नबराज न्यौपाने
प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक साताभित्र दुई छिमेकी देशको भ्रमण गर्दैछन् । चीनको राजधानी बेईजिङबाट पूर्वमा रहेको हेनान प्रान्तको एक टापुमा यही चैत्र २५ देखि २८ गतेसम्म हुन गइरहेको बोआओ फोरममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न चीनले भव्य तयारी गरेपछि प्रधानमन्त्री ओलीले ७ दिनभित्रैमा दुई छिमेकी देशको भ्रमण सम्पन्न गर्नैपर्ने अवस्था छ । त्यति मात्रै नभएर बोआओ फोरमको समापन समारोहमा चिनियाँ राष्ट्रपति जिनपिङ र प्रधानमन्त्री ओलीबीच भेटवार्ताको तारतम्य समेत मिलाउने प्रयास भएबाट प्रधानमन्त्री ओलीको चीन भ्रमण लगभग निश्चित देखिएको छ ।
प्रधानमन्त्री ओलीले यही चैत्र २३ देखि २५ गतेसम्म भारत भ्रमण गर्दैछन् । यस पटकको भारत भ्रमण बोआओ फोरमकै मिति आसपास पारेर कार्यतालिका बनाएपछि प्रधानमन्त्री ओली चीन भ्रमण अन्योलमा थियो । तर, गत साता बेईजिङले प्रधानमन्त्री केपी ओलीको भव्य स्वागतसहित चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटवार्ताको लागि समेत वातावरण बनाएपछि प्रधानमन्त्री ओलीलाई भारत भ्रमणबाट फर्केको केही घण्टाभित्रैमा बेईजिङ उड्ने तयारीमा परराष्ट्र मन्त्रालय जुटिरहेको छ ।
प्रधानमन्त्री ओलीको स्वागतको लागि चीनले कुनै कसर बाँकी नरख्ने संकेत बेईजिङबाट प्राप्त भएपछि प्रधानमन्त्री ओलीले एउटै समयमा दुई मुलुकको भ्रमण गर्न लागेका हुन् । नेपालबाट प्रधानमन्त्री ओली बोआओ फोरममा उपस्थित हुने ठोस कार्यतालिका सार्वजनिक नभएपछि अघिल्लो साता चिनियाँ विदेश मन्त्रालयको एक टोली काठमाडौं आएर फर्केको छ । प्रधानमन्त्री ओलीले २८ गतेभित्र चीन भ्रमण गर्ने समाचार यसअघि दृष्टिन्यूजले प्रकाशन गरेको थियो ।
स्रोतका अनुसार चिनियाँ विदेश मन्त्रालयका अधिकारी वाङ लिको नेतृत्वमा चार सदस्यीय टोली काठमाडौंमा आएर दुई दिनपछि बेईजिङ फर्केको छ । गत बिहिवार काठमाडौंमा उत्रिएको चिनियाँ टोलीले परराष्ट्र मन्त्रालयका उत्तरपूर्वी एसिया महाशाखा प्रमुख गणेश ढकालसँग भेटवार्ता गरी भ्रमण तालिका निश्चित गरेर शुक्रबार स्वदेश फर्केको थियो ।
उक्त टोलीले विगतका बोओओ फोरममा राष्ट्रपति तथा प्रधानमन्त्रीहरु मात्रै सहभागी भएको स्मरण गराउँदै यस पटक पनि प्रधानमन्त्री ओलीको स्वागतको तयारी गरिएको र राष्ट्रपति सिलाई समेत सो सम्बन्धमा जानकारी गराइसकिएको सन्देश परराष्ट्र मन्त्रालयलाई दिएर फर्केको सूत्रको दावी छ । सन् २०१६ को फोरममा पनि प्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री ओली ले बोओओ फोरममा भाग लिएका थिए । यस पटक बोआओ फोरममा हुने भ्रमणलाई राजकीय बनाउने चीनले प्रस्ताव गरेको छ ।
उता, बोआओ फोरममा भाग लिन पाकिस्तानी प्रधानमन्त्री शाहिद खकन अब्बासी समेत बेईजिङ जाने आइतवार नै पाकिस्तानमा सार्वजनिक गरिएको छ । पाकिस्तानी प्रधानमन्त्री अब्बासी पनि समापन समारोहमा भाग लिन जाने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यस पटक बोआओ फोरममा चीनले एसियाली देशमा आर्थिक समृद्धिको लागि बिएफए नाम परियोजना अघि सार्ने बताइएको छ ।
यस पटकको बोआओ फोरममा बिएफएलाई अघि सार्ने यसअघि नै आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइसकिएको छ । यस वर्षको बोआओ फोरममा दुई सेसनमा बहस हुनेछ । २५ गते सुरु भई चार दिनसम्म चल्ने सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, प्रधानमन्त्री तथा उच्च पदस्थ अधिकारीहरुलाई निमन्त्रणा गरिएको छ । नयाँ सरकारले आर्थिक समृद्धिको मुद्दालाई अघि सारेका कारण बोआओ फोरम नेपालका लागि समेत निकै महत्वपूर्ण मानिएको छ ।
चीनमा भव्य स्वागतको तयारी गरेपछि प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई सफल पार्न नेपालको तर्फबाट समेत तयारी तीव्र पारिएको छ । तर, यस विषयमा राजनीतिक नेतृत्व र परराष्ट्र मन्त्रालय केही बोल्न चाहेको छैन ।
बोआओ फोरमको समापन समारोह चैत्र २८ गते हुदैछ । सो दिन हेनान प्रान्तको एउटा टापुमा भव्य समारोहको आयोजना गरिएको छ । सोही समारोहमा चिनियाँ राष्ट्रपति जिनपिङ र प्रधानमन्त्री ओलीबीचमा भेटवार्ताको वातावरण बनिसकेको सुत्रको भनाई छ । भारत भ्रमणबाट चैत्र २५ गते स्वदेश फर्कने प्रधानमन्त्री ओली चैत्र २६ गते बेईजिङ उड्ने प्रवल सम्भाना छ ।
यद्यपि मिति भने तय भइसकेको छैन । काठमाडौंबाट सिधा उडान नभएकाले विगतमा झै चार्टर्ड उडानको जहाज लिएर जानुपर्ने बाध्यता छ । त्यसको लागि नेपाल एयरलाइन्सको जहाजका उडान दुरी नपुग्ने हुँदा निजि क्षेत्रको हिमालयन एयरलाइन्सको जहाज चार्टर्ड गर्नुपर्ने अर्को बाध्यता सरकारलाई छ । बेईजिङबाट हेनान प्राप्त पुग्न समेत केही समय लाग्ने हुँदा प्रधानमन्त्री ओली खुकुलो यात्राको लागि २६ गते नै नेपालबाट उड्नुपर्ने छ भने दौडधुप गर्दा २७ गते विहानै उडेपनि २८ गते हेनानको कार्यक्रममा भाग लिन भने पुग्न सकिने अवस्था छ ।दृष्टिन्यूज



