काठमाडौं– सपथ नलिएका प्रदेशसभाका सांसदले राष्ट्रियसभा निर्वाचनमा भोट हाल्न नपाउने भएका छन्।
निर्वाचन आयुक्त नरेन्द्र दाहालले पद तथा गोपनियताको सपथ नखाएका सांसदले राष्ट्रिय सभा निर्वाचनमा मत दिन नपाउने बताए।
निर्वाचन आयोगले आइतबार बिहान तोकेको सपथ ग्रहण कार्यक्रममा विभिन्न पार्टीबाट केही सांसद अनुस्थित थिए। जसमा प्रहरीको फरार सूचीमा रहेका मनाङका प्रदेशसभा सांसद राजीव गुरुङ (दीपक मनाङे) समेत रहेका छन्।
आयोगले प्रदेश प्रमुखसँग सल्लाह गरी आइतबार बिहान ११ बजेभित्र सबै प्रदेशसभामा सपथ कार्यक्रम सक्ने तयारी गरेको थियो। सोही अनुसार अधिकांश स्थानमा सपथ कार्यक्रम सम्पन्न भएसँगै आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ।
आइतबार निर्धारित समयमा सपथ नलिएका सांसदहरुले यसपछि पनि सपथ लिन पाउनेछन्। राष्ट्रियसभा निर्वाचन अगाडि नै सपथ ग्रहण गरेमा मात्र प्रदेश सांसदले माघ २४ मा हुने राष्ट्रियसभा निर्वाचनमा भाग लिन पाउने आयुक्त दाहालले बताए।
‘निर्वाचन अगाडि सपथ लिएको खण्डमा उनीहरुले निर्वाचनमा मत हाल्न पाउनेछन’ दाहालले भने, ‘सपथ नखाई निर्वाचनमा भाग लिन पाइँदैन।’ नेपाल लाइभ बाट



