बिष्णुप्रसाद पोखरेल
दमक/अहिले हार्ने उम्मेदवारहरु पीडाले रोइरहेका होलान्, सायदै भित्र मनभरी पीडा साँचेर भएपनि बाहिर हासिरहेका होलान् तर झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा जितेर पनि राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन शनिबार रोए । भावुकमात्र बनेनन् आँखाबाट आशु झारे पनि ।
आफ्नै पार्टी अध्यक्ष सहभागि भएको कार्यक्रममा भाषण गर्दागर्दै मञ्चमा नै लिङ्देनको बोली अवरुद्ध पनि भयो । कार्यक्रमा सहभागिहरुको अनुहार पनि एकाएक बादल झै मडारियो ।
देशभर राप्रपाबाट एकमात्र बिजेता बनेका लिङ्देनको सम्मानमा राखिएको कार्यक्रममा पार्टी अध्यक्ष कमल थापालाइ देख्नसाथ लिङ्देनका आँशु झर्न थालिसकेका थिए । अंगालोमा पर्दा त उनि थामिन सकेनन् । दुबैजना एकछिन भावुक बने । अरु देख्नेहरु पनि चुइक्क केहि बोलेनन्, एककाहोरो यि दृश्यहरु हेरिरहे ।
लिङ्देनले भावुक हँुदै आफ्नो भनाइ राख्न शुरु गरे । उनले पार्टी अध्यक्ष कमल थापाले राजिनामा दिनु पर्दैन, यहि नेतृत्वमा पार्टी अघि बढाउनु पर्छ भन्दा त्यसभन्दा अगाडि उनी बोल्न सकेनन् । त्यसपछि निक्कै कठिन गरी बोले ।
उनले भने–‘अध्यक्षले राजिनामा दिनुपर्छ भन्ने होइन, उहाँको नेतृत्वमा नै अघि बढ्नु पर्छ ।’ लिङ्देनले आफू पार्टी छाड्ने लगायतका बिषयमा भ्रम छरिएको भन्दै त्यसमा सत्यता नरहेको पनि स्पष्ट पारे ।
थापाले भने रुन्चे हाँसो देखाइरदा लिङ्देनको अनुहार भने कालो नै बनेको थियो । उनलाई पार्टीको इज्वत राखेको भन्दै पार्टी अध्यक्ष सहित राप्रपाका नेता कार्यकर्ताहरुले बधाइ दिएका थिए ।



