काठमाडौं– प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राजस्व विभाग, राष्ट्रिय अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउने सरकारको निर्णयप्रति आपत्ति प्रकट गरेको छ।
कांग्रेसका राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारीले सरकारको सो निर्णयप्रति आपत्ति जनाएका हुन्। राष्ट्रियसभाको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै सांसद अधिकारीले शक्तिको अधिक केन्द्रीकरण गर्दा भ्रष्टीकरणको जन्म हुने भन्दै सचेत रहन प्रधानमन्त्री केपी ओलीलाई सचेत गराए। उनले सरकार सधैं शक्ति सन्तुलनको सिद्धान्त अनुसार अघि बढ्नुपर्ने बताए।
सांसद अधिकारीले सरकारले बहुमतको आडमा लोकतान्त्रिक शक्तिहरुलाई दबावमा राख्न खोजेको आरोप समेत लगाए।
बैठकमा सत्तारुढ नेकपा एमालेका सांसद गणेश तिमल्सिनाले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन सबै दललाई आह्वान गरे। उनले प्राकृतिक स्रोत-साधनको उचित परिचालन गरेर देशलाई समृद्ध बनाउन सकिने बताए।
यस्तै, माओवादी केन्द्रका सांसद दीनानाथ शर्माले देशलाई समृद्ध बनाउन सबै दल एकजुट हुनुपर्नेमा जोड दिँदै आफूहरु एक्काइसौं शताब्दीको लोकतान्त्रिक पद्धति अनुसार अघि बढ्न तयार रहेको बताए।
राष्ट्रियसभाको अर्को बैठक फागुन ३० मा बस्नेगरी स्थगित भएको छ।



