२२ मंसिर । अस्थायी टहरोमा बसिरहेका बेला गत ३ असारको दिउँसो ४ बजे लिस्तीकोट–३ मा १६ वर्षीया एक किशोरी बलात्कारको सिकार भइन् । गत ६ मंसिर मध्यदिनमै पांग्रेटार–९ दुईकिलोमा २९ वर्षीया रमिला ९नाम परिवर्तन० आफन्तबाटै बलात्कृत भइन् ।
आजको राजधानी दैनिकमा खबर छ– पीडित महिलाको उजुरीका आधारमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गोविन्द नेपालीलाई पक्राउ ग(यो । १० मंसिरमा किउलमा अर्की एक महिला बलात्कृत भइन् । टहरामा बसिरहेका बेला किउलकी ३२ वर्षीया राममाया (नाम परिवर्तन) लाई सोही ठाउँका एक वृद्धाले बलात्कार गरेको प्रहरी विवरणमा छ । राममायाले टहरामा आई आफूलाई बलात्कार गरेको उजुरी दिएपछि प्रहरीले सोही ठाउँका ७० वर्षीय सेते तामाङलाई पक्राउ गरेको थियो ।
भूकम्पपछि टहरोमा बस्दै आएका महिला तथा किशोरीहरूले खेपिरहेको कष्ट तथा पीडाका घटनाका प्रतिनिधि उदाहरणहरू मात्र हुन् यी । प्रहरी कार्यालयमा दिनहुँजसो यस्ता घटनाहरू आइरहन्छन् । भूकम्पले घर भत्किएपछि पीडितको बास विगत २० महिनादेखि अस्थायी टहरोमा छ ।
अस्थायी टहरोको बास विशेष गरी किशोरी र महिलाहरूका लागि भने दिनदिनै कष्टकर र पीडादायी बन्दै छन् । तुलनात्मक रूपमा भूकम्पपछि जिल्लाका महिला किशोरीहरू असुरक्षित बनेको देखिन्छ । पछिल्लो पाँच महिनामा प्रहरीमा जबर्जस्ती करणीका आठ मुद्दा दर्ता हुनुले भूकम्पको डेढ वर्ष बितिसक्दा पनि महिलाहरू अझै असुरक्षित छन् भन्ने संकेत गरेको छ । भूकम्पपछि टहराको अव्यवस्थित बसाइमा महिलाहरूले सुरक्षित महसुस गर्न सकेका त छैनन् । अर्कातिर महिला हुनुकै कारण राहत तथा पुनर्निर्माण प्रक्रियामा सास्ती झेल्नुपरेको उदाहरण पनि धेरै छन् । पुनर्निर्माणका लागि सरकारी अनुदानको पहिलो किस्ता धमाधम वितरण भइरहँदा इर्खु–७ की सुनीता वनले भने पाउन सकिनन् । श्रीमानले दोस्रो विवाह गरी घर छाडेर हिंडेपछि उनी अलपत्र परेकी छन् ।
विवाह गरेको १० वर्ष बितिसक्यो, नौ वर्षको छोरा साथैमा छ । तर, उनीसँग नागरिकता छैन । नागरिकता नहुँदा उनी सरकारी अनुदान पाउनबाट वञ्चित बनिन् । विवाहपछि श्रीमान्लाई पटकपटक नागरिकता बनाउन आग्रह गर्दा पनि नबनाएको उनले सुनाइन् । ‘टहरामा दुःखजिलो गरी बसेका छौं, नागरिकता नभई पैसा दिएनन्,’ केही दिनअघि इर्खु पुग्दा टहराभित्रबाट सहायता माग्दै उनले भनिन्, ‘बूढो अर्कीलाई लिएर हिँड्यो, माइतीका कोही छैनन् ।’ विगत डेढ वर्षदेखि उनी अस्थायी बसोबासका लागि भनेर बनाइएको त्यही टहरामा बस्दै आएकी छन् ।
पुनर्निर्माणका लागि अनुदान सहायताको पहिलो किस्ता सबै लाभग्राहीका खातामा पठाइसकिए पनि दूरदराजमा पुनर्निर्माणको कामले गति लिएको छैन । ग्रामीण भेगका भूकम्पपीडितहरू अस्थायी रूपमा बस्न बनाइएका त्यही टहरामा छन् । महिनावारी हुँदा महिलाहरू टहरामा समस्या झेलिरहेका छन् । टहरामा बारबेर नहुँदा महिलाहरूका लागि कपडा फेर्नसम्म असहज भइरहेको बताउँछन् । ‘बारबेर छैन, कपडा फेर्नसम्म गाह्रो छ,’ इचोक–८ की ३४ वर्षिया मई तामाङले भनिन्, ‘महिनावारी हुँदा त झनै समस्या हुने गरेको छ ।’ टहराको बसाइमा महिनावारीका बेला सरसफाइ गर्न पनि असजिलो हुँदा अन्य शारीरिक समस्या देखा पर्न थालेको उनले सुनाइन् । ‘एक वर्ष हुन लाग्यो, कम्मरमुनि दुख्न थालेको छ,’ उनले सुनाइन् ।
भूकम्पपछि सिन्धुपाल्चोकमा आत्महत्याका घटनाले पनि विकराल रूप लिइरहेको प्रहरीको तथ्यांक छ । प्रहरीको पछिल्लो तथ्यांकअनुसार आत्महत्या गर्नेमा पनि पुरुषभन्दा महिलाहरू धेरै छन् । चालू आर्थिक वर्षको पछिल्लो चार महिनामै १५ महिलाले आत्महत्या गरेका छन् ।



