विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा विहिबारदेखि शुरु भएको दमक महोत्सवको प्रमुख आकर्षणको रुपमा एउटा केराको घरी बनेको छ । स्टल प्रवेसद्वारबाट छिर्न साथ ४ नम्बर स्टलमा रहेको कृषि स्टलमा रहेको केराको घरी देखेर सबै अचम्मित हुने गरेकाछन् ।
दमक नगरपालिकाको बालि शाखाको स्टलमा ६ फूट भन्दा लामो केराको घरी रहेको छ । करिब १ सय ५० काइया र १२ सयभन्दा बढि केराको कोशा रहेको घरी देखेर सबै अचम्मित मान्ने गरेको दमक नगरपालिका वालि शाखाका प्रमुख गोविन्द आचार्यले बताउनु भयो । विरलै मात्र यस्तो ठूलो केराको घरी भेटिने गरेको उहाँको भनाइ रहेको छ ।
दमक १० का किसान यामबहादुर बिष्टले यो केरा फलाउनु भएको हो । यो ‘क्यानेडियन’ जातको केरा भएको उहाँले बताउनु भयो । गाँउमा पनि यो केराको घरी देखेर सबै छक्क पर्ने गरेको र ठाँउठाँउबाट हेर्न आउने गरेको उहाँले जनाउनु भयो । केराको घरी लत्रेर भूइसम्म आउने गरेको र केराको बोटलाइ टेको लगाएर थाम्ने गरेको पनि उहाँ बताउनु हुन्छ ।
स–साना कोशा लाग्ने र माथिबाट पाक्दै जाने भएकाले एउटा घर परिवारलाइ खानका लागि महिनौसम्म पुग्ने गरेको बताइन्छ । उहाँले आफ्नो घर आँगनमा यहि केरा लगाउनु भएको छ । अहिले स्टलमा आउनेहरुले समेत यो केराको बिरुवा माग गर्ने गरेको उहाँले बताउनु भएको छ ।
दमक उद्योग बाणिज्य संघका द्वितिय अध्यक्ष युवराज घिमिरेले यो केराको घरी अहिले सबै महोत्सवमा आउने दर्शकहरुका लागि आकर्षण भएको बताउनु भयो । कृषि प्रदर्शनीको रुपमा यसले चर्चा पाएको उहाँको भनाइ रहेको छ । स्थानीय स्तरमा नै यत्रो केराको घरी कमैले मात्र देखेकाले यस स्टलमा फोटो खिच्नेको समेत घूइचो देखेको उहाँको भनाइ छ ।



