काठमाडौं, फागुन २६
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वकीय सचिवालयमा लामो समयदेखि साथमा रहेर सहयोग गर्दै आएका राजेश बज्राचार्यसहित तीन जनालाई नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले शनिवार स्वकीय सचिवमा बज्राचार्य, स्वकीय उपसचिवमा रामशरण बजगाई र दिपेन्द्रप्रसाद दाहाललाई नियुक्त गर्नुभएको हो । लामो समयदेखि पत्रकारितामा रही चक्रपथ डटकमका सम्पादक रहेका स्वकीय उपसचिव बजगाईलाई सूचना प्रेसकको जिम्मेवारी तोकिएको छ । यस्तै दाहाललाई निवासमा स्वकीय सचिव बज्राचार्यलाई सघाउने जिम्मेवारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिवमा नियुक्त बज्राचार्य प्रधानमन्त्री ओलीकै साथमा रहनु पर्ने र सवै समयको ब्यवस्थापन मिलाउनु पर्ने भएकोले सहयोगका लागि दाहाललाई स्वकीय उपसचिवमा नियुक्त गरिएको हो । उपसचिव सरह सेवा सुबिधा पाउने गरी स्वकीय उपसचिव नियुक्त गरिएको हो ।
प्रधानमन्त्री ओलीले सरकारी कर्मचारी रहने स्वकीय सचिवालयको प्रमुखमा उपसचिव युवराज दाहाल नियुक्त गरिसक्नुभएको छ ।



