कहिलेकाँही म पनि जान्थें, काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा। कहिले आफन्तलाई पुर्याउन जान्थें कहिले लिन जान्थें। कसैलाई पुर्याएर आइसकेपछि मनमा अनेक तर्कना खेल्थे- म पनि यसरी उड्न पाउने कहिले होला? विदेश जान पाउने कुरामा ढुक्क हुन एकदिन ज्योतिषलाई हात देखाएँ। ज्योतिषले भने–तपाईंको हातमा विदेश जाने रेखा कतै छैन।

ज्योतिषको भविष्यवाणी सम्झेर निराश हुँदै लुरुलुरू हिँड्दै चटक हेर्न जान्थें रत्नपार्कमा। नेपालको बिए पास न मन्त्रीहरू साइनो लाग्ने, न कुनै दलको नेताको चाप्लुसी गर्न जान्ने, न त भेटी, चन्दा नै छ आफूसँग यसो सानोतिनो जागिरमा अल्झिनलाई। म बेरोजगार भएँ।

माओवादी आन्दोलन भयो। कति मरे, कति अनेक उपाय निकालेर विदेशतिर भािसए। राजा मारिए, अर्का राजा हटाइए। मलाई त्यो सब अचम्म लागिरहेको थियो। किनकि यहाँ कोही पनि आफ्नो हुँदो रहेनछ। त्यत्रो राजाको सुरक्षामा खटिएका, ज्यूहजुर गर्नेहरू, राजभक्तहरू, राजालाई झुक्काएर अकुत सम्पत्ति बटुल्नेहरू, राजाको निम्ति ज्यानको बाजी थाप्छु भन्नेहरू कोहीले पनि राजालाई आपतपर्दा साथ दिएनन् भने म त एउटा साधारण मानिस मेरो निम्ति कस्ले पो सोच्छ र।

मेरो एकजना मिल्ने साथी थियो अमिर यादव। एकदिन उसले भन्यो ‘प्रभु म त अमेरिकातिर हानिने कोशिश गर्दैछु। अब नेपालमा बसेर केही हुने भएन।’ मैले भने ‘तेरो त खरदारको जागिर छ। किन अमेरिका जानु पर्यो?’ ‘के गर्नु यो खरदारको जागिर, भन्सारको खरदार भए पो। हुलाकको खरदार, त्यैपनि घुस खान र ख्वाउन नमान्नेलाई।’ मैले भने ‘अमिर, तँसँग मलाई पनि लैजा न अमेरिका।’

‘पख मेरो एकजना चिनेको नेताले लान्छु भनेको छ। तर ७ लाख लाग्छ रे अनि प्लेनको टिकट पनि आफैले किन्नु पर्छ रे।’ उस्ले भन्यो। ‘७ लाख, तेत्रो पैसा!’ ‘के गर्नु, नत्र लादैन’ अमिरले भन्यो। त्यो दिन अमिरको कुरो सुनेर मलाई पनि अमेरिका जान पाए हुन्थ्यो जस्तो लाग्यो। बुढा भइसकेका बुवाआमालाई फकाएर हाम्रो सबभन्दा उब्जाउ हुने गैह्री खेत बेचियो। बुवाले आँखाभरि आँसु पार्दै पैसा मेरो हातमा पोको पारी राखिदिनुभयो। ‘बाबु आफ्नो स्वास्थ्यको विचार गर्नु, चाँडै फर्केर आउनु ल’ आमाले घरबाट निस्कने बेलामा भन्नुभयो।

पैसा बोकेर म काठमाडौं आएँ। अमिर र म नेताको घर गयौँ। नेताले मन्त्रीकोमा लिएर गए। थाहा पाएँ नेपालको व्यापार प्रवर्धनको लागि अमेरिकामा अमेरिका-नेपाल अन्तरक्रिया सम्मेलन हुँदैरहेछ। त्यही भ्रमण टोलीमा अमिर र म पनि नेपाली लत्ताकपडा र भेषभुषा ब्यापारी भएर जान पाउने भएछौँ।’

के गर्नु जसरी पनि अमेरिका छिर्ने रहर थियो। हाम्रो पासपोर्ट तयार भएर आयो। प्लेनको टिकट काट्ने पैसा र ७ लाख अमिरले चिनेको नेतालाई हामीले बुझाइसकेका थियौँ। ज्योतिषको कुरो मलाई विश्वास लागेन। आखिर अमेरिका जान पाउने भएँ।

अमिर पनि सँगै भएकोले मलाई त्यति डर लागेन। नेताको दलालले हामीलाई के गर्ने, कसो गर्ने, इमिग्रेशनमा के हुन्छ, अमेरिकासम्म पुर्याइदिने, अनि अमेरिका पुगेपछि हामीले आफ्नो व्यवस्था आफै मिलाउनु पर्ने कुरा छर्लङ्ग पारेर बताए। हामीले ज्ञानी बालकले बुझेझैँ मुन्टो हल्लायौँ। अनि मैले ठूलो ठूलो सपना देख्न थालेँ।

एयरपोर्टबाट मन्त्री र उनका निकटहरूलाई अमेरिकाका नेपाली संघ संस्थाका पदाधिकारीले खादा ओढाएर फुल गुच्छा अर्पण गरेर चाप्लुसीपूर्वक स्वागत गर्दै महंगा मोटर चढाएर लगे। पहिले त हामी पनि अमेरिकाका नेपालीहरू देखेर दङ्ग परेका थियौँ। तर म अमिर र हामीजस्ता अरु नेपालीलाई अमेरिकाका नेपाली संघसंस्थाका कसैले पनि चिन्ने कोशिश नै गरेनन्। हामीलाई छोडिदिए एयरपोर्टमै। हामीहरु अलमल्लमा पर्यौं। के गर्ने र कसो गर्ने भयो। तर पछि अमिरले चिनेको मान्छेको घर गयौं।

अमेरिका भन्ने कस्तो न होला भन्ठानेको थिएँ। ठूल्ठूला विल्डिङहरू झुरूप्प एक ठाउँमा कतैकतै मात्र, बाँकी सानासाना कच्चा काठका घर र अझ धेरै ठाउँ त खाली खाली बस्ती नै नभएको। जताततै फाष्टफुड रेष्टुरेन्ट। विभिन्न थरीका भाषा बोलेर हिँडेका मानिसहरू। कसैलाई कसैको मतलब छैन, सबै आ-आफ्नै सुरमा। मैले सोचेभन्दा बेग्लै थियो अमेिरका।

खाने बस्ने टुङ्गो लगाउनु पर्ने भयो। अमिर चिनेको मान्छेको नाम लाक्पा रहेछ। लाक्पाले हामीलाई काम खोज्न दिनै पिच्छे कोशिश गर्नुहुनथ्यो। तर कागज नभएको मानिसहरूलाई काम सजिलै कहाँ पाइन्छ र। इण्डियनकोमा लुकेर काम गर्नुपर्ने रहेछ। कि त ग्याँस स्टेशसन कि त होटेलमा काम गर्नुपर्ने।

ग्याँस स्टेशनमा लुटेराले कति नेपाली कामदार मारेको मैले समाचारमा प्रशस्त सुनेको थिएँ। त्यसैले ग्याँस स्टेशनभन्दा इण्डियनको होटेल नै ठीक हो कि जस्तो लाग्थ्यो। तर होटेलमा पनि न्युनतम ज्यालाभन्दा कम तलबमा समय बेसमय मनपरी दलाउँछ रे भन्ने सुनें। त्यत्रो पैसा नेपालमा नेतालाई बुझाएर आएको जे भए पनि काम त गर्नै पर्यो। तर भने अनुरूप तुरून्त काम पाइएन। झण्डै दुई महिना पछि अमिरले लाक्पाले काम गरेकै ग्याँस स्टेशनमा काम पायो। त्यसको एक महिना पछि मैले पनि त्यो ग्याँस स्टेशनबाट १५ माइल पर अर्को ग्याँस स्टेशनमा काम पाएँ।

