एमाले उपाध्यक्ष तथा वाम गठबन्धनका सूत्राधार वामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ बाट पराजीत भएपछि एमाले पंक्तिभित्र खैलाबैला मच्चिएको छ । गएको स्थानीय तहको निर्वाचनमा बर्दियाका १ का चार स्थानीय तहमा वाम गठबन्धनले ल्याएको मत नेपाली कांग्रेसको भन्दा २९ हजार ६ सय बढी हुादाहुँदै गौतम ७ सय ५३ मतले पराजीत कसरी पराजीत हुन पुगे भन्ने जिज्ञासा देशभरका एमाले नेता कार्यकर्ताले राखिरहेका छन् ।
पार्टी पंक्तिलाई निर्वाचनको कुनै पनि जिम्मेवारी नदिनु वामदेव पराजयको मुख्य कारण भएको बर्दियाका एमाले कार्यकर्ता बताउँछन् । चुनावी सांगठनिक संरचना नै हारको मुख्य कारण मानिएको छ । वामदेवले आफूपछि छोरा हरिसदेव गौतमलाई बर्दियामा स्थापित गराउने प्रयासलाई पनि हारको कारण मानिन्छ । श्रीमती तुलसा थापालाई समानुपातिकमा राख्नु, मनमोहन अधिकारीले बृद्धभत्ता दिन मानेका थिएनन् मैले दिएको हुँ भन्ने भाषण गर्नुलाई पनि एमालेले रुचाएनन् । वाम गठबन्धन मैले बनाएको हुँ जसको नीति उसको नेतृत्व हुन्छ, अब पार्टी अध्यक्ष र प्रधानमन्त्री मै हुँ, माधव नेपालले समर्थन गरिसकेका छन्, प्रचण्डले पनि गर्छन् भन्ने भाषण पनि वामदेवका लागि प्रत्युत्पादक बन्न पुगेको छ । अघिल्लो चुनावमा बर्दिया छाडेर प्यूठान जानुको कारण पनि हारमा सहायक मानिएको छ ।
चुनावमा हरिसले आर्थिक परिचालन जसरी गरे, त्यसले पनि उनी अब बर्दियामा बाबुपछि राजनीति गर्न आउँदैछन् भन्ने संकेत दिन गरेका थिए । पुत्रमोहका कारण धृतराष्ट्रले हस्तिनापुर राज्य गुमाएका थिए भन्ने हेक्का वामदेवले राख्न नसक्नु अर्को कमजोरीका रुपमा लिइएको छ । वामदेवले कोअर्डिनेशन केन्द्रदेखि २०७४ सम्म कसैलाई पनि बर्दियाबाट राजनीतिमा माथि उठ्न दिएका छैनन् । अब छोराका लागि मैदान खाली गर्न बर्दियाका संभावना भएका नेताहरुलाई पन्छाउने हिसाबले चुनाव परिचालनमा कसैलाई नराखेकै कारण उनी पराजीत हुन पुगेको निष्कर्ष बर्दिया एमालेका नेता कार्यकर्ताले गरेका छन् ।
वामदेवले आफ्नै नेतृत्वमा चुनाव परिचालनको हाइकमाण्ड बनाए । हाइकमाण्डमा बर्दियाबासीले नचिनेका चितवनका हरि पराजुलीलाई आर्थिक परिचालन, धादिङका बलराम बाँस्कोटा किसान परिचालन, लमजुङका डीबी कार्की युवा तथा विद्यार्थी पचिालन, कास्कीका शारदा सुवेदीलाई अनुगमनमा राखियो । बर्दियासँग साइनो भएका दुई जना श्रीमती तुलसा थापा महिला परिचालन र प्रचारमा लक्ष्मण ज्ञवालीलाई राखेर हाइकमाण्ड बनाएका थिए । तर यो हाइकमाण्डमा जिल्ला जिल्ला इन्चार्ज गौरा प्रसाईलाई वामदेवले राखेनन् । हाइकमाण्डमा जिल्लाका निवर्तमान सांसद श्याम ढकाल र अरु प्रभावशाली नेताहरु कोही पनि अटाएनन् । यी अनुहारमा अधिकांश बर्दियाबासीले नचिनेकाहरुको मात्र बाहुल्य थियो ।
बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिका समेत ४ वटा स्थानीय तहमा ३ जना माओवादी केन्द्रका नेता र २ जना एमाले नेता रहेको चुनाव परिचालन कमिटी बनाइएको थियो । बाँसगढी नगरपालिकाका मेयर शालिग्राम अधिकारी, बारबर्दियामा सचिवालय सदस्य पद्म ढकाल, गुलरियामा हरि ज्ञवाली, बढैयातालमा लालबहादुर श्रेष्ठ(पार्टीउपाध्यक्ष) लाई चुनाव परिचालन समितिमा राखियो । तर जिल्लाका पदाधिकारीहरु सदस्य रहेको परिचालन कमिटीमा संयोजक जिल्ला सचिवालय सदस्य पूर्ण शर्मालाई बनाइएको थियो । यसरी हाइकमाण्ड र स्थानीय परिचालन कमिटी कतै पनि पार्टीका कुनै पनि नेताले काम पाउन सकेनन् । १७ जना भन्दा बढी सचिवालयका सदस्य, ६० भन्दा बढी जिल्ला कमिटी सदस्य र ४ स्थानीय तहका २ सय भन्दा बढी पार्टीका अगुवा नेता कार्यकर्ताले निर्वाचन परिचालनको कुनै जिम्मेवारी पाउन सकेनन् । ४ वटा स्थानीय तहका १२ जनाले मात्र निर्वाचनमा जिम्मेवारी पाएका थिए ।
यति ठूलो पार्टी पंक्तिले पार्टी जिताउन कुनै भूमिका पाउन सकेन । वामदेवसँग राजनीतिक रुपमा असहमतलाई आफ्नै वडामा सीमित भएर काम गर्न निर्देशन दिइयो । निवर्तमान सांसद श्याम ढकाललाई बाँसगढी ९ वडामै सीमित हुने निर्देशन दिइयो । उनलाई कहीँ पनि बोल्न दिइएन । केन्द्रीय युवा तथा खेलकुद विभागका सचिव दामोदर अर्याललाई बढैयाताल गाउँपालिका (साविक जमुनी गाविस) १ र २ मै रहन निर्देशन दिइएको थियो । पंचायतकालमै पार्टीले गुल्मीबाट पार्टी कामका लागि बर्दियामा खटाएकी तर वामदेवका कारण अवसर कहिल्यै नपाएकी शोभा ज्ञवालीलाई त वडामा समेत जिम्मेवारी दिइएन ।
२०४८ देखि जित्दैआएका गौतमको क्षेत्रमा कहीँ पनि पिच सडक नबनाएको कुरामा समेत मतदाता रुष्ट थिए । २ नम्बर क्षेत्र खोलापारी अधिकांश सडक पीच छ, तर पटक पटक उपप्रधानमन्त्री भएका गौतमको खोलावारी कहीँ पीच छैन । यसको जवाफ पनि वस्तुगत रुपले उम्मेदवारले दिन नसकेका कारण मतदाता बिच्किन पुगे ।
वाम गठबन्धनको मत यति धेरै हुँदा पनि पराजीत भएपछि गौतमले बर्दिया एमालेका ८ जना नेता कार्यकर्तामाथि अन्तर्घातको आरोप लगाएका छन् । केन्द्रीय युवा तथा खेलकुद विभागका सचिव दामोदर अर्याल, खड्गबहादुर खड्का, निवर्तमान सांसद श्याम ढकाल, शोभा ज्ञवाली लगायत ८ जनामाथि अन्तर्घातको आरोप लगाइएको छ ।
