विष्णुप्रसाद पोखरेल
दमक । १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले अहिले सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन महिनौ कुर्नु पर्ने बाध्यता रहेको पाउदै तत्कालै एकसाता भित्र यो पाइने ब्यवस्था मिलाउने बताउनु भएको छ ।
यसका लागि सरोकारवाला निकायहरुसंग एकचरणको छलफल भएको र आवश्यक प्रक्रिया थाल्न निर्देशन दिइएको भन्दै यस्तो बताउनु भएको हो ।
नेपाल यातायात स्वतन्त्र मजदूर संगठन दमक नगर कमिटीको प्रथम अधिवेसन उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि रहनु भएका मन्त्री कार्कीले बिभिन्न जटिलताहरु रहेपनि तत्काल महिनामा कम्तिमा एकपटक २ देखि ३ महिनाभित्र हप्तामा एकपटक सवारी चालक अनुमति पत्र पाउने ब्यवस्था मिलाउनते जनाउनु भयो ।
आवश्यक कानून तथा नियम बनाउनु पर्ने भए त्यो बनाएर समेत प्रदेश सरकार अघि बढ्ने बताउदै उहाँले कानून मन्त्री समेत रहनु भएका कार्कीले भन्नुभयो–‘स्मार्ट लाइसेन्स छपाइमा समस्या र मेशिन नभएको भन्ने जवाफ सरोकारवालाहरुबाट पाइएकाले त्यसलाइ खरिद गर्ने प्रक्रिया थाल्न निर्देशन दिइएको छ ।’
दूर्घटनाबाट हुने जनधनको क्षति र यातायात ब्यवसायी, मजदूरहरुसंग ट्राफिक प्रहरीसंगको सम्बन्धलाइ मित्रवत बनाउनका लागि समेत प्रयास गरिने उहाँको भनाइ रहेको थियो । सबैले राज्य तथा तीन वटै तहका सरकारले ल्याएका नीति, नियम र कानून मान्नु पर्ने बताउदै केहि समस्या र जटिलता भए स्थानीय सरकार तथा त्यहाँ नभए प्रदेश सरकारले सहजिकरण गर्ने कार्कीले बताउनु भयो ।
१ नम्बर प्रदेशका अधिकाँश जिल्लाहरुमा पार्किङको समस्या रहेको विषयमा समेत आफू जानकार रहेको भन्दै केहि महिना भित्र नै यस विषयमा समेत ठोस कार्यक्रम ल्याइने कार्कीले बताउनु भयो । राजमार्ग तथा सडकसंग जोडिएका सार्वजनिक तथा सरकारी जग्गाहरुको प्रयोग गरेर भएपनि पार्किङको ब्यवस्था गरिने उहाँले प्रतिबद्धता जनाउनु भयो ।
बन्द र हड्ताल निषेधित १ नम्बर प्रदेश
आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले १ नम्बर प्रदेशलाइ यातायात क्षेत्रमा बन्द र हड्तालमुक्त बनाउने जनाउदै यसमा सहयोग गर्न आग्रह गर्नु भयो । यस विषयमा यातायात ब्यवसायी तथा मजदूरहरुसंग छलफल समेत शुरु गरिएको भन्दै बन्द र हड्तालमुक्त प्रदेश बनाएर नै छाड्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले भन्नुभयो–‘प्रदेशमा एकदिन पनि सडक र यातायात बन्द हुनु हुदैन, यसमा सबै प्रतिबद्ध हुन जरुरी रहेको छ ।’