अमिर, म र अरू तिनजना, एकजना इण्डियनको घरमा रूम सेयर गरेर बस्थ्यौँ। त्यसपछि त न दिन न रात, डलर कमाउनकै धन्दा। कहिले रातिको काम कहिले दिउँसोको काम, न त निद्रा न त थकान। काम सिक्न पनि समय लाग्यो। सिकुन्जेल त सित्तैमा काम गर्नु पर्नेरहेछ। साहू रिसाउला भन्ने पीर। त्यसपछि म घडीको सूई भएँ। डेरा पुग्दा थाकेर हत्तु भइन्थ्यो। माइक्रोवेभमा ततायो कुप्लुक्क खायो घुप्लुक्क सुत्यो, भोली काममा पुग्ने हतारमा। कति दिनसम्म त अमिरसँग पनि बोल्न पाइएन। म डेरा पुग्दा उ सुतेको हुन्थ्यो। उ आउँदा म सुतेको हुन्थें। पैसा जोगाउनलाई यसो मीठो नमीठो आधा पेटै खाएरै पनि हाडछाला घोट्न थालेँ। गैरी खेत बेचेको पैसा, बुढा भाका मेरा बुवा आमाको जिउने सहारा। झलझल्ती सधैँ मलाई माया गर्ने मेरा बुवा आमाको मुहार मेरो सम्झनामा आइरहन्थ्यो। बुवा आमालाई बुढेसकालमा सहारा दिने मेरो इच्छा आँखाभरी आँसु बनेर ढलपल हुँदै कैंयौ रात पोखिन्थ्यो।

मसँग डेरामा बस्ने आशाकाजीले अमेरिकामा विभिन्न संस्था चलाएर बसेका बारे एकदिन भने-धेरैजसो यी सबै असाइलम गरेर ग्रीनकार्ड पाएका हुन्। पहिले हामीजस्तै ग्यास स्टेशनमा हाडछाला घोटेका हुन्। अहिले पो व्यापारस्यापार गरेर संघ संस्थामा लागेर फूर्ति गरेका छन्।

मलाई पनि असाइलम (शरणार्थी) बनेर ग्रीनकार्ड लिएर, ब्यापार गरेर, पैसा चाँडो कमाएर, ऋण चुक्ता गरेर बुवा आमासँगै बस्न मन लाग्यो। मैले आशाकाजीसँग थप कुरा बुझेर अमिरसँग सल्लाह गरेँ। अमिर पनि यही नै सोच्दै रहेछ। नेपालीहरूले नै असाइलाम प्रोसेस गराइदिने थाहा पाइयो।

एकजना रिट्ठे भन्ने बुझक्कड र पाको मानिस हुनुहुँदो रहेछन्। उनले असाइलमको कागजात मिलाइ दिएर तयार पार्दा रहेछन्। मैले र अमिरले नेपालबाट कागजात मगायौँ रिट्ठे दाइको सल्लाहमा। उनले निवेदन दिन ६ हजार डलर लाग्छ भने। ‘जाबो फारम भरेर कागजात मिलाएर पेश गर्नको लागि तयार पारिदिन त्यत्रो पैसा’ हामीले भन्यौ। त्यसपछि रिट्टे दाइ जङ्गिए ‘त्यसो भए जाओ न त वकिलकहाँ कति ठटाउँछ।’

रिट्ठे दाइले अरु काम गरेको देखिदैनथ्यो। पहिले गर्थे कि त्यो हामीलाई थाहा भएन। उनको कमाइ खाने भाडो नै यो रहेछ असाइलम गराइदिने। असाइलम पास भएपनि नभएपनि नगद चाहिँ बुझाउनै पर्नेरहेछ रिट्ठे दाइलाई। रिट्ठे दाइ माछा जालमा पार्न पनि निकै सिपालु रहेछन्। हामीलाई पैसा बुझाउन बाध्य पारे।

असाइलम पास भएको दिन अमिर र मैले सिंहले जस्तै सम्पूर्ण शरीर बिराट पारी फैलायौँ। लाग्यो हामी अब अमेरिकाकै राजा हौँ। अब हामीलाई कस्ले छुन्छ। अमिर र मैले पनि ग्रीनकार्ड पाउन असाइलमको सहारा लियौँ। ठीक गर्यौं कि बेठीक गर्यौं त्यो अहिलेसम्म पनि हामीलाई थाहा छैन। तर अमेरिकाको ग्रीनकार्डधारी भयौँ। अमेरिकाको सम्पूर्ण सुविधा भोग्न पाउने भयौँ।

