नेपाली कांग्रेस उदयपुरका जिल्ला सचिव रामकुमार राईले वाम गठबन्धनका उम्मेदवारलाई भोट दिन आग्रह गरेका छन् ।
जिल्लामा प्रभावशाली कांग्रेस नेता तथा कटारी गाविसमा कांग्रेसबाटै गाविस अध्यक्ष जितेका राईले अहिलेको निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका वाम गठबन्धनबाट उम्मेदवार बनाइएका माओवादी केन्द्रका शुरेसकुमार राई (हिमाल) र प्रदेशसभा (ख) मा एमालेका उम्मेदवार कला घलेलाई भोट दिन सबैलाई आग्रह गरेका हुन् ।
वाम गठबन्धनको संयुक्त रुपमा हुने सभामा कांग्रेस त्याग गरेको घोषणा गर्ने बताउँदै उनले आफूलाई कांग्रेसका सिमित व्यक्तिले घेराबन्दीमा पारेको आरोप पनि लगाए ।
कांग्रेसमा तीन दशक राजनीति गरिसकेका लोकप्रिय जनप्रतिनिधिसमेत भएका राईले कांग्रेसका जिल्ला सभापति विदुर बस्नेत तथा केन्द्रीय सभापति शेरबहादुर देउवाको कार्वाहीले आफूलाई केही असर नपर्ने पनि बताए ।
आफूले बनाएका सबै कांग्रेसहरुलाई गठबन्धनमा भोट दिन आग्रह गर्दै क्षेत्र नम्बर २ का ५ जना कांग्रेसले पार्टीमा फुलबुट्टा भर्ने गरेकाले गठबन्धनलाई भोट दिन आग्रह गरेको सुनाए ।
‘सम्पूर्ण पार्टीलाई ५ जनाले कब्जा गरेपछि घेराबन्दीमा परें, त्यसैले अब गठबन्धनलाई भोट दिन आग्रह गर्दछु ।’
क्षेत्र नम्बर २ का कांग्रेसका हेरम्बबहादुर थापा, ज्ञानेन्द्रमानसिंह राउत, सञ्जिव थापा, नारायण कार्कीलगायत नेताहरुले केन्द्रमा दबाव दिएका कारण आफूले आसन्न चुनावका लागि उम्मेदवार बन्ने टिकट नदिएको समेत बताए ।
हालैको स्थानीय तह निर्वाचनमा समेत कटारी नगरपालिकामा मेयरका रुपमा चर्चामा आएका राईले अन्ततः टिकट पाएनन् । कटारीमा आदिवासी जनजाति सबै समुदायको साथ पाउने पक्का भएका राईले टिकट नपाएपछि ज्ञानेन्द्रमान सिंह राउतले टिकट पाए तर उनी पनि मेयरमा पराजित भएका थिए ।
मेयरमा एमालेका ज्ञानेन्द्र श्रेष्ठले विजय हासिल गरेपछि राईले सहयोग नगरेको आरोप केन्द्रमा लगाउँदै टिकट नदिएको राईको भनाई छ । स्थानीय तहको निर्वाचन जिताउन राईले कांग्रेसलाई भरपुर सहयोग गरेको बताए ।
‘स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई सहयोग गरेका सबैलाई सर्वविदितै छ । ‘कांग्रेसको स्थानीय तहको निर्वाचनको चुनावी कार्यक्रममा समेत राईको सक्रिय सहभागिता रहेको कांग्रेस कार्यकर्ताले नै बताउने गरेका छन् ।
प्रदेशसभा वा प्रतिनिधिसभामध्ये एउटामा टिकट दिइने आश्वासन पछि स्थानीय तहको निर्वाचनमा मेयरको पहिलो दावेदार राईले उम्मेदवारी राउतलाई दिएका थिए ।
तर यसपटक प्रदेशसभा उदयपुर क्षेत्र नम्बर २ को (ख) मा कांग्रेसले क्षेत्रीय सभापति रामकुमार खत्री र प्रतिनिधिसभामा सांसद नारायणबहादुर कार्कीले टिकट पाएपछि राईले टिकट पाएनन् ।
संविधानसभाको निर्वाचनमा समेत दावेदार उम्मेदवार र कांग्रेसका पुराना नेता राईले टिकट पाउने पक्कापक्की भएको हल्ला भए पनि पाउन सकेका थिएनन् । राई उदयपुरमा कार्यकर्ताहरुमाझ मात्रै नभई अन्य पार्टीमा पनि लोकप्रिय नेताका रुपमा चिनिन्छन् ।



