काठमाडौं, माघ ५ – शुक्रबारबाट नेपाली सिनेमा घरहरुमा घरेलु चलचित्र ‘लाल पुर्जा’ र ‘पिंजडा ब्याक अगेन’ प्रदर्शनमा आएका छन् । फरकफरक विषयवस्तुमा निर्मित यी दुई चलचित्रबीच निकै टक्कर हुने देखिएको छ ।
‘लाल पुर्जा’ मा चर्चित कलाकार हरिहर शर्मा, सौगात मल्ल, विपिन कार्की, कामेश्वर चौरसियालगायतका कलाकारहरुको अभिनय रहेको छ ।
https://youtu.be/9D3aF5n1ajo
विक्रम सिंह थारु र निगम श्रेष्ठको कथावस्तु रहेको यस फिल्मलाई नरेन्द्र मैनालीले छायांंकन गरेका हुन् भने फिक्सन डिजाइनरका नामले चर्चित उपन्यासकार कुमार नगरकोटी यस चलचित्रका अतिथि लेखक हुन् । बिक्रम सिंह थारु र उमेश श्रेष्ठले निर्माण गरेको यस चलचित्रलाई नेपाली चलचित्र छड्के निर्देशन गरेका निर्देशक निगम श्रेष्ठले निर्देशन गरेका छन् ।
त्यस्तै, शुक्रबारबाटै प्रदर्शनमा आएको अर्को चलचित्र ‘पिजडा ब्याक अगेनमा’ निखिल उप्रेती, सारा सीर्पाली, पुकार भट्टराई, ज्याक श्रेष्ठलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
हिमाल केसीको निर्देशन रहेको यस फिल्मलाई सौरभ लामाले छायांकन गरेका छन् । चलचित्रका लेखक मौनता श्रेष्ठ हुन्, भने चलचित्रमा रोहित पुरी, गोविन्द गैरे र चन्द्रबहादुर क्षेत्रीको लगानी रहेको छ । यस हप्ता बलिउडका कुनै पनि चलचित्र रिलिज नभएकाले यी दुई नेपाली चलचित्रले निकै फाइदा उठाउने देखिएको छ ।



