काठमाडौं । बैशाख ९ का लागि गर्ने भनिएको पार्टी एकता टरेपछि नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय केपी अाेली र प्रचण्ड गहन वार्तामा छन् । बैशाखभित्रै एकता टुङ्ग्याउने गरी बिहान नौ बजेदेखि वार्तामा रहेको विशेष स्रोतले बताएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको वार्तामा छिट्टै पार्टी एकता टुङ्ग्याउन दुई नेताबीच गम्भीर छलफल भइरहेको स्रोतको दाबी छ ।
एमाले–माओवादी केन्द्रबीच चुनाव चिन्ह, पदीय बाँडफाँट र जनयुद्धका विषयमा अझै कुरा मिल्न सकेको छैन । प्रचण्डले ओलीको कार्यशैलीमाथि प्रश्न चिन्ह उठाएपछि अर्को जटिलता थपिएको छ ।
यिनै विषयमा समाधान खोज्न दुई नेता फेरि वार्तामा बसेका हुन् । ओली र प्रचण्डबीच यसअघि ३ बैशाखमा भेटघाट भएको थियो भने लगत्तै ४ बैशाखमा एकता संयोजन समितिको बैठक बसेर निष्कर्षविहीन टुंगिएको थियो ।



