काठमाडौं । हास्य कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल ‘धुर्मुस’ ले अब अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् । विभिन्न ४ वटा एकीकृत नमुना बस्ती निर्माण गरेर चर्चामा आएका धुर्मुसले अब अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने घोषणा गरेका हुन् ।
नमुना नेपाल वनाउने अभियानमा धुर्मुस सक्रिय रहेकावेला नेपालले एकदिवशीय क्रिकेट मान्यता पाएको थियो । यससँगै नेपालमा क्रिकेट रंगशाला बनाउन चौतर्फी दबाव बढेको छ । सफल सामाजिक अभियान्ता बनेका धुर्मुसमाथि रंगशाला बनाउन धेरैले दबाब दिँदै आएका थिए । फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न अग्रगामी भूमिका खेल्ने घोषणा गरेका हुन् ।
धुर्मुसले बिहीबार एक स्टाटस लेख्दै यसको लागि धुर्मुस सुन्तली फाउन्डेसनले संयोजन गर्ने बताएका छन् । अब चाँडै रंगशाला निर्माण समिति बन्नेछ र त्यही समितिको रोहबरमा रंगाशाला बन्ने उनले लेखेको स्टाटसमा उल्लेख गरिएको छ । तर नमुना नेपाल र रंगशाला कुन पहिला वनाउने भनेर उनले राय समेत मागेका छन् ।
यसअघि रंगशाला निर्माणमा आफू नेतृत्व लिन तयार रहेको स्टाटस लेखेर धुर्मुसका भाइ ‘जिग्री’ अर्थात कुमार कट्टेल चर्चामा आएका थिए । ‘दाईले नै नेतृत्व लिने भएपछि आफू सहयोगी बन्न तयार भएको हुँ’,– जिग्रीको भनाइ छ ।
त्यसैगरी चौधरी ग्रुपका अध्यक्ष अर्बपति विनोद चौधरीले समेत रंगशाला बनाउनेवारे छलफल अघि बढाएका थिए । गायक प्रमोद खरेल पनि केही दिन यता रंगशाला बनाउने नेतृत्व लिन छलफल गर्दै रहेका थिए । तर बाजी मारे धुर्मुसले । ४ बस्ती निर्माण गरिसकेका धुर्मुस्मा निर्माण अनुभव भएकाले उनीप्रति आम विश्वास रहेको देखिन्छ ।



