काठमाडौं– कृषि विकास बैंकमा भएको करिब ५ करोड अनियमितता प्रकरणमा बैंकका एक पूर्वकर्मचारीलाई पनि प्रहरीले पक्राउ गरेको छ। बैंकका अवकाशप्राप्त अधिकृत सलिल रेग्मीलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले बुधबार पक्राउ गरेको हो।
बैंकको घोटालामा सलिलको समेत संलग्नता देखिएपछि पक्राउ गरिएको सिआईबीका एसपी जीवक कुमार श्रेष्ठले बताए । उनी बैंकको इलेक्ट्रोनिक्स चेक क्लियरीङ शाखामा काम गर्दा अनियमिततामा घोटालाका प्रमुख योजनाकार दिपिका रेग्मीलाई सहयोग गरेको सिआईबीले जनाएको छ।
कृषि बिकास बैंकको न्यूरोड शाखाबाट ४ करोड ९१ लाख रुपैयाँ घोटाला भएको घटनाको सिआईबीले अनुसन्धान गरिरहेको छ । जसमा बैंकका पाँच कर्मचारीसहित ६ जनालाई सिआईबी हिरासतमा छन्।
दिपिकासहित प्रहरीले न्यूरोड शाखाका निमित्त शाखा प्रबन्धक प्रेमहरी ढुङगेल, इसिसी विभागका प्रमुख गोपाल गिरी, कर्जा शाखाका प्रमुख विनिता मरहठ्ठा तथा पियन रमेश थापालाई सिआईबीले यसअघि नै पक्राउ गरिसकेको छ । त्यस्तै सुन पसले प्रकाश घतानीलाई प्रहरीले पक्राउ गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान अघि बढाएको छ।
अन्तरशाखा कारोबार हिसाब ‘क्लियरीङ’ को रकम पेन्डिङमा राखेको देखाई उक्त रकम दिपिकाले आफुले राख्ने गरेकी थिइन्। करिब एक वर्षअघिदेखि उनले पटक पटक गरेर बैंकमा घोटाला गरेको अनुसन्धानमा खुलेको छ । बैंकको आन्तरीक छानबिनमै उक्त कुरा खुलेपछि सिआईबीमा उजुरी गरिएको थियो। नेपाल लाइभमा खबर रहेको छ।

आफन्तहरु पनि छानबिनमा
घोटालाको रकम उनले केही आफन्तहरुको खातामा राखेको पाइएको छ। प्रहरीले ती आफन्तहरुमाथि पनि छानबिन गरिरहेको छ। ठगी गरेको मध्ये करिब ३२ लाख रकम नेपाली सेनाका सहायक रथी डा.रमेश बिष्टको खातामा भेटिएको छ । डा.बिष्टमाथि सेनाले आन्तरीक छानबिन गरिरहेको छ । दिपिकाका अन्य केही आफन्तहरुसँग समेत बैंकमा अनियमितता गरेको रकम फेला परेपछि उनीहरुमाथि पनि छानबिन अघि बढाएको छ।



