काठमाडौं, फागुन १३
एमाले उपमहासचिव बिष्णु पौडेलले कार्यकारी प्रमुख भइसकेको ब्यक्ति राष्ट्रपति बन्न नमिल्ने तर्क अघि सार्नुभएको छ । राष्ट्रपतिको बिषयलाई लिएर पार्टीभित्र अनेकआकांक्षी रहेको भनाई समाचार आइरहेको बेला नेता पौडेलले प्रधानमन्त्री भइसकेको ब्यक्तिले राष्ट्रपतिमा चाहना राख्नै नमिल्ने भनाई सार्वजनिक गर्नुभएको हो ।
निर्वाचनको मिति जारी भइसकेको अवस्थामा राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेमा एमालेभित्र निर्णय भइसकेको छैन । तथापी आम एमालेजनको बुझाई छ । सहमति हुन सकेको छैन । तर, राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने सम्भावना निकै छ । यही बहशबीच बैचारिक नेता पौडेलले प्रधानमन्त्री भइसकेका नेता सो पदमा उपयुक्त नहुने अडान राख्नुभएको हो ।
माओवादीसँगको पद बाँडफाँटमा राष्ट्रपति एमालेको भागमा परेको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा आज बिहान कुरा गर्दै उपमहासचिव पौडेलले प्रधानमन्त्री बनिसकेको व्यक्ति राष्ट्रपति बन्न उचित नहुने तर्क गर्नुभयो ।
‘कार्यकारी प्रमुख भइसकेका व्यक्तिले राष्ट्रपति बन्न मिल्दैन । हुँदैन । प्रधानमन्त्री भइसकेका व्यक्तिहरूले राष्ट्रपति बन्ने चाहना राख्नु उचित हुँदैन’, उपमहासचिव पौडेलको भनाई थियो । कार्यकारी प्रधानमन्त्री भइसकको व्यक्ति राष्ट्रपति बन्दा संवैधानिक दायरामा नबस्ने सम्भावना बढी हुने पौडेलको तर्क छ ।



