाथ छन्। हेलिकोप्टर सिक्लेस डाँडामा ओर्लियो। पोखराको त्यति नजिकै त्यति ठूलो फौजसाथ बस्नुभएका प्रचण्डबारे सुरक्षा निकायलाई थाहा छैन। त्यसपछि मलाई झन् के लाग्यो भने, यो मुद्दाको समाधान फौजी तरिकाले होइन, शान्तिपूर्ण तरिकाले नै खोजिनुपर्छ।

प्रचण्डजी सशस्त्र फौजसहितको क्याम्पमा बस्नुभएको थियो। उहाँका सेनाले मलाई सलाम ठोक्थे। अर्कै देशको गृहमन्त्री पुगेजस्तै भयो नि। एक घन्टाजस्तो कुरा गरियो। उहाँले दुई दिनपछि खबर गर्छु भन्नुभयो। फेरि आइयो। अर्कोदिन महराजीले भन्नुभयो– आउन तयार हुनुहुन्छ।

फेरि उड्दै गइयो। उहाँहरु पोखरा झर्नुभएको रहेछ। अन्तै बस्नुभएको रहेछ फेरि। उहाँहरुलाई लिएर आइयो। मैले के ठानें भने, जोखिम चाहिँ ठूलै मोलियो। पार लाग्छ, लाग्दैन त्यो त भविष्यले बताउला। म आफैं सरकारी वार्ता टोलीको संयोजक थिएँ। गृहमन्त्री पनि थिएँ। अनौठो थियो। गृहमन्त्री जो सुरक्षा बललाई माओवादीविरुद्ध परिचालन गथ्र्यो, त्यो नै वार्ता टोली संयोजक थियो। मेरो सामु पहिलो प्रश्न थियोे, ल एन्ड अर्डर मेन्टन गर्ने। मैले के सोचें भने माओवादीले हतियार बुझाए भने ल एन्ड अर्डर मेन्टन भइहाल्यो नि! त्यो माइन्डले बढी मलाई काम ग¥यो। म यति धेरै विवादको घेरामा थिएँ, कसैले कल्पना गर्नै सक्दैन।

भोलिपल्ट प्रचण्डजीहरु फर्कने हुनुभयो। गिरिजाबाबुले पुर्याउन पनि मलाई नै अह्राउनुभयो। लिन जाँदै सञ्चार माध्यमहरुले मलाई ‘सवारी मन्त्री’ को संज्ञा दिइसकेका थिए। पुर्याउन जाने पक्षमा म थिइनँ। तर, गिरिजाबाबुले ‘आफैं जानू’ भनेपछि गएँ। कस्तो संयोग भने, गिरिजाबाबु त्यही दिन उपचारका लागि बैंकक जाँदै हुनुहुन्थ्यो। त्यसैले पनि भोलिपल्ट चाहिँ मलाई नजाऊँ जस्तो लागेको थियो। म गिरिजाबाबुलाई बिदाइ गर्न चाहन्थें।

तर, गिरिजाबाबुले पुर्याएर आउन भन्नुभयो। म प्रचण्डजीहरुलाई पुर्याएर हतार–हतार फर्कें। धन्न गिरिजाबाबुलाई एअरपोर्टमा बिदाइ गर्न पाएँ।

मलाई जहिल्यै लाग्थ्यो, गिरिजाबाबुले आफैं पुर्याएर आउन किन भन्नुभयो? एकदिन उहाँ गुड–मुडमा भएको बेला सोधें। उहाँले भन्नुभयो, ‘यतिखेर सबैभन्दा बढी खतरा कसलाई छ? प्रचण्डलाई होइन? दरबारिया, सुरक्षा निकाय, शान्ति प्रक्रिया सफल पार्नुपर्छ भन्ने कांग्रेस–एमालेका हामी केही नेता तथा बुद्धिजीवीबाहेक हाम्रै कार्यकर्ताहरुबाट उनलाई खतरा छ। हुनसक्छ, पाइलट नै प्रचण्डबाट चिँढिएको होस्। हेलिकोप्टर खसालिदियो भने? प्रचण्डलाई तलबितल पर्यो भने त हामीलाई षड्यन्त्रकारी भन्छन्। त्यसपछि माओवादी पंक्तिको उग्ररुप मुलुकले थेग्न सक्छ? त्यसैले उनको सुरक्षा हाम्रो प्रमुख दायित्व हो। तिमी जाँदा त्यो सुरक्षा अझ बढी सुनिश्चित हुन्छ।’

