एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन बन्नेबित्तिकै कांग्रेसले दुई फोरम, राजपा, दुई राप्रपासँग लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा जाने रणनीति बनाएको थियो । गठबन्धन बनाउन ६ दलको कार्यदल पनि बन्यो । पटक–पटक वार्ता र संवाद पनि भए, तर कांग्रेसले सोचेजसरी लोकतान्त्रिक गठबन्धन बन्न सकेन । प्रतिनिधिसभाका एक सय ६५ मध्ये वाम तालमेलका आधारमा एमालेले ८० र माओवादीले ३६ सिट जित्यो । तर, कांग्रेस भने २३ सिटमै खुम्चिन पुग्यो । नयाँ पत्रीकामा खबर रहेको छ।

चुनावी तालमेल गर्न नसक्दा कांग्रेस, राजपा र फोरमले लगभग जित पक्का हुने १८ वटा सिट गुमाएका छन् । जसमा मोरङका दुई, प्रदेश नम्बर २ का पाँच जिल्लाका सात सिट, प्रदेश ५ का तीन जिल्लाका पाँच सिट र प्रदेश नम्बर ७ का कैलालीका तीन र कञ्चनपुरका एक सिट गरी चार सिट छन् । कांग्रेस, संघीय समाजवादी फोरम र राजपाको गठबन्धनबीच तालमेल नहुँदाको फाइदा पूर्वको मोरङदेखि पश्चिमको कञ्चनपुरसम्म एमाले र माओवादीले उठाए ।

चुनावी तालमेलका लागि कांग्रेसबाट कार्यदलमा विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा. मिनेन्द्र रिजाल सदस्य थिए । यीमध्ये निधि धनुषा–३ बाट राजपाका नेतासँगै पराजित हुन पुगे । कार्यदलको संयोजक भएरसमेत उनले प्रदेश नम्बर २ मा तालमेल गराउन सकेनन् । तराईका सबै जिल्लामा नभए पनि आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्ने तयारी यी दुई पक्षले गरे । तर, यो प्रयास पनि सफल भएन । राजपा र फोरमले आपसमा मिलेर उम्मेदवारी दिँदा ३२ मध्ये १९ सिट जिते । बाँकी १३ सिटमा कांग्रेसले ६, माओवादीले पाँच र एमालेले दुई सिटमा जित हात पार्‍यो ।

तालमेल गरेर उम्मेदवार मिलाउन सकेको भए माओवादी र एमालेले जितेका सात सिट कांग्रेस र राजपा–फोरमको पक्षमा आउने दलहरूले पाएको मतको अनुपातले देखाउँछ । सबै ठाउँमा चुनावी तालमेल हुन नसके पनि कांग्रेसले राजपा नेता महन्थ ठाकुरलाई महोत्तरी ३, उपेन्द्र यादवलाई सप्तरी २ छाडिदिएको थियो । तर, आफ्ना उम्मेदवारलाई कुनै पनि निर्वाचन क्षेत्रमा फोरम र राजपाको सहयोग लिएन÷लिन सकेन । चुनावी तालमेलमा कांग्रेसले सहयोग गरेका दुवै राप्रपाका चार–चारजना उम्मेदवार पराजित हुन पुगे ।

प्रदेश नम्बर १ मा दुई–दुई सिट गुम्यो
मोरङ ५ : माओवादीका शिवकुमार मण्डल २२ हजार नौ सय ४५ मत ल्याएर विजयी भए । कांग्रेसका अमृत अर्यालले १९ हजार एक सय ५३ मत पाए । उनी तीन हजार सात सय ९२ मतान्तरले पराजित भए । जब कि फोरमका राजकुमार यादवले १८ हजार ६ सय ४९ मत ल्याए । तालमेल हुन सकेको भए अर्याल पनि विजयी हुन्थे ।

मोरङ ६ : एमालेका लालबाबु पण्डित ३३ हजार नौ सय ४१ मत ल्याएर विजयी हुँदा कांग्रेसका डा. शेखर कोइराला ६ सय ७५ मतान्तरले पराजित भए । कोइरालाले ३३ हजार दुई सय ६६ मत पाए । तर, फोरमका राजेश्वर विश्वासले पाँच हजार दुई सय ६१ मत ल्याए । फोरमसँग तालमेल हुन सकेको भए कोइराला सहजै निर्वाचन जित्न सक्थे ।

