राष्ट्रपतिको उम्मेदवार चयनका लागि आइतबार ४ बजे प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बोलाइएको एमाले स्थायी कमिटिको बैठकमा एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई ओलीले ‘सरप्राइज’ दिएका छन् । तर, कुनै पदको ‘सरप्राइज’ भने होइन । नेता नेपालको ६५ औं जन्म दिनको ‘ ‘बर्थ डे केक’ काटेर ‘सरप्राइज’ दिएका हुन् ।
वि.सं २००९ फागुनमा रौतहट जिल्लाको गौरमा जन्मिएका नेता नेपाल मंगलबारबाट ६५ औं बर्षमा प्रवेश गरेका छन् । यही अवसर पारेर प्रधानमन्त्रीको सचिवालयले नेता नेपालको जन्मदिन मनाइदिने प्रबन्ध मिलाएका थिए ।
बैठक सुरु हुन अघि प्रधानमन्त्री ओलीले एकैछिन है भन्दै नेता नेपाललाई पुष्प गुच्छा दिएर शुभकामना दिए । प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि नेता नेपाललाई पुष्पगुच्छा दिइन् । वरिष्ठ नेता झलनाथ खनालले पनि नेपाललाई पुष्पगुच्छा दिए । ‘बर्थ डे केक’ नेपाल र प्रधानमन्त्री ओलीले सँगसगै काटे ।
एमालेमा जन्मदिन मनाउने संस्कृति जस्तै भएको छ । ओलीले फागुन ११ गते आफ्नो ६७ औं जन्मदिन तामझाम साथ मनाएका थिए । ओलीले अन्य नेताहरुलाई समेत जन्मदिनको जानकारी दिन भन्दै ठट्टा गरे । भने, ‘कमरेडहरूले जन्म मिति जानकारी गराए, त्यही दिन बैठक राख्नुहुन्थ्यो ।
बैठकले राष्ट्रपतिको उमेदवारी टुंगो लगाउने बताइएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले विद्या भण्डारीलाई नै दोहोर्याउन चाहेका छन् भने बरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपतिका लागि तीव्र लविङ गरेका छन् ।

बैठक छोडेर किन हिडे नेपाल ?
पछिल्लो समयमा राष्ट्रपतिमा खनाललाई महाधिवेशनताका ओली खेमामा लागेका उपाध्यक्ष वामदेव गौतमले झलनाथलाई साथ दिने बताउदै आएका छन् । गौतमसँगै उपाध्यक्षद्वय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट, किरण गुरुङस्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, खनालको पक्षमा खुलेका छन् । तर, नेता नेपाल भने मौन छन् । मौन रहेको नेपाल आफ्नो जन्मदिन मनाएपछि बैठक छोडेर बाहिरिएका छन् ।
वर्तमान राष्ट्रपति भण्डारीलाई भने महासचिव ईश्वर पोखरेल, उमहासचिव विष्णु पौडेल, सचिवद्वय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, शंकर पोखरेल, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा र मुकुन्द न्यौपानेको समर्थन छ ।
पार्टी उपाध्यक्ष भीम रावल पनि कतै खुलेका छैनन् । महाधिवेशताका नेता नेपाल समूहमा रहेका रावल ततपश्चातभने कहिले तटस्थ कहिले ओली निकटस्थ देखिँदै आएका छन् ।
-नया पेज बाट



