पुत्रवियोगमा विक्षिप्त बनेकी सीता दाहाल सोमवार एकैछिन भने पनि सम्हालिएर आँशु लुकाउन बाध्य भइन् । अरुलाई देखाउन होइन, दुबै नातिहरु सँगै खेलेको देखेर । प्रचण्ड र सीताका एकमात्र पुत्र प्रकाश दाहालको अप्रत्याशित निधनपछि सन्नाटा छाएको लाजिम्पाट निवासमा सोमवार दुई नातिले सँगै खेलेर शोकाकुल अभिवावकहरुको अनुहारमा खुसी ल्याइदिए ।
हो, प्रचण्ड परिवारमा प्रकाशको निभेको दियो जलाउन उनका दुई छोरा प्रसिद्ध र प्रलव सँगै खेल्न थालिसकेका छन् । सोमवार प्रचण्ड र सीतालाई सान्त्वना दिन गएका एक माओवादी नेताका अनुसार दुई दाजुभाइ सँगै खेलिरहँदा शोकाकुल अभिभावकहरुको मुहारमा हल्का खुसी देखिएको थियो ।
‘अब प्रकाशको अभावमा मन बुझाउने सहारा हजुरबा-हजुरआमालाई दुई नाति हुने देखियो’ उनले भने ।प्रचण्डका जेठा नाति जेठा प्रसिद्ध सिर्जना त्रिपाठीका छोरा हुन् भने कान्छा प्रलव बिना मगरका छोरा हुन् । प्रकाशले बिनासँग विहे गरेपछि छोरासहित अलग बस्दै आएकी सिर्जना पनि आइतवार प्रकाशको निधन भएकै दिनदेखि लाजिम्पाटस्थित प्रचण्ड निवासमै बस्न थालेकी छन् ।
श्रोत: लाइट नेपाल



