युवराज विवश
झापा कन्काइ नगरपालिकाका युवराजविक्रम मैनाली र पर्वतका भेषबहादुर कँडेल ४२ मुलुक साइकलको पाइडल घुमाएर अमेरिका पुगेका छन्। साढे २ वर्षको हिउँद बर्खा छिचोलेर उनीहरू अहिले अमेरिकामा छन्।
भुकम्प पछि खस्किएको पर्यटन क्षेत्रलाई उकास्न र रक्तदान गर्न पे्ररित गर्ने उद्देश्य सहित उनीहरू यात्रामा लागेका हुन्। विश्वका सबै नभएपनि १ सय ५० मुलुक छिचोल्ने लक्ष्य सहित अब उनीहरू क्यानडा नभए मेक्सिको तर्फ लाग्ने सोचमा छन्। हिउँ नपरेको भए यतिबेला उनीहरू ती गन्तब्यमा पुगेका हुन्थे। काकडभिट्टा नाकाबाट भारत हुँदै उनीहरूको घुमन्ते काम शुरु भएको हो। अमेरिकामा मौसमले साथ नदिएपछी उनीहरू कहिले मेरिल्यान्ड त कहिले डीसीमा बस्दै आएका छन्।
अमेरिकामा अहिले हिउँ परेपछि अन्य गन्तव्य जान सकिएको छैन, युवराजले भने, मौसममा सुधार हुनासाथ हामी अर्को गन्तव्यमा पुग्छौ। एसिया र युरोपका धेरै देश साइकलमै नाघेका उनीहरूले डेढ वर्ष अघिदेखि फिरन्ते जिन्दगी शुरु गरेका हुन्। गत वर्षको १४ जुनमा उनीहरू काठमाडौंबाट बिदा भएर झापा हुँदै भारत लागेका थिए। सरकारी राहदानी, परराष्ट्र मन्त्रालयको चिठी, रेडक्रसको सिफारिस सहित घुम्न थाले।
ठाउँ ठाउँमा खानका लागि समेत समस्या भोग्यौ, युवराजले सम्झिए, कतै बाटैमा सुतियो, कहिले पानी मात्रै खाएर पनि दिन बिताइयो। औसत दिनमा उनीहरू ६० किलोमिटरका दरले साइकलको पाइडल बटार्छन। पुग्नै पर्ने गन्तव्य भए कुनै दिन १ सय किलोमिटर सम्म पनि कुदाउछन्। नभए ६० किलोमिटर कुदाएर एक दिनको यात्रा बिट मार्छन्।
लामो यात्रामा उनीहरूले थुप्रै सकस पनि भोगे। कतै रमाइलो पनि भोगे। कतै लुटिए पनि। भारतको मुम्बईमा अभिनेता गोविन्दाले राम्रो सत्कार गरे। १५ मिनेट कुराकानी पनि गरे। त्यहा गोविन्दा र उनकी श्रीमतीले सेल्फी समेत लिन भ्याए।
मलेसियाबाट सिंगापुर जानका लागि तयारी हुदाँ उनीहरूमाथि लुटपाट भयो। मेलेसियनले उनीहरुको साथमा रहेको समान लुटेर लगे। ५ वर्ष भित्र सक्ने लक्ष्यका साथ हिडेका युवराज र भेषराजलाई जापानमा एउटी युवतीले प्रपोज गर्न समेत भ्याइन्। त्यसबेला घर सम्झे सानो बच्चा सम्झे, युवराज भन्छन्, हामी नेपालको पर्यटन प्रबद्र्धन र रक्तदान गर्न प्रेरित गर्ने महान अभियानमा छौ।
कोरियामा मजदुरी गर्न गएका नेपालीले धेरैलाई सहयोग गरेको सुनिएपनि उनीहरूले भने सहयोग पाएनन्। नेपालीका धेरै संस्था भएपनि तीनीबाट सहयोग नपाएपछि निराश उनीहरु १५ दिन मजदुरी गर्न बाध्य बने। १५ दिन काम गरेपछि जम्मा भएको ३ लाख रुपैयाँ बोकेर उनीहरू युरोप लागे।
यात्राका क्रममा भेषराज र युवराजले गरिबी पनि देखे। लाओस, कम्बोडिया र भियतनामका मानिसहरू खान नपाएर भोकभोकै भएको पनि देखे। उनीहरूले धेरै स्थानमा भाषाको समस्या समेत भोगे। युवराजका अनुसार युरोप र अमेरिकामा भन्दा एसियामा धेरै थरीका भाषा रहेछन्। जापान, कोरिया, ताइवान, लाओसमा धेरै भाषको समस्या पर्यो। ताइवानमा खान नपाउदा २ दिन सम्मभोकै पनि बसे।
भूकम्पलगत्तै नेपालको साइकलमा भ्रमण गरेपछि उनीहरूमा विश्व भ्रमण गर्ने जाँगर भरियो। त्यसबेला १० हजारमा साइकलको बन्दोबस्त गरिएको थियो। पोखराका एक सहयोगीले डेढ लाखको साइकल दिए तर अहिले त्यो काम नदिने छ। अब साइकलको बन्दोबस्तीमा लागेका छौ, अमेरिकाबाट युवराजले फोनमा भने, साइकलको व्यवस्था गरिदिने आश्वासन पाएका छौ, अब २ हप्ता पछी फेरी शुरु हुँनेछ यात्रा।
-नागरिक न्यूज बाट साभार



