बिष्णुप्रसाद पोखरेल/दमक
झापाको दमकमा २५ प्रतिशतभन्दा बढि होटल तथा रेष्टुरेन्टहरुको भान्सा फोहोर र यहाँ पकाईएको खानेकुरा खाना अयोग्य भेटिएको जनाईएको छ ।
होटेल, रेष्टुरेन्ट, भोजनालय, मिठाई पसल, चिया पसल, क्याटरिंग एवम् क्यान्टिन लगायतमा खाद्य वस्तुमा स्वच्छता कायम गरी सर्वसाधारण उपभोक्ताको स्वास्थ्य तथा सुविधा कायम राख्न खाद्य नियमावली २०२७ को नियम ३३(क) ले दिएको अधिकार प्रयोग गरी कृषि विकास मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार अनुगमन गर्दा यस्तो भेटिएको खाद्य तथा गुण नियण्त्रण बिभाग बिराटनगरले जनाएको छ ।
कृषि मन्त्रालयले जारी गरेको खाद्य स्वच्छताको आधारमा होटेल रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्वन्धी निर्देशिका, २०७४ अनुसार झापाको दमकमा नै पहिलो पटक होटलहरुको अनुगमन र स्तरीकरण शुरु गरिएको र प्रारम्भिक चरणमा २५ प्रतिशतभन्दा बढि होटलले सरसफाइमा बन्दै ध्यान नदिएको पाईएको खाद्य प्रविधि तथा गुण नियण्त्रण बिभाग पूर्वाञ्चल प्रमुख प्रमोद कोइरालाले जानकारी दिनु भयो ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, होटल ब्यवसायी संघका क्षेत्रिय अध्यक्ष राजन दंगाल, बिभागका प्रुख कोइराला सहितको टोलीले दमकका २० वटा होटलहरुको अनुगमन गरेर स्तरीकरण लोगो नै टाँस गरेको छ । २० मध्ये ७ वटाले आधारभूत मापदण्ड समेत पालना नगरेकाले ति होटलहरुमा पहेलो लागो टाँस गरिएको जनाईएको छ । ४ तहमा बर्गिकरण गर्ने क्रममा अन्तिम तहलाइ पहेलो लोगो टाँस गरिएको र यो हेरेर उपभोक्ता आफै सचेत भएर नपस्ने कोइरालाको भनाइ रहेको छ ।
दमकका ५ वटा होटलहरुले अतिउत्तमको लोगो पाएकाछन् । पाथिभरा होटल एण्ड पार्टी प्यालेस, पूर्वाञ्चल बकेरी क्याफे, ह्याङआउट होटल, फाइन होटल एण्ड रेष्टुरेन्ट र गोर्खा किचनमा अति उत्तम भएको लागो टाँस भएको छ । दमकमा भेटिएका राम्रा खानेकुरा पाइने होटलको रुपमा यिनिहरुको मापन भएको छ ।
यसैगरी उत्तम होटलको लागो पाउनेमा होटल एसजि, कामक्ष, होटल भोजपुरे र सिर्जना होटल रहेकाछन् । दमकका बिट्टु मिष्ठान्न भण्डार, सगुन होटल, जितु माछा फ्राइ, न्यू दमक फाष्डफुड, नवदुर्गा मिष्ठान्न भण्डार, केसी होटल र ढावा होटलको भान्सा मापदण्ड पुरा नगरेको र घ समुहमा परेको जनाईएको छ ।
यि सबै होटलहरुमा बिभागका प्रमुखले हस्ताक्षर गरेको पहेलो लागो टाँस भएको छ । अतिउत्तम,उत्तम, सन्तोषजनक र सामान्य चार श्रेणिमा होटलहरुको स्तरीकरण भएपछि यसले उपभोक्ताहरुले लोगो हेरेर होटल पस्ने बानिको बिकास हुने अपेक्ष लिइएको खाद्य तथा गुण नियण्त्रण इकाइ झापाका प्रमुख दिनेश ढुंगानाले बताउनु भयो ।
लोगो टाँस गरेसंगै होटल ब्यवसायीहरुले गुणस्तर कायम राख्नका लागि लिखित प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको होटल ब्यवसायी संघका क्षेत्रिय अध्यक्ष राजन दंगालले बताउनु भयो । गुणस्तरी सेवा ग्राहकहरुलाई उपलब्ध गराउन, खानेकुरालाई राम्ररी पकाएर सुरक्षित तापक्रममा राख्न, काँचो र पकाएको खानेकुरा छुट्टा–छुट्टै राख्न, स्वच्छ पानी र स्वच्छ कच्चा पदार्थको प्रयोग गर्न, प्याकिङ्ग गरिएको खाद्यवस्तुको उपभोग्य मिति भित्र प्रयोग गर्न र बिक्रि गर्न तयार रहेको होटल ब्यवसायीले हस्ताक्षर गरेकाछन ।
यसैगरी खाना पकाउने, भण्डारण गर्ने र खुवाउने ठाउँ सफा राख्न, होटेल, रेष्टुरेन्ट, भोजनालय, मिठाई पसल, चिया पसल, क्याफे, क्याटरिंग, क्यान्टिन वरिपरी, ट्वाइलेट बाथरुम र भाँडा माज्ने ठाउँ सफा राख्न, खाना पकाउने, खुवाउने व्यक्तिको व्यक्तिगत सरसफाई कायम राख्न, तोकिएको परिधिभित्र मात्र खाद्य रंग तथा अन्य प्रयोग गर्न स्वीकृत योगशील प्रयोग गर्न, ढाँटी झुक्काई कम गुणस्तरको खाद्य वस्तु बिक्रि वितरण नगर्न र अभिलेख व्यवस्थित तवरले राख्नका लागि तयार भएको प्रतिबद्धतापत्रमा होटल सञ्चालकले लिखित सहि गरेको बिभागका अनुगमकर्ता प्रेम अर्यालले जानकारी दिनु भयो ।