ग्रीन कार्ड पाएपछि हाम्रा सपनामा पनि बदलिए। व्यापार गरेर, पैसा चाँडो कमाउन आफ्नै व्यवसाय चलाउन मैले र अमिरले पार्टनर्सिपमा इम्पोर्टसको बिजिनेस शुरू गर्यौं। यो व्यवसायमा धेरैले राम्रो सम्पत्ति आर्जन गरेकोले हामी पनि निर्धक्क थियौँ। भनेजस्तै दिन प्रतिदिन व्यापार बढ्दै गयो। सोचेजस्तै आम्दानी पनि हाम्रो बढ्दै गयो। एक दुई जनालाई जागिर दिएर काम गर्न पनि राख्यौँ। अब हामी पनि पैसा खेलाउन थाल्यौँ। लेनदेनको कारोबारमा हामी व्यस्त हुन्थ्यौँ।

पैसा, पैसा अनि पैसा। मेरो दिमागभरि पैसा मात्र घुम्थ्यो। अब मैले दुःख बिर्सिएँ। उहिलेको कुरो सबै खुइलियो। लाख डलरभन्दा कमको कुरै हुँदैनथ्यो।

पैसा भएपछि कोभन्दा को पैसावाल भन्ने द्वन्द्व चल्न थाल्यो। घर पनि कसकोभन्दा कसले ठूलो किन्ने भन्ने कम्पिटिसन हुनथाल्यो। अमिर चाहिँ पैसाको दुरूपयोग गर्नु हुँदैन, फजुल खर्च नगर भनेर मलाई सम्झाउँथ्यो। अमिर धेरै बुझ्ने र दयालु प्रवृतिको थियो। तर मैले अमिरको कुरो सुनिनँ। महंगो अपार्टमेन्टमा मेरो बास हुन थाल्यो। बुवा आमालाई पैसा पठाएर ऋण पनि चुक्ता भइसकेको थियो। बुवा आमालाई हेरचाह गर्न मानिस राख्न र बुवा आमाको इच्छा मुताविक सबै पुर्याइदिन म सधैँ फोन गरेर भन्थें। तर बुवा आमा मान्नुहुन्नथ्यो। ‘बाबु हामीलाई केही चाँहिदैन, तँ राम्ररी खानु, स्वास्थ्यको खयाल गर्नु’ बुवा आमाको जवाफ सधैँ उस्तै हुन्थ्यो।

पैसाले मलाई मात लाग्न थाल्यो। अमिरलाई मैले पैसाको मामलामा शङ्का गर्न थालेँ। आखिरमा अमिरको पनि पचास प्रतिशतको शेयर थियो। तर मैले पाईपाईको हिसाब अमिरसँग खोज्न थालेँ। अमिरले पैसाको हिनामिना गरेजस्तो लाग्न थाल्यो। अमिर मलाई सम्झाउन खोज्थ्यो तर मलाई अमिरको हरेक क्रियाकलाप मन पर्न छोड्यो।

एकदिन मैले उसलाई भन्नु नभन्नु भनेर गाली गरेँ-अमिर, तँ धोकेवाजसँग म आजैदेखि बिजिनेस पार्टनरसिप तोड्न चाहन्छु। अमिरले एक वचन फर्काएन। त्यसपछि अमिर विजनेसमा आउन छोड्यो। उसको यो बिजनेसको आधा भाग माग्न तुरून्त आउला जस्तो लागेको थियो। तर आज, भोलि, पर्सि गर्दागर्दै उ आएन। अनि उसँग भेट हुन छोड्यो। यस्तो लाग्यो अमिर अब यो बिजनेसमा छैन, यो ठाउँमै छैन।

नेपालबाट आमाले फोन गर्नुभयो। आमा आत्तिनु भए जस्तो लाग्थ्यो। मैले जवाफमा भनें-आमा म आउन मिल्दैन, मैले अमेरिकाको ग्रीनकार्ड पाएको छु। मलाई मेरो ग्रीनकार्डले गर्दा आउन मिल्दैन।

