काठमाडौं– जागिरको प्रलोभनमा सयौं व्यक्तिलाई पिरामिड शैलीमा हुँदै आएको नेटवर्किङ ठगीमा नेपाल प्रहरीका एक वहालवाला इन्सपेक्टरकै संलग्नता खुलेको छ। इन्सपेक्टर रविन विष्टकै मिलेमतोमा तीन वटा गिरोहले सयौं व्यक्तिलाई ठगी गरेको प्रहरीले जनाएको छ।
ठगीमा प्रत्यक्ष संलग्नता देखिएपछि इन्सपेक्टर विष्टलाई समेत प्रतिवादी बनाएर बुधबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ।
वडा प्रहरी कार्यालय बेलहियाको इञ्चार्जका रुपमा कार्यरत रहँदा इन्सपेक्टर विष्ट ठगीको गिरोहसँग मिलेको प्रहरीले जनाएको छ। उनले ठगीका नाइकेमध्ये एक ज्ञानेन्द्र मगरसँग ५० हजार रुपैयाँ लिएको प्रमाण भेटिएपछि विष्टलाई समेत प्रहरीले प्रतिवादी बनाएको हो।
सयौं ठगी गर्ने गिरोहलाई सघाएको पाइएपछि इन्सपेक्टर विष्ट विरुद्ध समेत मुद्दा चलाउन सिफारिस गरिएको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताए।
इन्सपेक्टर विष्ट बेलहियामा कार्यरत रहँदा सो गिरोहका सदस्यलाई पक्राउ गर्न प्रहरीले पटकपटक निर्देशन दिएको थियो। तर, उनले पक्राउ नगरी उल्टै संरक्षण गर्दै आएका थिए।
नियमित रुपमा पैसा लिएर तीनै वटा समूहका नाइकेलाई संरक्षण दिएको खुलेपछि विष्टलाई त्यहाँबाट हटाएर मुस्ताङ सरुवा गरिएको छ।
स्रोतका अनुसार नेटवर्किङ व्यवसाय गर्ने कम्पनी ‘विन विन’मा आबद्ध मगरले इन्सपेक्टर विष्टकै नाममा आइएमई मनी ट्रान्सफरबाट ५० हजार रुपैयाँ पठाएका थिए। सो पैसा विष्ट आफैंले लिएको प्रमाण भेटिएपछि उनलाई समेत प्रतिवादी बनाइएको छ।
यद्यपि सरकारी वकिल कार्यालयले सुरुदेखि नै उनलाई प्रतिवादी नबनाउन प्रहरीसँग लबिङ गर्दै आएको स्रोत बताउँछ। प्रहरीले प्रतिवादी बनाए पनि सरकारी वकिलबाट उनको नाम हटाउन चलखेल सुरु भएको छ।
तीन वटा गिरोहसँग मिलेमतो
नेटवर्किङ ठगीमा संलग्न तीन वटा गिरोहलाई पक्राउ परी बुधबार रुपन्देही प्रहरीले सार्वजनिक गरेको छ। ड्रिम डेभलपर्स ट्रेडमार्क प्रालि, विन विन ट्रेडमार्क प्रालि र फुल्टन ट्रेडमार्क प्रालिको नाममा पैसा उठाएर ठगी गर्नेहरु पक्राउ परेका थिए। तीनै वटा गिरोहका व्यक्तिहरुसँग इन्सपेक्टर विष्टको मिलेमतो रहेको पाइएको छ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्ली पाण्डेका अनुसार, सो समूहले प्रतिव्यक्ति ८ हजारदेखि ३ लाख रुपैयाँसम्म उठाएर ठगी गरेको थियो।
धेरै सदस्य बनाएपछि कम्पनीको जागिरे हुने र नियमित पैसा आउने प्रलोभनमा सयौं व्यक्तिलाई सदस्य बनाई ठगी गरिएको थियो। रोजगारी लगाउन नसकेमा पैसा फिर्ता दिने ग्यारेन्टी रहेको पनि बताउने गरेका थिए।
प्रहरीले ‘ड्रिम डेभलपर्स’का दर्पण लामा र कुशलराम चौधरीलाई पक्राउ गरेको छ। सो समूहका रञ्जित मगर, प्रेम गोतामे, डम्मर प्रधान, सुमिना लिम्बू, मेघराज तामाङ, तासी लामा, सन्तोष खरेल, पशुपति तामाङ, केहरमान गुरुङ, प्रजा छन्त्याल, सुमित्रा लिम्बू र रामप्रसाद चौधरी विरुद्ध पनि मुद्दा दायर गरिएको छ। उनीहरु फरार छन्।
उनीहरु विरुद्ध ३७ लाख ५८ हजार रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएको छ।
त्यस्तै, ‘विन विन’का ज्ञानेन्द्र मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ। सो समूहका आकाश रानाभाट, सुदर्शन थापा, प्रितम पाठक, कृष्ण बुढाथोकी, निरु रानामगर, गौतम गुरुङ, रश्मी गुरुङ, दिनेश चौधरी र त्रिलोक रानामगर विरुद्ध समेत मुद्दा दायर गरिएको छ।
‘फुल्टन’का चन्दित सिंह मोक्तान र दावा लामा पक्राउ परेका छन् भने देवराज कार्की, जित लामा, तासी लामा, जमुना गुरुङ, जुना मगर, वसन्त थापा, अमिर गुरुङ र मोहन गिरीलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। नेपाललाइभ बाट



