नेपाल दूरसञ्चार कम्पनीको तर्फबाट दिइएको उपहार लिन सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले अस्वीकार गरेका छन् । राज्यमन्त्री बास्कोटालाई गत साता एउटा महँगो मोबाइल सेट र सिमकार्ड दूरसञ्चारकी महाप्रबन्धक कामिनी राजभण्डारीले उपलब्ध गराउन लागेकी थिइन् ।
राज्यमन्त्रीको सचिवालयमा सम्पर्क गरी उपहार रिसिभ गर्न कसैलाई पठाइदिन भनेपछि यस कुराको जानकारी राज्यमन्त्री बास्कोटालाई गराइएको थियो । यस्तो जानकारी पाएपछि राज्यमन्त्री बास्कोटाले आफ्नो सचिवालयलाई कुनै प्रकारको उपहार नलिन कडा निर्देशन दिएका थिए ।
अहिले राज्यमन्त्री बास्कोटाले नयाँ सिम किनेर चलाइरहेका छन् । त्यसअघि दूरसञ्चार कम्पनीको कार्यालय अवलोकन तथा निर्देशन कार्यक्रममा सरिक हुन जाँदा पनि उनलाई पचासौँ हजार मूल्य पर्ने कलम उपहार दिइएको थियो । कार्यक्रम सकिएपछि बास्कोटाले यो तपाईंहरू नै चलाउनुस्, मलाई यसको आवश्यकता छैन भनेर टेबुलमै छोडेर हिँडेका थिए ।
उनले शुक्रबार र शनिबार विदेशबाट घरमा फोन गर्नेहरूका लागि विशेष छुट दिने व्यवस्था गर्न निर्देशन दिएका छन् । यसैगरी बाहिरबाट उपहारस्वरूप ल्याइने मोबाइल सेटहरूको आएमईआई दर्ता गरेर मात्र चलाउने व्यवस्था गर्न लागेका छन् । त्यसो गर्दा मोबाइल प्रयोग गरी हुन सक्ने अपराध नियन्त्रण गर्न सजिलो हुने विश्वास गरिएको छ ।



