काठमाडौं, १६ वैशाख । जंगली जनावर गाउँ पस्न नदिन गत बिहीबार कञ्चनपुर पुनर्वास नगरपालिका–९ बिचफाँटाका स्थानीवासीले विद्युतीय तारवार लगाइरहेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले हस्तक्षेप गर्दै काम रोकेपछि विवाद भएको थियो । उक्त विवाद नेपाल–भारत संयुक्त सर्भे टोलीले समाधान गर्ने विषयमा नेपाल–भारतका स्थानीय अधिकारीबीच सहमति भएको छ ।
तर, भारतीय मिडियाहरूले नेपालीले भारतीय जग्गा कब्जा गरेको भन्दै समाचार प्रवाह गरेका छन् ।
शनिबार र आइतबार प्रकाशित भएका भारतीय अखबारमा जग्गा कब्जा गर्न नपाएको निहुँमा नेपालीले सीमा क्षेत्रमा हंगामा गरेको भन्दै एकपक्षीय ढंगले समाचार आएका छन् ।विद्युतीय तारबार लगाइएको ठाउँ भारतको रहेको समाचारमा उल्लेख गरेका छन् । जबकि कैलाली र कञ्चनपुरका अधिकांश सीमाक्षेत्रमा नेपाली भूमि भारतीय नागरिक र एसएसबीले मिच्दै आएको तथ्य समाचारमा ल्याइएको छैन । भारतको चर्चित अखबार अमर उजालाले ‘भारतीय जमिन पर नेपाली ने किया कब्जो के प्रयास’ शीर्षकमा समाचार छापिएको छ । नेपालीले भारतीय भूमि मिच्न थालेपछि सीमा क्षेत्रमा ठूलो फोर्स तैनाथ गरेको समाचारमा जनाइएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपाल–भारत संयुक्त सर्भे टिमले विवाद मिलाउने बताएका छन् । ‘अहिले संयुक्त सर्भे टिम कैलालीको सीमा क्षेत्रमा काम गरिरहेको छ,’ खड्काले भने, ‘पुनर्वासको विवादको विषय टुंग्याउन सर्भे टोलीलाई निर्देशन भइसकेको छ ।’ भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावर नियन्त्रण गर्न बिचफाँटामा यसअघि करिब दुई हजार नौ सय मिटर तार जडान गरिसकिएको छ ।

स्थानीयका अनुसार नेपाल–भारत सीमा स्तम्भ १९१ देखि १९४ सम्म नेपाली पक्षले आफ्नै भू–भागमा लगाउँदै आएका थिए । सोही क्षेत्रमा रहेको प्यारातालको विषय पनि लामो समयदेखि विवादित रहँदै आएको छ । दुधुवा राष्ट्रिय निकुञ्जबाट हरेक वर्ष जंगली जनावर नेपाल प्रवेश गरेर धनजनको ठूलो क्षति पु¥याउँदै आएका छन् ।
एसएसबीको ३९ औँ बटालियनअन्तर्गत घोला क्याम्पबाट आएका भारतीय सीमा सुरक्षा बलको टोलीले नेपाली पक्षले लगाएको तारबार निकालेर फालेपछि केहीबेर समस्या भएको थियो । गत वर्ष पुनर्वास नगरपालिकामै सीमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर गोविन्द गौतमको मृत्यु भएको थियो ।



