काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा पार्टी एकता हुने बताएका छन्। सोमबार मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट कमल कोइरालालाई सम्मानित गर्दै प्रधानमन्त्री ओलीले तुरुन्तै पार्टी एकताबद्ध हुने दोहोर्याए।
‘हल्ला चल्न सक्छ, हल्लाको पछाडि नलाग्नुस्’, मिति नतोकी ओलीले भने, ‘उपयुक्त ढंगले उपयुक्त समयमा पार्टी एकता हुन्छ।’
प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वको विषयमा अघि बढेको र पुँजी परिचालन गर्दै विदेशी लगानी भित्र्याउने पनि बताए। ‘राजनीतिक संक्रमणकाल सकिएको छ, सामाजिक संक्रमणकालको समयतर्फ देश जाँदैछ’, उनले भने।
प्रधानमन्त्रीले नयाँ सरकारसँग नडराउन आग्रहसमेत गरे। ‘कसैको खोस्ने भनिएको छैन’, उनले भने, ‘गरिबलाई पनि धनी बनाउने भनिएको हो।’
५१ हजार राशीको पुरस्कार पाएपछि कोइरालाले आफूले पाएको पुरस्कार रकम बाराका स्वर्गीय पत्रकार वीरेन्द्र साहकी श्रीमती उम्रावती देवी साहलाई दिने बताए। सम्मान कार्यक्रममा बोल्दै कोइरालाले प्रजातन्त्रमा पत्रकारिता ठूलो र राम्रो पेसा भएको भनाइ राखे।
-नेपाल लाइभ बाट



