विष्णुप्रसाद पोखरेल
दमक/झापाको गौरादह नगरपालिकाका कर्मचारीहरुले आफूहरुले सहजता पूर्वक काम गर्न सक्ने अवस्था नरहेको भन्दै नगर प्रमुख रोहितकुमार शाह, उपप्रमुख गीता भेटवाल सहित वडाध्यक्षहरुलाइ राखेर शान्ति सुरक्षाको माग राखेकाछन् । लिखित रुपमा नै कर्मचारीहरुले जिउ ज्यानको सुरक्षाको माग गरेकाहुन् ।
केहि दिनयता कर्मचारीहरुमाथि बारम्बार बिभिन्न लाञ्छना लगाउने र धम्कि दिने गरिएको कार्यले आफूहरु प्रताडित भएको भन्दै कर्मचारीहरुले यसको अन्त्यको काम गरेका थिए ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर मिश्र आफैले सबै कर्मचारीहरुको तर्फबाट नगर प्रमुख रोहितकुमार शाहलाइ ज्ञापन पत्र बुझाएकाहुन् । सोमबार सेवाग्राहीको एउटा समुहले कार्यालयमा तालाबन्दि पनि गरेको थियो ।

यस बिषयमा बिरोध जनाउदै ज्ञापन पत्रमा भनिएको छ,-केहि मानिसको भिडले यस नगरपालिकामा कर्मचारीहरुलाई काम गरिरहेको अवस्थामा जवरजस्ती बाहिर निस्कीन लगाई स्थानिय सरकारको प्रशासनिक भवनमा नै तालाबन्दी गर्ने दुस्साहस गरी यस न.पा.मा मच्चाएको अराजक गतिविधि निन्दनिय छ ।
यो कार्य नियोचित भएको समेत कर्मचारीहरुले ज्ञापनपत्रमा उल्लेख गरेकाछन् । ज्ञापन पत्रमा भनिएको छ,- यस न.पा.मा कार्यरत राष्टसेवकहरुको नामनै किटेर कालो मोेसो दल्न खोज्ने, कारबाही गर्ने, प्रचलित ऐन, नियम, कानून, कार्यविधि, मापदण्ड, परिपत्र, तथा न.पा.बाट पारित अन्य कानूनहरुको कार्यान्यन गरी जनताको सेवामा समर्पित राष्टसेवक कर्मचारीहरुलाई कानून विपरित काम लगाउन दबाब दिने केही हुल समूह जम्मा गरी प्रभावित गर्न खोजिदै छ ।
कर्मचारीका चार सुत्रिय माग
१) कर्मचारीहरुलाई ऐन, कानुन, विधि र प्रक्रीया विपरित काममा लगाउने प्रवृत्तिको अन्त्य हुनु पर्छ ।
२) कर्मचारीहरुको जिउ, ज्यान, सम्पती, सेवा तथा सुविधाहरुको ग्यारेण्टी हुनुपर्छ ।
३) कार्यालयमा उचित कार्य वातावरणको व्यवस्था हुनु पर्ने ।
४) कर्मचारीमाथि असभ्य व्यवहार गर्ने तथा कार्यालयमा तालाबन्दी गर्नेको पहिचान गरी तत्काल कारबाही गर्नुपर्ने ।

के भन्छन मेयर ?
नगर प्रमुख रोहितकुमार शाहले कर्मचारीहरुको शान्ति सुरक्षाको जिम्मा नगरप्रमुखको हैसियतले आफू र नगरपालिकाले लिने बताए । उनले ढुक्कका साथ कानून सम्मत काम गर्नका लागि आग्रह गरे ।
नीति नियम र कानून भित्र काम गर्दा लाञ्छना लगाइएमा त्यो आफूलाइ पनि मान्य नहुने उनको भनाइ रहेको थियो । उनले प्रहरी प्रशासनको सहयोग मागेर भएपनि सुरक्षामा कमी हुन नदिइने प्रतिबद्धता जनाए ।



