काठमाडौं, ४ पुस । भरतपुर विमानस्थल बाहिरबाट हेर्दा जति सुरक्षित देखिन्छ , भित्र त्यति नै असुरक्षित छ । विमानस्थलको छेउछाउमा निर्माण गरिएका घरले जोखिम उस्तै छ भने अर्कोतर्फ पशु–चौपायको खतरा उस्तै छ ।
संवेदनशिल क्षेत्र भएपनि विमानस्थलको सुरक्षा व्यवस्था फितलो छ । जसको उदाहरण हो आइतबार विमान अवतरण हुँदाहुँदै धावनमार्गमै भैंसी छिर्नु । अकास्मत भैंसी विमानस्थलमा पस्दा विमानसेवा नै अवरुद्ध बन्न पुगेको थियो ।
भरतपुरको गोन्द्राङबाट किनेर ट्रकमा ल्याउंदै गरेको भैसी विमानस्थल नजिकै आईपुग्दा एक्कासी गाडीमा उफ्रिएर भाग्दै विमानस्थलको मुल गेट हुँदै धावनमार्गमा पुगेको थियो । गेटमा बसेका प्रहरी केवल रमिते बने । भैंसीले ३ वटा गेट पार गर्दै धावन मार्गमा नै पुग्यो । दिउँसो साढे ४ बजे छिरेको भैंसीलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीलाई हम्मे-हम्मे पर्यो ।
त्यही बेला बुद्ध एयरको बिच क्राफ्ट र ३५६ नम्बरको एटिआर–४२ अवतरण गर्न लागेपछि भैसीलाई विमानस्थल भित्रै चारै तिरबाट घेरा हालेर राखियो ।
विमानस्थल स्रोतका अनुसार भैंसीकै कारण भरतपुरबाट जहाज उड्न केही समय ढिला भएको थियो । करिब आधा घण्टाको प्रयासपछि मात्र भैंसीलाई नियन्त्रणमा लिई गाडीमा राखेर बाहिर निकालिएको थियो ।
‘भैंसी बिरामी रैछ, बाटोमा लग्दै गर्दा अकास्मात गाडीबाट झरेर विमानस्थलमा छिर्यो,’ भरतपुर विमानस्थलका प्रमुख शिव शर्माले भने, ‘नियन्त्रणमा लिन केही समय लाग्यो । त्यही कारणले प्लेन केही समय रोकिए ।’
निगरानी नगर्दा जोखिम
विमानस्थलको राम्रोसँग निगरानी नगर्दा जोखिम बढेको छ । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार विमानस्थलमा आउने क्रममा केही बालबालिका साईकल लिएरै विमान अवतरण भएकै ठाउँमा पुगेका थिए ।
‘विमानस्थल संवेदनशिल ठाउँ हो,’ विमानस्थलका एक कर्मचारीले भने, ‘तर भरतपुर विमानस्थल रंगशाला जस्तो भएको छ, जो आउँछ सिधै भित्र पस्छ । सुरक्षा जाँचमा कुनै कडाई छैन ।’
त्यस्तै पार्टीका शिर्ष नेता, मन्त्री आउँदा विमानस्थलमा कार्यकर्ताको भिड लाग्छ । पार्टीको झण्डा बोकेर विमानस्थल प्रवेश गर्छन ।
‘यी यस्ता कारणले विमानस्थल कति सुरक्षित र असुरक्षित छ भन्ने कुरा प्रस्ट हुन्छ,’ ति कर्मचारीले भने, ‘आज भैंसी पस्यो, ठूलो दुर्घटनाबाट जोगियो, फेरी यस्तो घट्ना नघट्ला भन्न सकिँदैन ।’ यो विमानस्थलबाट दैनिक काठमाडौं–भरतपुर बुद्ध एयरको ५ र यति एयर लाईन्सको ३ वटा उडान हुँदै आएको छ । कान्तिपुर दैनिकमा खबर छ ।



