विष्णुप्रसाद पोखरेल
दमक । नेपालका लागि चिनका राजदूत यु हाङले झापाको गौरादह ५ साविक महारानीझोडामा रहेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले सञ्चालन गरेको सामुहिक सहकारी खेतीको अवलोकन गर्नु भएको छ । आइतवार साँझ उहाँ झापाको गौरादह आएर सहकारी खेतीको बिस्तृत रुपमा अवलोकन गर्नु भएको हो ।
राजदूत यु हाङले झापा क्षेत्र नंं ५ एवं यस क्षेत्रका साँसद समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पूर्व जाने कुरा आउदा यो नमूना सहकारी खेती अवलोकन गर्न सुझाव दिएको समेत बताउनु भएको थियो । उहाँले भन्नुभयो, प्रधानमन्त्री ओलीले मलाइ त्यता जाँदा त्यहाँ पनि पुग्न नछुटाउनु भन्नुभएको थियो, धेरै राम्र्रो काम हेर्ने अवसर उहाँले गर्दा मैले पाएको अनुभूति भयो ।
सहकारीकी अध्यक्ष मीना ढकालका अनुसार राजदूत यु हाङले सहकारीले सामुहिक खेती शुरुवात गर्नुको उदेश्य र यसले पारेको प्रभावको बिषयमा चासो पूर्वक सोधिखोजी गर्नु भएको थियो । यसबाट सहकारीमा आवद्ध सदस्यहरुले लिएको फाइदाको बिषयमा राजदूतको धेरै चासो पाएको उहाँले जानकारी दिनु भयो ।
पूर्व साँसद दीपक कार्की, सहकारीका सञ्चालक सदस्य र किसानहरुसंग प्रत्यक्ष रुपमा अन्तरक्रिया समेत भएको जनाउदै उहाँले भन्नुभयो, एकघण्टासम्म सामुहिक सहकारी खेतीको बारेमा चासो पूर्वक बुझ्नु भयो र अन्तिममा राम्रो अभ्यास भएको भन्दै धन्यवाद समेत दिनु भयो । ग्रामिण जीबनस्तर उकास्नका लागि भएको यो कामको निरन्तरताका लागि राजदूत यु हाङले आग्रह गर्नु भएको थियो ।
सो अवसरमा सहकारीकी अध्यक्ष ढकालले आफूहरुले बिगत ५ बर्षदेखि शुरु गरेको सामुहिक खेतीप्रति अहिले आकर्षण बढेको बताउनु भएको थियो । अहिले सहकारी संस्थाले १ सय बिगाह जमिनमा सामुहिक खेती गर्दै आएको र १ सय ५० बिगाह २ बर्षभित्रमा पुर्याउने उदेश्य भएको समेत जनाउनु भयो । यस सहकारी संस्थामा १९ सय घरपरिवार आवद्ध रहेकाछन् भने प्रत्यक्ष रुपमा खेती किसानीमा ६० घरपरिवार लागिपरेकाछन् ।
यु हाङसंग भएको अन्तरक्रियामा पूर्व साँसद दीपक कार्कीले यो सामुहिक सहकारी खेती पूर्वको नै नमूना भएकाले सरकारले समेत बिभिन्न प्रयोजनका लागि अनुदानहरु दिइरहेको बताउनु भयो । सामुदायिक वीउ प्रशोधन तथा भण्डारन केन्द्र, प्रधानमन्त्री कृषि आधूनिकरण कार्यक्रम अन्र्तगत धान ब्लक, मकै खेतीलाइ प्रोत्साहन गर्न मकैको भूजा बनाउने फ्याक्ट्रि जस्ता क्षेत्रमा राज्यले लगानी गरेको कार्कीको भनाइ छ ।