गिरिजाबाबुले थप्नुभयो, ‘तिमी प्रचण्डसँगै जाँदा केही तलबितल परे हामीले त्यो आरोपको सामना गर्नुपर्दैन। किनभने, गिरिजाप्रसादको प्रियपात्र, देशको गृहमन्त्री पनि सँगै थिए। यो षड्यन्त्र होइन भन्ने हुन्छ।’

किनभने उहाँलाई अनुभव छ। उहाँ दूरद्रष्टा हुनुहुन्थ्यो। मलाई पनि लाग्यो, सुर्खेतमा हेलिकोप्टर रिफ्युल गर्नुपर्छ, केही घटना घटिदिइहाल्यो भने! त्यतिबेला प्रचण्डजीको सबैभन्दा ठूलो दुस्मनी त्यहाँका सुरक्षा निकाय थिए होला नि! त्यसैले मैले पुर्याएर आएँ। गिरिजाबाबुको सोचाइ पनि त्यस्तै रहेछ।

मलाई सवारी मन्त्री भने। मैले सहनु पनि पर्छ। यत्रो ठूलो समस्या छ। १६–१७ हजार मान्छे मारिएका छन्। मृत्युको शृंखला रोक्न मैले गाली त सहनै पर्छ नि। तर, गाली खपेरै भए पनि फेरि हिंसा दोहोरिन त दिइनँ नि!

गिरिजाबाबुले भन्नुभएको थियो, ‘तिमीले जे गरेका छौ, ठीक गरेका छौ। कसैको कुरामा ध्यान नदिनू। तिम्रो आँट र समर्पणमा मेरो पूरा समर्थन छ।’

पार्टीभित्रैबाट मेरो सक्रियता र प्रयासको आलोचना हुन्थ्यो। मचाहिँ खप्ने नै हो। एक पटक चाहिँ गिरिजाबाबु आफैंले खप्नु भएन। हाम्रो संसदीय दलको बैठक थियो बालुवाटारमा। साथीहरुले मेरो धेरै आलोचना गर्नुभयो। म सुनिरहेको थिएँ। गिरिजाबाबुले माथिबाट सुनिरहनुभएको रहेछ। मलाई गाली गरेको सुनेर उहाँलाई असह्य भएछ। तल आएर भन्नुभयो, ‘किन यो सिटौलालाई गाली गर्नुहुन्छ। सबै त मेरो कन्फिडेन्समा काम गरेको छ। मलाई भन्नुस् न भन्नेले।’ त्यसपछि सबैको मुख बन्द भयो।

अन्ततः २०६३ असार २ गते प्रचण्ड पहिलोपटक बालुवाटारमा सार्वजनिक हुनुभयो। त्यसअघि कतिले ‘प्रचण्ड भनेको ज्ञानेन्द्र हो’सम्म भन्न भ्याएका थिए। त्यो घटनाले संसदवादी दल र माओवादीमा विश्वास पैदा गर्यो। उहाँहरुलाई ल्याएकै दिन ७ राजनीतिक दल र माओवादीबीचमा ८ बुँदे समझदारीमा हस्ताक्षर गर्यौं। त्यो ८ बुँदा ठीक कि बेठीक भन्नेतिर म जान चाहन्नँ। तर, सहमति हुनु नै उपलब्धि हो शान्ति प्रक्रियाका लागि। शान्ति प्रक्रियाका दृष्टिले विश्वासको आधार तयार गर्ने दस्तावेज त्यही हो। विद्रोही र सत्ताका बीचमा कसरी विश्वास सिर्जना गर्ने? त्यसैले माओवादीलाई ल्याउने, पुर्याउने काम चाहिँ विश्वास सिर्जना गर्ने कुरा थियो।

मलाई अहिले पनि के लाग्छ भने, प्रचण्डजीलाई काठमाडौं ल्याएर राख्न नसकेको भए अथवा उहाँ यहाँ नआउनुभएको भए शान्ति प्रक्रिया असफल हुन्थ्यो। त्यो ८ बुँदे सहमतिकै आधारमा २०६३ मंसिर ५ गतेको विस्तृत शान्ति सम्झौता सम्भव भएको हो। र त्यही बिन्दुबाट माओवादी राष्ट्रिय राजनीतिमा समाहित भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah