विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक र आसपासमा होली खेल्नेहरुका लागि इलाका प्रहरी कार्यालय दमकले कडा नियम ल्याएको छ । नियम पालना नगर्नेलाइ तत्काल पक्राउ गरेर हिरासतमा राख्ने तयारी गरेको छ ।
बिहिबार बिहान इलाका प्रहरी कार्यालय दमकले राखेको छलफलमा यस्तो जानकारी गराइएको हो । होली पर्वलाइ राष्ट्रिय चाडको रुपमा एक आपसमा सदभावपूर्ण मनाउन आग्रह गर्दै गाँजा, भाङ खाने तथा ख्वाउने, हो हल्ला गर्ने, ट्राफिक नियमको पालना नगर्ने जस्ता कार्यलाइ पूर्ण रुपमा रोकिने इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले बताए ।
इच्छा बिपरीत रंग दल्ने, जबरजस्ति गर्नेहरुलाइ पक्राउ गरिने उनले जानकारी दिए । मादक पदार्थ खाएर सवारी चलाउने काम पनि नगर्नका लागि उनले आग्रह गरेकाछन् । अटेर गर्नेलाइ पक्राउ गरेर कानून बमोजिम कार्वाही गरिने र यसमा कसैलाइ पनि सोर्सफोर्स नलाग्ने उनले स्पष्ट पारे ।
इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख विनोदकुमार खतिवडाले ट्राफिक नियम पालना नगर्नेलाइ कार्वाही गर्ने बताए । फोन गरेर त्यस्ता ब्याक्तिलाइ छुटाउन नभन्न भन्दै भनेमा त्यो नमान्ने पनि जनाए ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष रोशन गौतम होटल ब्यवसायी संघका क्षेत्रिय अध्यक्ष राजन दंगाल, उपाध्यक्ष सुधिर प्रधान, लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमकका अध्यक्ष रुद्र गौतम, जिबन चक्र समाज नेपालका अध्यक्ष गणेश गौतम, महिला नेतृ निर्मला पाठक यातायात मजदूर नेता विश्वासकुमार काश्यप लगायतले सुझाव दिएका थिए ।



