वाम गठबन्धनबाट गोरखा क्षेत्र नं २ का उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालका कम्युनिष्ट पार्टी विभाजित भई फरकफरक पार्टीमा हुँदा अन्य दलले फाइदा लिएको बताएका छन् ।
दुईतिहाईभन्दा बढी जनमत कम्युनिष्टको भए पनि पार्टी विभाजित हुँदा काँग्रेसलगायत दलले फाइदा लिँदा देशको विकास नभएको उनको भनाइ छ ।
गोरखाको सिरानचोक २ थालाजुङमा आज आयोजित घरदैलो कार्यक्रममा नेता श्रेष्ठले भने, ‘लड्ने कम्युनिष्टहरु, रगत बगाउने कम्युनिष्टहरु, संविधान बनाउने कम्युनिष्टहरु, दुईतिहाई जनता कम्युनिष्ट छन् तर पार्टीहरु विभाजित हुँदा अर्कैले सरकार बनायो ।’
निर्वाचन लगत्तै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरिने बताउँदै उहाँले अब नेपाल कम्युनिष्ट पार्टी भन्ने एउटै कम्युनिष्टको पार्टी हुने दाबी गरे ।
रासस



