वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी
डा. गोविन्द केसीको मुद्दामा बहस गरेकै दिन बेलुका साढे ५ बजेतिर उहाँले मलाई फोन गर्नुभयो । त्यसबेला उहाँ एकदमै सन्किएर ‘तपाईँ बढ्ता हुनुभयो भने मार्दिन्छु’ भनेर भन्नुभयो । मैले यस्तो कुरा नगरौं केही छ भने दाजुभाइ बसेर कुरा गर्न सकिन्छ गरौं भनेर भनेँ । मैले मजाक नगरौं, बसेर कुरा गरौं भनेपछि उहाँले रिसाएर फोन राखिदिनुभयो । त्यसपछि कुरा भएको थिएन ।
बिहीबार नागरिक दैनिकमा मेरो एउटा आर्टिकल आएको थियो । प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ भन्ने विषयमा थियो । त्यो पढिसकेपछि करिब साढे ९ बजेतिर उहाँले फोन गर्नुभयो । मेरा साथीहरु पनि मसँगै त्यहाँ हुनुहुन्थ्यो । हामी ४, ५ जना बसेर कुरा गरेका थियौं । त्यसबेला ज्यान मार्छु भनेर त भन्नुभएन तर धम्कीको भाषा प्रयोग गर्नुभयो । उहाँले मलाई ‘देखाइदिन्छु, चिनेको छु, जानेको छु’ जस्ता शब्द प्रयोग गरेर धम्की दिनुभयो ।
त्यहाँ पनि मैले केही भनिनँ । साथीहरुले के भयो भन्दा पनि मैले केही होइन भनेर भनेर बसेँ । मैले यसलाई किन इस्यु बनाउने भनेर सामान्य पार्न चाहन्थें । तर हिजो मेरो अफिसमा २, ४ जना मान्छे पठाउनुभएछ । उहाँले नै पठाउनुभएको हो भन्नेमा म ढुक्क छु । मलाई अन्य कसैले केही भनेको छैन । उहाँले नै ज्यान मार्ने धम्की दिनुभएको छ ।
मेरो घरमा केही मान्छेहरु आएर ‘खोई सुरेन्द्र भण्डारी ?’ भनेर थ्रेट गरेछन् । ‘हामीले देखाइदिन्छौं’ भनेर पनि धम्की दिइएछन् । ‘तपाईँहरु को हो ?’ भनेर सोध्दाखेरि ‘अहिले तपाईँलाई भन्नुपर्ने कारण छैन । सुरेन्द्र भण्डारीलाई भेटेपछि हामी को हो भन्ने चिनाइदिन्छौं’ भनेर हिँडेछन् ।
यस्ता घटनाहरु निरन्तर आयो । प्रधानन्यायाधीशजस्तो मान्छेले त्यस्तो गर्नु शोभनीय होइन । उहाँले नै हिजो मान्छे पठाउनुभयो भन्ने मसँग प्रमाण त छैन तर घटनाक्रमले त्यो देखाउँछ ।
नेपाल लाइभ