‘हैन बाबु, बुवा साह्रै बिरामी हुनुहुन्छ, डाक्टरले यहाँ रोगको उपचार हुँदैन भारत लैजानु भनेको छ’ आमाले बुवाको हाल सुनाउनु भयो। आमालाई के थाहा मेरो असाइलम गरेकोले तुरून्त नेपाल जान मिल्दैन भनेर। ‘बाबु, तँ कसरी बदलिस्। तँलाई बुवाको माया लाग्दैन। बुवा यस्तो बिरामी हुनुहुन्छ, तँलाई बुवाभन्दा ग्रीनकार्ड प्यारो भोु उता घुक्कघुक्क गरेको सुनियो। शायद आमा फोनमै रूनथाल्नु भयो। मैले यताबाट, ‘नरूनु आमा भन्न खोज्दा उता फोन कटिइसकेको थियो। आमाको बोली कटिइसकेको थियो। केवल एकोहोरो इनगेज टोन मात्र बजिरह्यो।’

त्यसपछि मैले कति फोन गरेँ आमालाई। फोन लाग्दैनथ्यो। एकदिन दुईदिन गर्दै धेरै दिन बिते। यो के भयो? किन बुवाआमासँग सम्पर्क हुन सकेन? मलाई पनि छट्पटी हुनथाल्यो।

एकातिर मेरो बिरामी बुवा अनि आमा, अर्कोतिर मेरो ग्रीनकार्ड। म दोधारमा परेँ। तीन महिनापछि आमाको फोन आयो। ‘बाबु, तँलाई कस्तो छ। स्वास्थ्यको त राम्रो विचार गर्दैछस् हैन?’

‘आमा, बुवालाई कस्तो छरु मैले कति फोन गरें कन्ट्याक्ट नै भएन, म त धेरै आत्तिएको थिएँ, आमा। अनि हालखबर के छ?’ मैले एकै श्वासमा भनें।

‘बाबु, हामी त मेदान्त अस्पताल, दिल्ली गएका थियौँ। बुवालाई पनि बिसेक हुँदैछ। तँ पीर नगर।’

‘अनि बुढाबुढी मान्छे मात्र कसरी जानु भयो? कल्ले लग्यो? के गर्नु मेरो मजबुरी, म आउन पाइनँ’ मैले भनें।

‘तेरो साथी अमिर हामीलाई भेटन आएको थियो अमेरिकाबाट। अनि बुवा साह्रै बिरामी देखेर तुरून्त भोलिपल्टै हामीलाई दिल्ली लिएर गयो र बुवाको उपचार गराइदियो। तेरो साथी अमिर त कति राम्रो रहेछ’ आमाले भन्नुभो।

‘अनि अमिर कहाँ छ त उसले मेरो बारेमा केही भन्यो?’ मलाई डर लागेको थियो मेरो बारेमा के के नराम्रो भन्यो होला भनेर।

‘प्रभुको अमेरिकामा एकदम राम्रो छ, सञ्चै छ। बिजनेस पनि राम्रो चलेको छ भन्यो, हामी बुढाबुढीलाई धेरै खुसी लाग्यो। तेरो मिल्ने साथी मलाई के सोध्छस् तँ पनि त बात मार्छस् होला नि उसँग। अहिले उ गाउँतिर गएको छ। अलिदिन पछि आउँछु भनेको छ। अब उ त अमेरिका नफर्किने रे।’

मैले अमिरसँग बालककालदेखि अमेरिकाको ग्रीनकार्ड पाएर बसेसम्मका प्रत्येक दिनका सुखद क्षणहरु सम्झिरहेँ। अमिरसंगको मेरो फोटो खोजें, एउटै बाँकी रहेनछ, सबै च्यातेर फ्याँकी सकेको रहेछु। मेरो मनमा, सम्झनामा अमिरले मुस्काएर मलाई ‘दुःख नमान प्रभु म सधैँ तेरो सच्चा मित्र हुँ’ भनिरह्यो। भित्तामा मेरो बुढा भएका बुवाआमाको फोटो हावाले हल्लाइरहेको थियो। टेबलमाथि मेरो ग्रीनकार्ड मलाई हेरेर गिज्याइरहेको थियो। मैले झ्यालबाट बाहिर हेरेँ अनि अमिरलाई सम्झिरहेँ। मेरा दुबै आँखा रसाएर आए। साभार: सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah