काठमाडौं- युएस–बंगला विमान दुर्घटनामा मृत्यु भएका बंगलादेशी नागरिकको शव बंगलादेश लगिँदैछ। फागुन २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु भएका बंगलादेशी नागरिकको शव कार्गाे विमानबाट सोमबार बंगलादेश लैजान लागिएको हो।
दुर्घटनामा २६ जना बंगलादेशी नागरिकको मृत्यु भएको थियो। जसमध्ये २३ जनाको मात्र शनाखत भएको छ। सनाखत भएका शव मात्र बंगलादेश गलिँदैछ। त्रिवि शिक्षण अस्पतालमा शवको पोस्टमार्टम गरिएको थियो।
सनाखत भइसकेका शवहरु काठमाडौंस्थित बंगलादेशी दूतावासबाट त्रिभुवन विमानस्थल लगिसकिएको छ। शव लिन कार्गाे विमान त्रिभुवन विमानस्थलमा आइसकेको छ। कार्गो विमानसँगै आएको अर्काे विमानमा मृतकका आफन्तहरु शव लिन आएका छन्।
मृतकको शवलाई बंगलादेशको सैनिक रंगशालामा श्रद्धाञ्जलीका लागि लगिने र उक्त कार्यक्रममा बंगलादेशी प्रधानमन्त्री शेख हसिनासमेत सहभागी हुने बंगलादेशी सञ्चार माध्यमले जनाएका छन्।
बंगलादेशको राष्ट्रिय समाचार एजेन्सी बंगलादेश संवाद संस्थानका अनुसार दिउँसो ३ बजे शव बंगलादेश पुर्याउने र ४ बजे श्रद्धाञ्जली दिइनेछ।



