काठमाडौं, १५ पुस । नयाँ शक्ति पार्टी नेपालले संविधानप्रति असन्तुष्ट रहेकाहरुलाई दलहरुले सहमतिमा ल्याउन नसकेको निष्कर्ष निकालेको छ ।

शुक्रबार तमू ल्होसारको अवसरमा एक अपिल जारी गर्दै नयाँ शक्ति नेपालले संविधानमा छुटेका विषयलाई समावेश गरेर अघि बढ्नुको सट्टा दलका नेताहरु पछि हटेको आरोप लगाएको छ । जारी अपिल पत्रमा भनिएको छ, ‘संविधानमा छुट्न गएको विषयलाई समावेश गरेर अघि बढ्नु पर्नेमा केही राजनीतिक दलका नेताहरु अझ पछि हट्न खोजिराखेका छन् । जसको फाइदा उठाउँदै अलोकतान्त्रिक र प्रतिगामी शक्तिहरुले जनतामा भ्रम छर्न प्रयत्न गर्दैछन् ।’

पार्टीले लोकतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने निचोड निकाल्दै उन्नत लोकतन्त्रलाई विकल्प बनाएर वैकल्पिक राजनीति निर्माण गर्न आग्रह गरेको छ ।

नयाँ शक्तिले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली जरुरी रहेको नयाँ शक्तिले जारी ठहर गरेको छ ।

 यस्तो छ नयाँ शक्ति पार्टी नेपालले जारी गरेको अपिल
संविधानसभाबाट नयाँ संविधान जारी भएपछि देशको राजनीति जुन दिशा र गतिमा अघि बढ्नुपर्‍थ्यो त्यसो हुन सकिराखेको छैन । मूलत: राज्य पुन:संरचनाको काम द्रुत रुपमा अघि बढ्नु पर्दथ्यो । तर त्यसो हुनुको सट्टामा संविधानप्रति असन्तुष्ट रहेकाहरुलाई सहमतिमा ल्याउन समेत दलहरु असफल भएका छन् । संविधानमा छुट्न गएको विषयलाई समावेश गरेर अघि बढ्नु पर्नेमा केही राजनीतिक दलका नेताहरु अझ पछि हट्न खोजिराखेका छन् । जसको फाइदा उठाउँदै अलोकतान्त्रिक र प्रतिगामी शक्तिहरुले जनतामा भ्रम छर्न प्रयत्न गर्दैछन् ।

राजनीतिक अस्थीरता र दलहरुको असफलताले निराश बनाएको बेला जो–कसैले दल र राजनीतिलाई गाली गरिदियो भने क्षणिक आनन्द त हुन सक्ला तर त्यो समाधान होइन । लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन बरु अझ उन्नत लोकतन्त्र हो । संविधानमा रहेका अपूर्णतालाई पूरा गरेर अधिकतम स्वीकार्य बनाऔं, लोकतन्त्रलाई अझ उन्नत बनाऔं, वैकल्पिक राजनीति निर्माण गरौं । निराश भएर प्रतिगामी शक्तिलाई सहयोग गर्दा भोलि सबैलाई ‘न्याउरी मारी पछुतो’ हुन्छ । त्यसैले यसतर्फ सबैलाई सचेत गराउन चाहन्छौं । अर्कोतिर हिजोका आफ्नै प्रतिवद्धताबाट पछि हट्ने दुस्साहस कसैले पनि नगरौं । यसले कसैको क्षणिक स्वार्थ त पूरा गर्ला तर त्यो पनि कालान्तरमा ‘पिसाबको न्यानो’ सिद्ध हुनेछ ।

अब सबैभन्दा पहिले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर संविधान संशोधन मार्फत संविधानमा रहेको अपूर्णतालाई विगतका सहमति, सम्झौता र निर्मित आधारहरुका आधारमा तत्काल पूर्णता दिऔं । संविधानमा राज्य पुन:संरचनाको एउटा मुख्य पाटो शासकीय स्वरुप पनि उही पुरानै असफल सिद्ध र अस्थीर राजनीतिको कारक संसदीय व्यवस्था नै कायम हुन पुगेको छ । आर्थिक विकास र समृद्धिको यात्राका लागि स्थीर सरकार हुनु अत्यावश्यक छ । राजनीतिक स्थीरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली र विविधताको सहभागिताका लागि पूर्ण समानुपातिक संसद् नै संसदीय व्यवस्थाको उत्तम विकल्प हो । यो पक्षलाई पनि सँगसँगै सच्याएर अघि बढौं । यसका लागि आवश्यक जनदवाव सिर्जना गर्न नयाँ शक्ति पार्टी, नेपाल सबैलाई अपील गर्दछ ।

तपाईं–हामी धेरैले एकातिर देशको समृद्धिको परिकल्पना गरिरहेका छौं, अर्कोतिर त्यसका लागि उपयुक्त राजनीतिक शक्ति र संस्कार देखिराखेका छैनौं । एकातिर विश्वका अरु देशहरुमा भइरहेका राजनीतिक–सामाजिक परिवर्तन, वैज्ञानिक आविष्कार र आर्थिक तथा भौतिक विकासका बारेमा जानकार छौं, अर्कोतिर आफ्नो देशमा देशलाई त्यहाँ पुर्‍याउन सक्षमहरु भन्दा असक्षम, अपारदर्शी, जनताप्रति अनुत्तरदायी भ्रष्ट राजनीतिक शक्तिको हालिमुहाली भइरहेको देखिराखेका छौं । हामी जे भइरहेको छ त्यसप्रति विल्कुल असन्तुष्ट छौं तर कहीँ कतैबाट चमत्कार भइदियोस भनेर पर्खाइमा बसेजस्तो देखिएका छौं । तर वास्तविकता त्यस्तो हुँदैन । जे भइरहेको छ त्यसप्रति असहमत र असन्तुष्ट भएर मात्रै हुँदैन त्यसको विकल्प सिर्जना गर्नुपर्छ । त्यसले मात्रै अवस्थामा गुणात्मक फेरबदल ल्याउन सक्छ । नयाँ शक्ति पार्टी, नेपाल त्यही विकल्प सिर्जना गर्ने नवीनतम प्रयत्न हो । नयाँ शक्तिको विकल्प झनै उन्नत नयाँ शक्ति मात्र हुन सक्दछ, कुनै पुरानो शक्ति हैन । समय सिद्धिइसकेका पुराना औषधी झैं सबै हिसाबले पुराना र थोत्रा भइसकेका राजनीतिक शक्तिहरु अब किमार्थ विकल्प हुन सक्दैनन् । त्यसैले नयाँ शक्ति पार्टी, नेपाल पुरानो राजनीतिको विकल्प चाहने सबैलाई कुनै कसैको भ्रममा नपरी नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ तीब्र रुपमा ध्रुवीकृत हुन आह्वान गर्दछ ।

अन्त्यमा, तमू ल्होसारको उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना ।

––––––––––––––––––––––
डा. बाबुराम भट्टराई
संयोजक
नयाँ शक्ति पार्टी, नेपाल

साझापोस्ट बाट सभार गरिएको। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah