चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको हितका लागि जस्तोसुकै भूमिका खेल्न समेत तयार रहेको बताएका छन्।
चितवनको भरतपुरस्थित तीनखोले महाबौद्ध गुम्बाको उद्घाटन गर्दै अध्यक्ष दाहालले राजनीति संकटबाट देशलाई निकास दिन मियोको रुपमा भूमिका खेल्दै आएको दाबी गरे।
राजनीतिमा आफ्नो कुनै स्वार्थ नभएको बताउँदै उनले देश संकटमा परेको बेला विगतमा र अहिले पनि आफूले सबै समूह, शक्तिबीचको तिक्तता र विवादलाई साम्य गरी निकासतर्फ अघि बढाउने भूमिका खेलेको बताए।
‘म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फड्को मार्न सक्छु’, दाहालले भने ‘मेरो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण हो। शान्तिपूर्ण र समृद्ध नेपालका लागि नै मैले आफ्नो जीवन समर्पित गरेको छु।’
देशमा अल्पसंख्यक, जनजाति, मधेसी, महिला, दलित, भौगौलिकरुपमा उत्पीडित जनता, किसान र मजदुरका पक्षमा लामो लडाइँ लडेर शान्ति प्रक्रियासम्म आइपुगेको चर्चा गर्दै दाहालले प्रश्न गरे ‘१२ बुँदे समझदारी र शान्ति सम्झौता नगरेको भए देश कहाँ पुग्थ्यो?’
गिरिजाप्रसाद कोइरालासँग बारम्बार छलफल भएपछि देश र जनताको पक्षमा शान्ति सम्झौता गरिएको बताउँदै उनले भोलिको समृद्ध नेपालका लागि जस्तोसुकै भूमिका खेल्न तयार रहेको उल्लेख गरे।नेपाल लाइभ बाट



