एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच पार्टी एकताका लागि भइरहेको पहल पहिलो नभएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बताएका छन् ।
रौतहटमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष दाहालले भने, ‘यो एकताको विषय सजिलो गरी भएको होइन । कम्युनिष्टहरूबीच एकता गर्ने विषयमा मदन भण्डारीसँग जेठको ६–७ गते छलफल गर्ने कुरा भएको थियो । तर, उहाँको बीचमै हत्या भयो ।’ यस विषयमा एमालेका नेता तथा कार्यकर्ताहरूलाई धेरैलाई थाहा नभएको हुन सक्ने उनले बताएका थिए ।
अध्यक्ष दाहाल प्रचण्डले वाम एकता जनताको साझा सम्पति भएको पनि दावी गरे । रौतहटको चन्द्रपुरमा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण दिंदै अध्यक्ष दाहालले भने, ‘अहिले सिङ्गो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौती पनि छ ।’
पार्टी एकता जनताबाट अनुमोदित विषय भएको उल्लेख गर्दै दाहालले यसमा बिलम्ब गर्नु नहुने बताए । पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको उनले बताए । एमाले र माओवादीबीचको पार्टी एकताको कामलाई शुक्रबार अन्तिम रुप दिने अध्यक्ष दहालको भनाई थियो । दाहालले एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै रुपमा लागिपरेको दाबी गरे । ‘एकता प्रक्रियाको अन्तिम लडाईमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरूलाई अपील गर्छु’, उनले भने । नयापेज बाट साभार



