संघीय संसद्को प्रतिनिधिसभाले शुक्रबार उपसभामुख पाउँदै छ । उपसभामुख पदमा कांग्रेस नेतृ पुष्पा भुसाल र वाम गठबन्धनबाट एमाले नेतृ शिवमाया तुम्बाहाम्फेको उम्मेदवारी परेको छ ।

सभामुखमा कृष्णबहादुर महरालाई समर्थन जनाएको प्रमुख प्रतिपक्षी दल कांग्रेसले नेतृ भुसाललाई उपसभामुख पदमा उठाएको हो । वाम गठबन्धनको बहुमत रहेकाले तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित हुने निश्चितप्रायः छ । अझ सरकारमा सहभागी हुने औपचारिक निर्णय गरिसकेको संघीय समाजवादी फोरम र सरकारलाई विश्वासको मत दिएको राजपालगायत स्वतन्त्र हैसियतका केही सांसदको समेत एमाले नेतृ तुम्बाहाम्फेले साथ पाउनेछिन् ।

माओवादी केन्द्रका नेता देव गुरुङ प्रस्तावक र एमाले नेता रवीन्द्र अधिकारी समर्थक रहेर उनको उम्मेदवारी दर्ता भएको हो । कांग्रेस नेतृ भुसालको प्रस्तावकमा भने डिला संग्रौला र समर्थकमा देवेन्द्रराज कँडेल रहेका छन् । प्रतिनिधिसभाको शनिबार बस्ने बैठकमा उपसभामुखको निर्वाचन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

को हुन् तुम्बाहाम्फे ?
उपसभामुख पदमा एमालेबाट उम्मेदवारी दिएकी शिवमाया तुम्बाहाम्फेले ०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीति प्रारम्भ गरेकी हुन् । उनी अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षसमेत भइन् । ०४७ सालमा पार्टीको सदस्यता लिएकी तुम्बाहाम्फे नवौँ महाधिवेशनबाट एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भइन् । समानुपातिक प्रणालीबाट सांसद बनेकी उनी एमाले मोरङ इन्चार्ज हुन् । उनी एमालेको प्रदेश नम्बर १ कमिटी सदस्यसमेत हुन् । तेह्रथुममा जन्मिए पनि झापाबाट अध्ययन पूरा गरेकी तुम्बाहाम्फेको हालको ठेगाना भने मोरङको उर्लाबारी हो ।

विद्यार्थी राजनीतिदेखि उदाएकी कांग्रेस नेतृ भुसाल
कांग्रेस नेतृ पुष्पा भुसालले ०३६ सालमा नेविसंघबाट राजनीति प्रारम्भ गरेकी हुन् । उनका बुबा पनि राजनीतिज्ञ थिए । ०१५ सालमा बिपी कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा स्वास्थ्य तथा स्थानीय स्वायत्तमन्त्री भएका काशीनाथ गौतमकी छोरी हुन् पुष्पा । अर्घाखाँचीमा जन्मिए पनि बुबालगायत तत्कालीन नेताहरूले निर्वासित जीवन बिताउँदा उनी पनि परिवारका साथ १३ वर्ष बाल्यकालमा भारतमा रहिन् । १० वर्षसम्म अध्यापन पेसामा रहेकी भुसालको अर्को महत्वपूर्ण पाटो कानुन व्यवसाय हो ।

०५६ सालको संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएर झिनो मतान्तरले पराजित भए पनि ०६४ को संविधानसभा निर्वाचनमा उनी अर्घाखाँची २ बाट प्रत्यक्ष निर्वाचित भइन् । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा पराजित भुसाल प्रतिनिधिसभामा समानुपातिकबाट हाल सांसद छिन् । नेपाल ट्रेड युनियनको सल्लाहकार तथा महिला विभागको केन्द्रीय सदस्य हुँदै उनी नेपाल महिला संघको महामन्त्रीसम्म भइन् । विगत दुई महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भुसाल हाल कांग्रेस केन्द्रीय सदस्य हुन् ।

उपाध्यक्षमा दाहाल र पोखरेलबीच प्रतिस्पर्धा हुने
राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन अाइतबार हुँदै छ । वाम गठबन्धनबाट एमालेका गणेशप्रसाद तिमल्सिना राष्ट्रिय सभाको अध्यक्ष निर्वाचित भएकाले उपाध्यक्ष महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । वाम गठबन्धनको सहमतिअनुसार माओवादी केन्द्रबाट राष्ट्रिय सभाको उपाध्यक्षमा महिला उम्मेदवार हुनेछन् । माओवादीमा शशीकला दाहाल र विना पोखरेलको उपाध्यक्षमा चर्चा छ ।

२०३० सालदेखि विद्यार्थी आन्दोलनमा लागेकी दाहाल २०३६ सालमा शिक्षक भइन् । शिक्षक भए पनि उनले राजनीतिलाई पनि सँगसँगै अघि बढाएकी थिइन् । पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक लिस्टमा परेपछि उनले २०६४ सालमा शिक्षकबाट राजीनामा दिएकी थिइन् । उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीको संयोजक भइसकेकी छन् । हाल राष्ट्रिय बुद्धिजीवी संगठनकी उपाध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य हुन् । उनी शिक्षाशास्त्र संकायमा स्नातक हुन् ।

पोखरेल २०४५ सालदेखि नै पार्टीमा संगठित भएकी थिइन् । माओवादीले जनयुद्ध सुरु गरेपछि २०५३ सालमा भूमिगत भई पार्टीमा लागेकी थिइन् । भोजपुर जिल्ला सदस्य हुँदै अहिले उनी पार्टीको केन्द्रीय सल्लाहकार हुन् । पोखरेल प्रदेश नम्बर १ का संयोजक सावित्रीकुमार काफ्लेकी श्रीमती हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah