हेर्दा उनीहरु पनि वास्तविक नग्न नर्तकझैँ लाग्छन्, जो पोल वरिपरि घुमीघुमी नाचिरहेका छन्। तर ती नर्तक मानिस होइनन्, रोबोट हुन्। यसै साता अमेरिकाको लस भेगासस्थित कन्जुमर इलेक्ट्रोनिक्स शोबाट निस्किँदै गरेका दर्शकलाई मनोरञ्जन दिलाउन रोबोटहरुले ‘पोल डान्स’ गरे।
सफायर जेन्टलमेन क्लबमा रोबोटहरुसँगै वास्तविक नर्तकीहरु पनि नाचिरहेका छन्। तर जोसुकैले मानिस र रोबोटबीच स्पष्ट फरक छुट्याउन सक्छ किनभने रोबोट नर्तकको टाउको नै सर्भिलेन्स क्यामराले बनेको छ। तिनको शरीरमा पनि कार पार्ट्स प्रयोग भएका छन्।
बेलायती कलाकार गाइल्स वाकरका उत्पादन हुन्, यी रोबोट नर्तक। उनले सर्भिलेन्स, शक्ति र नग्नतालाई अभिव्यक्त गर्न यस्तो रोबोट बनाएको बताए।
क्लबका व्यवस्थापक पिटर फेन्स्टेनले आफ्नो क्लबका ग्राहकलाई विविधता दिन वाकर र उनका रोबोटलाई निम्त्याएको बताए।
‘हामीले क्लब खोलेको १८ वर्ष भयो। त्यसैले हामीले केही नयाँ कुरा दिनुपर्छ भन्ने हामीलाई लाग्यो,’ उनले भने।
रोबोटहरुको नाचले ग्राहकहरुबाट मिश्रित प्रतिक्रिया पायो। ‘मलाई लाग्छ, यो गतिलो उपाय हो,’ एक ग्राहकले भने। तर उनले आफूलाई वास्तविक मानिस मनपर्ने पनि खुलाए।
क्लबमा रोबोटसँगै नाचेकी एक नर्तकीले पनि रोबोटप्रति आफूसँग प्रतिस्पर्धाको भाव नभएको बताइन्।
‘मलाई लाग्छ, अनौठो खालका चाहना भएका थुप्रै मानिसहरु छन्, जो रोबोटप्रति आकर्षित हुन्छन्। तर वास्तविक मानिसको सुन्दरता, हाम्रो दिमागको क्षमता, हाम्रो कुराकानीको तरिका र शरीरको प्रयोगलाई कसैले जित्न सक्दैन,’ उनी भन्छिन्, ‘रोबोटले मानिसलाई हामीलेजति आनन्द दिन सक्दैन।’ एएफपी



