काठमाडौँ, ५ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन अविद सुल्तानको परिवारमा अर्काे दुःखद घटना भएको छ । सुल्तानको मृत्यु भएको एक हप्ता पुरा भएकै दिन उनकी पत्नी अफसना खनामलाई पनि ‘ब्रेन स्ट्रोक’ भएको छ ।
अफसनालाई सोमबार विहान ४ बजे बंगलादेशको उत्तरास्थित नीजि निवासमा ‘ब्रेन स्ट्रोक’भएको उनका आफन्तजनहरुले जनाएका छन् । आफन्तहरुको भनाई अनुसार उनलाई ढाकाको अरारगाउँस्थित नेशनल इन्स्टीच्युट अफ न्युरोसाइन्स एण्ड हस्पिटलमा भर्ना गरिएको छ । डाक्टरहरुले बिहान सात बजे उनको शल्यक्रिया गरेको बङ्लादेशी समाचारपत्र डेली स्टारले जनाएको छ ।
पाइलट अविद सुल्तान र चालक दलका अन्य सदस्यहरुको यूएस बंगला विमान दुर्घटनामा अघिल्लो सोमबार मृत्यु भएको थियो । दुर्घटनामा २२ नेपाली, २६ बंगलादेशी नागरिक र एक चिनियाँ नागरिकको पनि मृत्यु भएको थियो । सोमबार नै दुर्घटनामा मृत्यु भएका २३ बंगलादेशी नागरिकको शव ढाका लगिएको छ । ३ जनाको पहिचान हुन बाँकी छ ।