प्रदेश नम्बर २ मा सात सिट घाटा
सिरहा २ : माओवादीका सुरेशचन्द्र दास २० हजार एक सय ४८ मत ल्याएर विजयी भए । फोरमका शत्रुधनप्रसाद सिंहले १७ हजार दुई सय ६० मत ल्याए । उनी दाससँग दुई हजार आठ सय ८८ मतले पराजित भए । तर, कांग्रेसका रामचन्द्र यादवले १५ हजार पाँच सय ९७ मत ल्याए । कांग्रेसले फोरमका सिंहलाई सघाएको भए उनी सजिलै निर्वाचित हुने देखिन्छ ।

सिरहा ३ : एमालेका लीलानाथ श्रेष्ठ २३ हजार दुई सय ७२ मत ल्याएर विजयी हुँदा फोरमका अशेश्वर यादव दुई हजार ५२ मतले पछि परे । उनले २१ हजार दुई सय २० मत मात्र ल्याउन सके । तर, कांग्रेस उम्मेदवार अमर रेग्मीले ११ हजार सात सय ७८ मत ल्याए । कांग्रेसले फोरमका यादवलाई सघाएको भए एमालेका श्रेष्ठ पराजित हुने थिए ।

धनुषा १ : माओवादी केन्द्र मातृका यादव २६ हजार ४१८ मत ल्याएर विजयी हुँदा फोरमका दीपक कार्की १७ हजार दुई सय ९६ मतमा सीमित भए । सो क्षेत्रमा कांग्रेसका आनन्द ढुंगानाले १५ हजार ६ सय ७९ मत ल्याएका छन् । तालमेलमा कांग्रेसले फोरमका कार्कीलाई भोट हालेको भए माओवादीका यादव सहजै पराजित हुने देखिन्छ ।

धनुषा ४ : एमालेका रघुवीर महासेठ २२ हजार पाँच सय ३२ मत ल्याएर विजयी हुँदा कांग्रेसका महेन्द्र यादव दुई हजार पाँच सय ४१ मतले पछि पर्दै १९ हजार नौ सय ९१ मतमा सीमित हुन पुगे । तर, फोरमका महाजन यादवले १९ हजार ६ सय ६२ मत ल्याए ।

महोत्तरी १ : माओवादी केन्द्रका गिरिराजमणि पोखरेल २३ हजार सात सय ७६ मत ल्याएर विजयी हुँदा फोरमका लक्ष्मी महतो चार हजार दुई सय ८४ मतले पछि पर्दै १९ हजार चार सय ९२ मतमा समेटिए । यो क्षेत्रमा कांग्रेसका सीताराम भण्डारीले नौ हजार चार सय ७५ मत ल्याएका छन् । तालमेल भएको भए यहाँ माओवादीका पोखरेल पराजित हुने देखिन्छ ।

सर्लाही ३ : माओवादीका रामेश्वर राय यादव २२ हजार तीन सय ६७ मत ल्याएर विजयी हुँदा कांग्रेसका हरेशप्रसाद महतो १४ हजार नौ सय २९ मतमा समेटिए । उनी सात हजार चार सय ३८ मतले पराजित हुन पुगे । फोरमका अशोककुमार सिंहले भने १० हजार आठ सय ३४ मत ल्याएका छन् । तालमेल हुन सकेको भए कांग्रेसका महतोले सहजै निर्वाचन जित्ने देखिन्छ ।

रौतहट ३ : माओवादीका प्रभु साह २७ हजार सात सय ९९ मत ल्याएर विजयी हुँदा कांग्रेसका सुनील यादव नौ हजार पाँच सय ९३ मतले पछि परे । उनले १८ हजार दुई सय ६ मत पाए । तर, राजपाका ओमप्रकाशले १४ हजार ६ सय ५८ मत ल्याए । कांग्रेस र राजपा मिलेको भए यहाँ पनि माओवादीका साह पराजित हुन्थे ।

प्रदेश नम्बर ५ मा पाँच सिट गुम्यो
रूपन्देही १ : एमालेका छविलाल विश्वकर्मा ३४ हजार सात सय ५२ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका अब्दुल रज्जाक गद्दीले २६ हजार आठ सय ८५ मत ल्याए । उनी सात हजार आठ सय ६७ मतले पछि परे । तर, फोरमका विद्याप्रसाद यादवले १२ हजार सात सय ६४ र राजपाका चन्द्रभान तिवारीले दुई हजार तीन सय ७४ मत ल्याए । यहाँ कांग्रेस र राजपा, फोरम मिलेको भए एमालेका विश्वकर्मा सहजै निर्वाचन हार्ने देखिन्छ ।

