४ पुस । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समिति तथा प्रकाशन विभाग प्रमुख एव्म उक्त पार्टीका राजनीतिक सचिवालय सदस्य ल्यु छिपाओ नेतृत्वको टोलीले आज भेटवार्ता गरेको छ ।
सभापति देउवाको निवास बुढानिलकण्ठमा भएको सो भेटमा दुई देशका आपसी हित र नेपालको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको काँग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो ।
नेपालको वर्तमान राजनीतिक घटनाक्रम र संविधान कार्यान्वयन सम्बन्धमा चिनियाँ टोलीले राखेको चासोको विषयमा सभापति देउवाले जानकारी गराउँदै नेपाल सधैं एक चीन नीतिको पक्षमा रहेको बताउनुभयो ।
सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य ल्युले नेपालको आर्थिक विकासमा चीनले सधैं सहयोग गरिरहने बताउँदै नेपाल र चीन जोड्ने कोदारी राजमार्ग छिट्टै सुचारु गर्ने विश्वास व्यक्त गर्नुभयो ।
भेटका अवसरमा सभापति देउवालाई चीन भ्रमणका लागि निमन्त्रणा गरेकोमा उपयुक्त समय मिलाएर चीन भ्रमण गर्ने सभापति देउवाले जानकारी गराउनुभएको थियो ।
उक्त भेटका अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको सहभागिता थियो ।



