नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतामा सहमती भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई दलको एकता संयोजक समितिको बैठकले नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेको छ ।
दुई पार्टीबीच साँत बुँदे सहमति गर्दै दुवै पार्टीका शीर्ष नेताहरुले हस्ताक्षरसहित सार्वजनीक गरेका हुन । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको उक्त एकता संयोजन समितिले एमालेले अपनाउँदै आएको “जनताको बहुदलीय जनवाद” अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा केन्द्रले पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता समान रहेको स्पष्ट पारेको छ ।
सहमतिमा एमालेको “जबज” र केन्द्रको “माओवाद र एक्काइसौँ शताब्दीको जनवाद” सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने तथा उक्ता आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गर्ने उल्लेख छ । प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिकरुपान्तरणमार्फत् समाजवादको आधार निर्माण गर्ने सहमतिमा जनाइएको छ ।
एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओली, नेताहरु माधवकुमार नेपाल, वामदेव गौतम, झलनाथ खनाल, ईश्वर पोखरेल, माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु राम बहादुर थापा र नारायणबाजी श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।