रूपन्देही ३ : एमालेका घनश्याम भुसाल ३२ हजार आठ सय ६६ मत ल्याएर विजयी भए । यो क्षेत्रमा कांग्रेससँग तालमेल गरेका राप्रपाका दीपक बोहरा २७ हजार चार सय ४२ मतमा सीमित हुन पुगे । उनी पाँच हजार चार सय ४४ मतले पराजित भए । तर, समाजवादी फोरमका महेन्द्र यादवले १२ हजार पाँच सय ३६ मत ल्याएका छन् ।

कपिलवस्तु १ : माओवादीका चक्रपाणि खनाल २९ हजार सात सय ९९ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका दीपकुमार उपाध्याय २८ हजार आठ सय ५३ मत ल्याउँदै नौ सय ४६ मतले पराजित भए । यो क्षेत्रमा फोरमका अब्दुल रसिद खाँले ११ हजार आठ सय १२ मत ल्याएका छन् । फोरमसँग तालमेल हुन सकेको भए उपाध्याय सहजै चुनाव जित्थे ।

कपिलवस्तु २ : एमालेका बृजेशकुमार गुप्ता ३५ हजार एक सय ४७ मत ल्याएर विजयी भए । कांग्रेसका सुरेन्द्र आचार्यले ३१ हजार पाँच सय ६६ मत ल्याएर तीन हजार पाँच सय ८१ मतले पछि परे । जब कि यो क्षेत्रमा राजपाका शुत्रुधनविलाससिंह कुर्मीले दुई सय ४८ र फोरमका रामनेवास यादवले एक हजार सात सय ७४ मत ल्याएका छन् । यहाँ एमालेबाहेक यी तीन दलमध्ये एकको मात्र उम्मेदवारी परेको भए गुप्ता पराजित हुन सक्थे ।

बाँके १ : माओवादीका महेश्वरजंग ३१ हजार एक सय ७३ मतले विजयी हुँदा कांग्रेसका माधवराम खत्री दुई हजार नौ सय ५६ मतले पराजित भए । उनले २८ हजार दुई सय १७ मत ल्याए । फोरमका लालबहादुर शाहले चार हजार पाँच सय ८८ मत ल्याएका छन् । तालमेल नहुँदाको असर यहाँ पनि देखिन्छ ।

प्रदेश नम्बर ७ मा चार सिट गुम्यो
कैलाली २ : एमालेका झपट रावल २५ हजार एक सय ५७ मत ल्याएर विजयी हुँदा कांग्रेसका मोहनसिंह राठोर एक हजार आठ सय ४४ मतले पछि परे । उनले २३ हजार तीन सय १३ मत मात्र ल्याए । जब कि यो क्षेत्रमा राजपाका रामप्रसाद चौधरीले पाँच हजार नौ सय ६७ मत प्राप्त गरे । कांग्रेस र राजपाबीच तालमेल हुन सकेको भए नतिजा अर्कै आउन सक्थ्यो ।

कैलाली ३ : माओवादीका गौरीशंकर चौधरी २४ हजार आठ सय ७९ मत ल्याएर विजयी हुँदा कांग्रेसका रामजनम चौधरी चार हजार तीन सय ८५ मतले पछि परे । उनले २० हजार चार सय ९४ मत ल्याए । राजपा उम्मेदवार मिना चौधरीले चार हजार ४४ र फोरमका भानुराम भगौरा थारूले आठ २२ मत प्राप्त गरे । राजपा र फोरमको मत कांग्रेसलाई गएको भए चौधरीले सहजै निर्वाचन जित्ने देखिन्छ ।

कैलाली ५ : एमालेका नारदमुनि राना २७ हजार दुई सय दुई मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसकी आरजु राणाले २२ हजार तीन सय २२ मत मात्र ल्याइन् । उनी चार हजार आठ सय ८० मतले पछि परिन् । जब कि राजपाका लक्ष्मण थारूले ६ हजार सात सय ४७ मत ल्याए । राजपाले सघाएको भए आरजुले सहजै निर्वाचन जित्ने देखिन्छ ।

कञ्चनपुर ३ : एमालेका दीपकप्रकाश भट्ट २६ हजार तीन सय ६४ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेस नेता रमेश लेखकले २६ हजार एक सय ६ मत ल्याए । उनी दुई सय ५८ को झिनो मतान्तरले पराजित भए । यो क्षेत्रमा राजपाका रुबी जैरुले एक सय ९६ र फोरमका मोहनबहादुर शाहीले एक सय एक मत ल्याए । यी दुई दलको मत लेखकलाई गएको भए उनले निर्वाचन जित्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah