काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्रले जनतालाई सत्ता सुम्पेको सम्झनामा आज १३ औं लोकतन्त्र दिवस मनाइँदैछ ।
विक्रम संवत् २०६२६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । पूर्वराजा ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटित संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गर्नुभएको थियो ।
नेपालका राजनीतिक दलले तयार पारेको मस्यौदाका आधारमा ज्ञानेन्द्रले ०६३ वैशाख ११ गते राति संसद पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गर्नुभएको थियो । त्यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ ।
संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको थियो । वैशाख ११ गतेको जगमा देशमा ठूला परिवर्तन भएपनि यो दिन बिरानो बन्दै गएको छ । यो विशेष दिनलाई सरकार र राजनीतिक दलले पनि बिर्सिएको भान हुन थालेको छ ।
परिवर्तनलाई संस्थागत गर्ने र व्यवहारमा लोकतान्त्रिक चरित्र देखाउने काममा सरकार र राजनीतिक दल चुक्दा नागरिकका सपना अझै पूरा हुन सकेका छैनन् । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले राजनीतिक दलका नेतालाई नजरबन्दमा राखेर शासन सत्ता आफ्नो हातमा लिएपछि दुई ध्रुवमा रहेका संसद्वादी दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो ।



