झापा।
पछिल्लो समयमा झापा जिल्लामा मोटरसाइकल चोरी गरी बेचबिखन गर्ने गिरोह सक्रिय रहेको अवस्थामा नेपाल प्रहरीले नै चोरीको मोटरसाइकल बेचबिखन गरेको थप रहस्य बाहिर आएको छ ।
प्रहरीले मोटरसाइकल गिरोहको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत प्रहरीले नै एउटा चोरीको मोटरसाइकल बेचेको खुलेपछि प्रहरीभित्र खैलाबैला मच्चिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कृष्ण बस्नेतले चोरीको मोटरसाइकल बेचबिखन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धानका लागि जिल्ला तानेको छ ।
घटना विवरण अनुसार तीन दिनअघि प्रहरीले चेकजाँचको क्रममा मेचीनगरस्थित इँटाभट्टाबाट मे७प ६९६० नम्बरको एउटा मोटरसाइकल फेला पारेको थियो । उक्त मोटरसाइकल मेचीनगर–७ निवासी अन्दाजी २२ बर्षीय खिरमान राजवंशीले कुदाउँदै आएका थिए । बिना कागजातको मोटरसाइकलसहित चालक राजवंशीलाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका चालक राजवंशीले उक्त मोटरसाइकल असई बस्नेतसँग लिएको बताएपछि प्रहरीको संलग्नता खुलेको हो । प्रहरीले फेला पारेको उक्त मोटरसाइकल भारतबाट चोरी गरी नेपाल भित्र्याइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
यता प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बिष्णुकुमार केसीले चोरीको मोटरसाइकल खरिद–बिक्रीमा असई बस्नेतको नाम मुछिएकोले उनलाई बुधवार जिल्ला तानेको बताए । असई बस्नेतसहित खरिद गर्ने व्यक्ति राजवंशीलाई समेत जिल्ला ल्याइएको छ । ‘भारतीय नम्बर प्लेटको मोटरसाइकल फेला परेको स्वीकार्दै, प्रहरी उपरीक्षक केसीले भने– ‘घटनामा असईको संलग्नता रहेको पाइएमा उनलाई विभागीय कारवाही गर्छौ ।’
प्रहरी कार्यालयले यसअघि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षक बाहेक सबै प्रहरी कर्मचारीको सरुवा गरेका थिए । सो सरुवाको क्रममा असई बस्नेत त्यहाँबाट जान मानेनन् । ६ महिना मात्रै जागिर अवधि रहेकोले जिल्लामा भनसुन गरेर उनी त्यहीँ रहेको प्रहरी स्रोतले जनाएको छ ।



