काठमाडौं- माघ २४ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएकामाथि आजदेखि दाबी विरोध हाल्न पाइनेछ।
हिजो सातै प्रदेशमा ५६ सिटमा लागि ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरुको उम्मेदवारी शंकास्पद लागे वा चित्त नबुझे आज र भोलि शुक्रबारसमेत दाबी विरोधको उजुरी दर्ता गर्ने समय तोकिएको छ।
राष्ट्रियसभा निर्वाचन कार्यतालिका अनुसार आयोगले माघ ११ र १२ गते बिहान १० देखि ५ बजेसम्म उम्मेदवार उपर दाबी विरोध उजुरी दर्ता गर्न सकिनेछ जनाएको छ।
यस्तै माघ १३ गते उम्मेदवारीमाथिको उजुरी निवेदनमा जाँचबुझ गर्दै निर्णय लिने आयोगले १४ गते उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।
१५ गते उम्मेदवारको नाम फिर्ता लिने समय तोकिएको छ। सोही दिन आयोगले चुनाव चिह्न पनि प्रदान गर्दैछ।
५९ सदस्यीय राष्ट्रियसभाका लागि ५६ जना निर्वाचनबाट चुनिएर आउनेछन्। राष्ट्रपतिले ३ जना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ। जसमा एक जना महिला अनिवार्य हुनेछ।