बैजनाथ चौधरीको संयोजकत्वमा प्रदेशस्तरीय छानबिन समिति बनाएर कारबाहीको लागि सिफारिस समेत गर्ने तयारी भइरहेको छ । वामदेव गौतम पक्षले अन्तर्घातको आरोप लगाएका दामोदर अर्यालको बढै्रयाताल गाउँपालिकाबाट वामदेव गौतमले कांग्रेस भन्दा १३७६ मत बढी पाएका छन् । एमालेले बढैयातालको १ नम्बर वडाबाट १५२९ र २ बाट १६७६ मत गरी ३२०५ मत प्राप्त गरेको छ । कांग्रेसका उम्मेदवारले बढैयातालबाट जम्मा १९१४ मत पाएका छन् । वामदेव गौतमका अति निकट र चुनाव परिचालन कमिटीमा राखेका शालिकराम अधिकारीको बाँसगढी नगरपालिकामा स्थानीय तहमा वाम गठबन्धनले १६६४७ मत पाएका थिए । नेपाली कांग्रेसले ६४७८ मत प्राप्त गरेको थियो । स्थानीय तहको मतलाई आधार मान्ने हो भने वामदेव गौतमले बाँसगढीबाट कांग्रेसको भन्दा १०१६९ मत बढी पाउनुपर्ने हो । तर बाँसगढीमा वामदेव गौतमको भन्दा कांग्रेसले ६१५ मत बढी पायो ।
बारबर्दिया नगरपालिकामा वाम गठबन्धनको मत १९६८७ थियो भने कांग्रेसको ८१९९ मात्र थियो । यहाँबाट वामदेवले ११ हजार ४ सय ८८ मतले अग्रता हासिल गर्नुपर्नेमा १८०९ मतले मात्र लिड गर्न पुगे । यहाँको ९६७९ वाम मत कहाँ गयो ? वामदेवका निकट र उनले जिल्लाका पदाधिकारीभन्दा माथि राखेर चुनाव परिचालन कमिटीको संयोजक बनाइएका पूर्ण शर्माले बारबर्दियाको चुनाव परिचालनको जिम्मा लिएका थिए ।
एमाले पार्टी अध्यक्ष हरि ज्ञवालीको गुलरिया नगरपालिका स्थानीय तहमा एमाले कांग्रेससँग ५६० मतान्तरले पराजीत भएको थियो । स्थानीय तहको चुनावमा गुलरियामा माओवादीले ४९०४ मत पाएको थियो । तर माओवादीको मतसमेत जोड्दा १९५७ मतले अग्रता हासिल गर्नुपर्ने वामदेवलाई कांग्रेसको भन्दा २८५९ कम आयो । तर तिनै हरि ज्ञवालीलाई अन्तर्घात छानबिन समितिको संयोजक बनाइएको छ ।
अग्रता हासिल गर्नुपर्ने तीनवटा नगरपालिकाका चुनाव परिचालन कमिटीमा रहेका र स्थानीय निकायका निर्वाचित मेयर समेत रहेकाहरुलाई अन्तर्घाती नठ¥याई पार्टीले कुनै जिम्मेवारी नदिए पनि अग्रता हासिल गराएको बढैयातालका दामोदर अर्याललाई दोषी करार गर्दै कारबाही गर्ने एकसूत्रीय म्यान्डेट प्रदेशस्तरीय छानबिन समितिलाई दिइएको छ । उनीहरुलाई केन्द्रबाट अर्यालसहित ८ जनाको नाम कारबाहीका लागि सिफारिस गर्नू भनिएको छ । अन्तर्घातको आरोप लागेका अर्यालले भने–‘म दुई हप्ताको लागि मात्र चुनावमा खट््न पाएँ । हरिस गौतमले प्लेन टिकट काटेर पठाएपछि म गएको हुँ । मलाई बढैयातालको जमुनीका २ वडामा हेर्नू भनियो । जमुनीमा १३७६ ले लिड ग¥यौं । बाँकी अन्यत्र हारेको कुराको मैले कसरी जवाफ दिनु ?’



