काठमाडौँ, ४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्युत् चुहावट नियन्त्रसँगै पानी चुहावट नियन्त्र गर्नसमेत अग्रसरता देखाउनुभएको छ ।
खासगरी काठमाडौँ उपत्यकामा देखिएको खानेपानी चुहावट नियन्त्रण सम्बन्धमा जनताबाट गुनासो आएकाले प्रधानमन्त्रीले सम्बन्धित निकायलाई खटाउन प्रधानमन्त्रीको निजी सचिवालयलाई निर्र्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सम्पर्क कक्ष प्रमुख झङ्कनाथ ढकालले जानकारी दिनुभयो ।
सोहीअनुसार कार्यालयले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई निर्देशन दिएको सम्पर्क कक्ष प्रमुख ढकालको भनाइ छ । “काठमाडौँ उपत्यकाभित्र कतिपय ठाउँमा पानी आइरहने र कतिपय ठाउँमा हप्ता दिनसम्म पनि नआउने वा पानी बीचमै चुहावट हुने समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ, अब केही दिनमै प्रधानमन्त्री आफैँले पनि निर्देशन दिनुहुनेछ”– ढकालले भन्नुभयो ।



